असन्तुष्ट समूहलाई मूलधारको राजनीतिमा आउन गृहमन्त्रीको आग्रह

0
Shares

बुुटवल । गृहमन्त्री बालकृष्ण खाणले वर्तमान ब्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दलहरूलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् । उनले असन्तुष्टि जाहेर गर्ने अधिकार सबै नागरिक र दलहरूलाई भए पनि निर्वाचन बिथोल्ने अधिकार भने कसैलाई नभएको स्पष्टसमेत पारे ।

बुटवलमा बुधबार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार नभएको भन्दै मूलधारको राजनीतिमा आउन आग्रह गरे । ‘हामी मिल्नेसम्म लचक भएर असन्तुष्ट दलहरूसँग संवाद र छलफल गरिरहेका छौ’, उनले भने, ‘कतिपय माग ऐन संशोधनबिना सम्वोधन गर्न सकिँदैन । सरकारले ऐन तर्जुमा गरेर भए पनि जायज माग सम्वोधन गरी असन्तुष्ट समूहलाई मूलधारमा ल्याउने प्रयत्न गरिरहेको छ ।’

गृहमन्त्री खाणले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको पनि बताए । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरूको माध्यमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उनले भने, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’

उनले सरकार भयरहित, शान्तिपूर्ण र स्वतन्त्र निर्वाचन गराउन प्रतिवद्ध भएको बताउँदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई आग्रहसमेत गरे । ‘सबै नागरिक सुरक्षित होउन् । ढुक्कसँग मतदानस्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्नु ।’

गृह मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सशस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरु सहभागी छन् । उनीहरुले दिनभर सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने प्रदेशका आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।