दिगो विकास लक्ष्य हासिल गर्न अमेरिकाको सहयोग निरन्तर

0
Shares

काठमाडौं ।

अमेरिकी राजदूत डिन थम्पसनले मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, निर्वाचन, आर्थिक विकासलगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रचण्डको सचिवालयका अनुसार भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिकाको सराहना गर्नुभएको थियो । अमेरिकी राजदूत थम्पसनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न अमेरिकाको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभएको सचिवालयले जनाएको छ ।

मंगलबार नै अमेरिकी राजदूत थम्पसनले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको थियो । भेटमा अर्थमन्त्री शर्माले नेपाललाई भूकम्प, कोरोना महामारीलगायतका संकटका बेलामा गरेको सहयोगका लागि अमेरिकी सरकार र अमेरिकी जनताप्रति आभार व्यक्त गर्नुभएको थियो ।

उहाँले नेपाललाई अहिले ठूला पूर्वाधारहरू आवश्यक भएको भन्दै त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा रहेको जिकिर गर्दै अमेरिकी नियोगहरूमार्फत नेपालमा निर्माण भइरहेका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

भेटमा अर्थमन्त्री शर्माले नेपालले पर्यावरणसम्बन्धी समस्याहरू भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’ को रमक प्रयोग गर्न नपाइरहेको जानकारी दिँदै त्यसमा अमेरिकाले सहजीकरण गरिदिन आग्रह पनि गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यसै गरी राजदूत थम्पसनले मंगलबार नै प्रधान सेनापति प्रभुराम शर्मासँग पनि शिष्टाचार भेट गरी नेपाल–अमेरिकाबीच लामो समयदेखि सहकार्य हुँदै आएको विपद् प्रतिकार्य र संयुक्त राष्ट्रसंघीय शान्ति सेनासम्बन्धी साझेदारी र सहयोगका बारेमा छलफल गर्नुभएको थियो ।