शहरका बस्तीभन्दा जंगल क्षेत्रका राजमार्गमा देखिन्छन् ट्राफिक प्रहरी

0
Shares

रौतहट । राजमार्गको शहरी क्षेत्रमा खटिनुपर्ने ट्राफिक प्रहरीहरू जंगल क्षेत्रका राजमार्गमा देखिन थालेपछि मधेश प्रदेशले ओगेटेको शहरी क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तब्यस्त भएको छ ।  अत्यधिक सवारी साधन चल्ने मधेश प्रदेशअन्तर्गत रहेको राजमार्ग स्थित शहरी क्षेत्रमा खटिन’को साटो एकान्तस्थल र जङ्गलक्षेत्रमा चेकिङ्गको बहानामा दैनिकजसो ट्राफिक प्रहरी रहने गरेका छन् ।

एउटै जिल्लाको राजमार्गका दुई÷तीन स्थानमा बसेर ट्राफिक प्रहरीले सवारी साधनको कागजपत्र रहे÷नरहेको मात्र हेर्ने गरेका छन् । उनीहरुले कागजपत्र नभएको सवारी चालकसँग अवैध रकम असुल गर्ने गरेको चालकहरू बताउँछन् ।

चेकिङ्ग गर्ने क्रममा ट्राफिक प्रहरीकै कारण राजमार्गमा जाम हुने गरेको मोटरसाईकल चालक बलराम सापकोटा बताउनु हुन्छ । सवारी साधन चेकिङ्ग गर्दा ट्राफिक प्रहरीले यान्त्रिक अवस्था हेर्दैनन् । केबल मालबाहक र पशु लोड गरेको सबारी साधनलाई रोकेर चेकजाँचको नाममा सवारी साधनलाई दुःख दिने गरेको गुनासो चालकहरुको रहेको छ ।

कमजोर ट्राफिक व्यबस्थापनको कारण मधेश प्रदेशअन्तर्गत बाराको जीतपुर सिमरा, नीजगढ, कलैया, रौतहटको चन्द्रपुर, गौर, गरुडा, डुमरिया, बालचनपुर, गरुडा, शिवनगर, जयनगर, सुकदेव चौक, र गौर यस्तै भित्रि भागमा पर्ने कटहरिया, मौलापुर, समनपुर सर्लाहीको नवलपुर, हरिऔन, हरपुर, मलङ्गवा, महोतरीको बर्दिबास, गौशाला, जलेश्वर, धनुषाको मुझेलिया, ढल्ेकबर, जनकपुर, महेन्द्रनगर, सिराहाको लाहान, धनगढी, सिराहा माडर, गोलबजार सप्तरीको भारदह, शम्भुनाथ, कन्चनपुर, हनुमाननगर लगायतको शहरीक्षेत्रमा जथाभाबी पार्किङ्गले सौन्दर्यतानै बिगारेको छ ।

सवारी साधनको जथाभाबी पार्किङ्ग, दोहोरो पार्किङ्ग, फुटपाथ मिचिनुले पैदल यात्रीलाई सास्ती पर्नुको साथै त्यस क्षेत्रको फोहोर उठाउन समेत मुस्किल परेको छ । राजमार्गका बस्तीमा हुने ट्राफिक अस्तब्यस्तलाई नियन्त्रण गर्नुको साट्टो ट्राफिक प्रहरीले जङ्गलमा ढुकेर चेकजाँचको नाममा सवारी साधनका चालकलाई दुःख दिने मात्र हैन, अवैध रकम समेत मागगर्ने गरेको गुनासो बढेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय, पथलैया, बाराका ट्राफिक प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले ट्राफिक प्रहरीको स्रोत र साधनले भ्याएसम्म दुर्घटना न्यूनीकरणको कार्य गरेको बताउनु भयो । रामजार्गमा गुडने सबै सवारी साधनको मेकानिकल ईन्जिनियर नभएका कारण हेर्न नसकिएको उहाँले बताउनु भयो ।

ट्राफिक प्रहरीको चेकजाँच सडक सुशासन कायम गर्न नभई नियमविपरीत चलेका सवारी साधनसँग अवैध रकम असुलीको लागि भएको आरोप लगाइएको छ । जंगल क्षेत्रमा चेकिङ्गमा बसेका ट्राफिक प्रहरीसँग नत मापसे चेक गर्न ब्रेथलाईजर नै छ नत गती मापन गर्न राडर मेसिन राख्ने गरेका छन् ।

भैसी लोड गरेको एक ट्रकका चालक भन्छन्, ‘दुर्घटना न्यूनीकरण गर्नुभन्दा पनि रकम असुल गर्नु नै ट्राफिक प्रहरीको प्राथमिकतामा पर्ने गरेको छ ।’ पछिल्लो समयमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनिरहेको मधेश प्रदेशमा ट्राफिक प्रहरीले सवारी धनीहरुलाई अनावश्यक दुःख दिएर विभिन्न बाहना बनाएर पैसा उठाउने गरेको आरोप लाग्ने गरेको छ । राजमार्गमा चल्ने सबारी साधनका सानातिना कमजोरी खोज्दै जरिवानाको बाहाना बनाएर रकम उठाउने गरेको मधेश प्रदेशका स्थानीयको गुनासो रहेको छ ।