सीमा सुरक्षा बैठक सम्पन्न



नवलपरासी ।

नवलपरासी नेपाल-भारत सीमा जोडिएका जिल्लाधिकारीहरूको सुरक्षा बैठक बिहारको रक्सौलमा सम्पन्न भएको छ ।

आसन्न निर्वाचनमा सीमा नाकाबाट हुने अवैध गतिविधि रोक्ने उद्देश्यले भारतीय र नेपाली अधिकारीबिच मंगलबार अन्तर जिल्ला सीमा बैठक भएको हो ।

बैठकमा भारतको बिहार राज्यसँग सीमा जोडिएका नेपालका ६ जिल्लाको तर्फबाट नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन अधिकारीले नेतृत्व गर्नु भएको थियो । नेपाल भारत सीमावर्ती सुरक्षा अधिकारीहरू सम्मिलित उक्त बैठकमा बिहार राज्य पूर्वी चम्पारण जिल्ला अधिकारी सिर सत कपिल अशोकको बैठकमा उपस्थिति रहेको थियो ।

बैठकले मंसिर ४ को निर्वाचन सुरक्षाका लागि भारतसँग सीमा जोडिएका रौतहट,बारा, पर्सा, चितवन,नवलपरासी पूर्व र पश्चिमका नाकाहरू मंसिर २ देखि ४ सम्म ७२ घण्टाका लागि सिल गर्ने निर्णय गरेको छ । यसै गरी बैठकमा मदिरा तथा लागू पदार्थ ओसारपसार, जाली नोट तस्करी लगायत अन्तर सीमा अपराध सम्बन्धी गैर कानुनी गतिविधि नियन्त्रण गर्ने छलफल तथा समझदारी भएको प्रजिअ अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्