महानगरले हटाउन थाल्यो अन्डर ग्राउन्ड पार्किङ

७२ घण्टे अल्टिमेटम

0
Shares

पोखरा । 

पोखरा महानगरपालिकाभित्र पार्किङ प्रायोजनका लागि भन्दै अनुमति लिई व्यावसायिक प्रयोजनमा प्रयोग गरेको अन्डरग्राउन्डका व्यापारलाई हटाउन ७२ घण्टाको अल्टिमेटम दिएको छ ।

पोखरा महानगरपालिकाले मंगलबार सांकेतिक रूपमा अन्डरग्राउन्डमा व्यापार गर्दै आइरहेका व्यवसायीको संरचनामा डोजर चलाउँदै ७२ घण्टासम्मको अल्टिमेटम दिएको हो । चाडको समय रहेको भन्दै छठ पर्वसम्म हटाउन पत्राचार गरेको महानगरले मंगलबार कारबाहीको प्रक्रियालाई अघि बढाएको हो ।

यसअघि महानगरले पटक पटक गरी अन्डरग्राउन्डबाट व्यवसायी हटाउन पत्रचार गरेको ४५ दिन पुगेपछि तिहारभित्र हटाउन अन्तिम चेतावनी दिएको थियो । सोही चेतावनीपश्चात् महानगरका मेयर धनराज आफंै स्थलमा पुगी व्यवसाय हटाउन लगाउनुभएको हो । सवारी छिर्न मिल्ने गरी बाटो बनाउनसमेत निर्देशन दिँदै उहाँले व्यवसाय हटाउनका लागि २४ घण्टादेखि ७२ घण्टाको अन्तिम मौका दिनुभएको हो ।

‘सांकेतिक रूपमा अहिले डोजर चलाएका छौं । पहिले चाडपर्वले गर्दा केही लचिलो बनेका थियौं’, उहाँले भन्नुभयो– ‘अब भने हामीले बल प्रयोग गर्नैपर्छ । यो कुरा पहिल्यै जानकारी गराइसक्या छौं ।’ आरके भवनपछि महानगरको टोली सेलवेज टावरमा पुुग्यो । टावरको अन्डरग्राउन्डमा ‘बिगबजार सेल स्टोर’ सञ्चालनमा थियो । टावरको भूूमिगत तलाको उक्त पसलले भने आफ्नो सामान आफैं हटाउन शुरू गरिसकेको थियो । बिगबजारका सञ्चालक जनक कार्कीले आफूलाई केही समय दिन आग्रह गर्नुभयो ।

महानगरले चिप्लेढुंगा, महेन्द्रपुलसम्मका ३ संरचनामा डोजर चलाएको थियो भने ४ भवनका व्यवसायीलाई चेतावनी दिएर छोडेको थियो । महानगरले आरके बिल्डिङ, बुद्ध विशाल बजारको एउटा फेन्सी पसल र गरिमा विकास बैंक रहेको भवनको संरचनामा डोजर चलाएको हो । सीता भवन, अरविन्द भवन, सीता भवनलगायतका व्यवसायीलाई सम्झाएर फर्किएको थियो ।
गरिमा विकास बैंकले अन्डरग्राउन्ड नै छेकिने गरी संरचना बनाएर बैंकिङ काम सञ्चालन गर्दै आइरहेको थियो ।

महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले अन्य व्यवसायी तथा घरधनीलाई ७२ घन्टे अन्तिम अल्टिमेटम दिए पनि बैंकको हकमा भने महानगरमा छलफलका लागि बोलाइएको जानकारी दिनुभयो । ‘बैंकलाई अरुको जस्तो गर्न सजिलो छैन । त्यहाँ धनराशिदेखि लकरसम्म हुन्छ र तत्काल सार्न पनि समस्या हुन्छ । त्यसैले हामीले महानगरमा छलफलका लागि बोलाएका छौं’, इन्जिनियर पौडेलले भन्नुभयो– ‘उहाँहरूले के कति समय माग्नुहुन्छ । त्यहीअनुसार हुन्छ ।’पोखरा महानगरले भदौ १३ गते ३५ दिने म्याद दिएर भवनका भूमिगत तलालाई प्रयोजनअनुरूप नै पार्किङमा प्रयोग गर्न सूचना जारी गरेको थियो । म्याद सकिनै लाग्दा महानगरले असोज १२ गते सिर्जनाचोकमा एक औपचारिक कार्यक्रम गर्दै भूमिगत पार्किङ शुरू भएको उदघोष पनि गरेको थियो ।

तर, समयसीमा सकिएपछि केही व्यापारी, घरधनीले अटेरी गरेपछि सूचना सकिएको १० दिनपछि असोज २१ गते अन्डरग्राउन्ड भवनका व्यावसायिक संरचनाको अनुगमन पनि गरेको थियो । पोखरा महानगरपालिकाका नगर प्रहरी (असई) पुरुषोत्तम थापाले पार्किङ प्रायोजनका लागि भन्दै महानगरबाट राजश्व छुट लिई व्यापारिक प्रयोजनलाई दिएको सुनाउनुभयो ।

उहाँले महानगरले यसअघि समेतपटक पटक हटाउन आग्रह गरे पनि कार्यान्वयन नगर्दा अहिले पनि अटेरी गरेको बताउनुभयो ।महानगरभित्र करिब २ सय ५० हारहारीमा अन्डरग्राउन्ड सहितको भवन रहे पनि करिब ४० देखि ५० भवनले भने पार्किङको प्रायोजन गर्ने भन्दै महानगरको सेवा लिएर भवन बनाए पनि त्यहाँ व्यवसायी सञ्चालन गर्दै आइरहेको छ । पहिले पूरै राजश्व छुटको व्यवस्था थियो । तर, पछि ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो । उक्त छुट लिने १६, १७ वटा भवन छन् । ७२ घण्टाभित्र समेत नहटाएमा महानगरले सबै सामान जफत गरी हटाउने उहाँले बताउनुभयो ।