मुलुकलाई पश्चगमनतर्फ धकेल्न तीनदलीय गठबन्धन उद्यत

0
Shares

बुटवल ।

गृहमन्त्री बालकृष्ण खाँणले तीनदलीय गठबन्धन संविधान च्यात्ने र मुलुकलाई पश्चगमनतर्फ धकेल्न लागिरहेको आरोप लगाउनुभएको छ । गृहमन्त्री खाँणले जनताको लामो संघर्ष र बलिदानपश्चात् संविधानसभाबाट बनाएको संविधान च्यात्ने प्रपञ्चमा केही दल लागिरहेको बताउनुभएको छ ।

सिद्धार्थनगर नगरपालिका १२ मा मंगलबार आयोजित कार्यक्रममा सार्वभौमसत्ता जनतामा निहीत हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो ।मुलुकबाट निर्मूल भइसकेको राजतन्त्रलाई बोकेर हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेटेर नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्तारुढ दलहरूको गठबन्धनविरुद्ध बनाएका छन् ।

यो तीनदलीय गठबन्धन संविधान च्यात्न र मुलुकलाई पश्चगमनतर्फ धकेल्न लागिरहेको उहाँको तर्क छ । रूपन्देही क्षेत्रनम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा पाँचदलीय गठबन्धनबाट उम्मेदवार रहनुभएका खाँणले जनप्रतिनिधिले बनाएको संविधान संसद्मा दुई तिहाइ मतले संशोधन गर्न सकिने भए पनि जनआन्दोलनको मर्म र भावनाविपरीत संविधान नै च्यात्न उद्यत हुनु प्रतिगमनलाई मलजल गर्नु र मुलुकलाई पुरानै अवस्थामा फर्काउन उद्यत रहेको आरोप लगाउनुभयो । उहाँले सचेत हुन र निर्वाचनमार्फत् त्यस्तो रणनीतिमा लाग्ने शक्तिहरूलाई परास्त गर्न नागरिकलाई आग्रह गर्नुभयो ।

लामो संघर्षपश्चात् ल्याएको व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाबीच गठबन्धन गरेर निर्वाचनमा होमिएको बताउँदै गृहमन्त्री खाँणले निर्वाचनपछि बन्ने गठबन्धन सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने रणनीतिक योजना ल्याउने बताउनुभयो । मुलुकमा शान्ति, स्थिरता, सुशासन र विकास एउटै दलले बहुमत ल्याएर गर्न अप्ट्यारो पर्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा होमिएको उहाँको भनाइ थियो । गठबन्धन सरकार निर्माणका लागि मात्रै नभएर मुलुकमा शान्ति स्थापना गरी अग्रगमनको बाटोमा लैजान गरिएको उहाँको भनाइ थियो ।

टिकट नपाएर पार्टी छाड्नेहरू अवसरवादी हुन्

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले टिकट नपाउँदैमा पार्टी छाडेर रातारात विपक्षीको उम्मेदवार बन्ने घनश्याम भुसालमा राजनीतिक चरित्र समाप्त भएको आरोप लगाउनुभयो । रूपन्देही १ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका विश्वकर्माले एकपटक टिकट नपाउँदैमा पार्टीलाई धोखा दिएको आरोपसमेत लगाउनुभयो ।
एमाले, राप्रपा र जसपाले रूपन्देहीको देवदहमा गरेको चुनावी सभामा बोल्दै विश्वकर्माले अरूलाई चुनावदेखि चुनावसम्मको राजनीति गरेको आरोप लगाउने भुसालले एउटा चुनावमा टिकट नपाउनेबित्तिकै विपक्षीसँग मिलेमतोमा जानुले उहाँको असली मुखुण्डो उदांगो भएको टिप्पणी गर्नुभयो । रूपन्देही १ मा भुसाल सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बन्नुभएको छ ।

ओलीलाई सुधार्नु बालुवा पेलेर तेल निकाल्नु सरह

त्रिभुज चिह्न लिएर रूपन्देही १ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्ने प्रयास असफल भएपछि आफूले एमाले छोडेको बताउनुभयो । मंगलबार देवदहमा गठबन्धनको वडा कार्यालय उद्घाटन गर्दै भुसालले ओलीलाई सुधार्नु भनेको बालुवा पेलेर तेल निकाल्नुसरह भएको टिप्पणी गर्नुभयो ।

ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँचदलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने उहाँको तर्क छ । ‘एमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्य बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा र विकासको लागि बनेको हो’ –उहाँले भन्नुभयो । ओलीजीले झापा क्षेत्र न. ५ जित्नैपर्ने भएको हुनाले उहाँले राप्रपासँग गठबन्धन गर्नुभएको खुलासा गर्नुभयो ।

रोजगारी र विकास अबको एजेन्डा हुने बताउँदै उहाँले अब देवदहको प्रतिस्पर्धा बुटवल र आसपासका शहरसँग हुने र विकासमा देवदहले नयाँ फड्को मार्ने दाबी गर्नुभयो । जनताको प्राथमिकताका आधारमा चौतर्फी विकास गर्न पाँचदलीय गठबन्धनलाई मतदान गर्नुपर्ने उहाँको भनाइ छ ।