मुख्य सडकमा उपमहानगरले चलायो डोजर

0
Shares

धनगढी । धनगढीको मुख्य सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको जनाएको छ ।

अहिले सडक विस्तारको क्रममा १५ मिटरभित्र पर्ने सेती प्रादेशिक अस्पतालको संरचनामा उपमहानगरले डोजर चलाएको छ । यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनिलाई पत्राचार गरेको थियो।

‘सडकको बिस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने टहरा असोज मसान्तसम्म हटाई सहयोग गरिदिन हुन सम्बन्धित घर धनीहरुमा अनुरोध गरिन्छ’, पत्रमा भनिएको थियो ।

तर, उपमहानगरले तोकेको समयमा सडक क्षेत्र खाली नभएपछि डोजर चलाएर संरचना हटाउन थालिएको हो । सडक विस्तार गर्न उपमहानगरका मेयर गोपाल हमाल आफैं फिल्डमा खटिएका छन् । कैलाली पुलदेखि क्याम्पसचोकसम्मको दुरी करिब २ किलेमिटर रहेको छ ।