लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

0
Shares

बुटवल  । 

आगामी मंसिर ४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र भय रहित बनाउने लक्ष्य सहित बुटवलमा मध्य नजर गरी लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठी भएको छ ।

गोष्ठीमा गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान व्यवस्था प्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीति भन्दा बाहिर रहेका दलहरूलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको खुलासा गर्नु भयो ।उहाँले असन्तुष्ट जाहेर गर्ने अधिकार सबै नागरिक र दलहरूलाई भए पनि निर्वाचन बिथोल्ने अधिकार भने कसैलाई नभएको स्पष्ट पार्नुभयो ।

उहाँले कुनै दल वा समूहका नाममा निर्वाचन खलबलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार नभएको भन्दै मूलधारको राजनीतिमा आउन समेत आग्रह गर्नुभयो । ‘हामी मिल्ने सम्म लचक भएर असन्तुष्ट दलहरुसँग संवाद र छलफल गरिरहेका छौ ।

कतिपय मागहरू ऐन संशोधन बिना सम्बोधन गर्न सकिँदैन । सरकारले ऐन तर्जुमा गरेर भएपनि जायज माग सम्बोधन गरी असन्तुष्ट समूहलाई मूलधारमा ल्याउने प्रयत्न गरिरहेको गृहमन्त्री खाँण बताउनु भयो ।यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको उहाँ जोड दिनुभयो ।

जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्यमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन बिथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’

उहाँले सरकार भयरहित, शान्तिपूर्ण, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिबद्ध भएको बताउँदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरूलाई आग्रह समेत गर्नुभयो । ढुक्कसँग मतदान स्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उहाँले भन्नुभयो,‘त्यसकालागि सुरक्षा व्यवस्थापनमा कुनै कसर बाकी नराख्नु।

गृह मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सशस्त्र प्रहरी,नेपाली सेना र अनुसन्धानका अधिकारीहरू सहभागी रहेका छन् ।
उनीहरूले दिनभर सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने प्रदेशका आन्तरिक मामिला सचिव कोमल प्रसाद धमलाले जानकारी दिनुभयो ।