डा. कार्कीले चुनाव लड्न पाउने बाटो खुला

0
Shares

काठमाडौं  । 

सर्वोच्च अदालतले ललितपुर क्षेत्रनम्बर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै चुनाव लड्न बाटो खुलेको छ ।

न्यायाधीश कुमार चुडालको इजलासले यस्तो आदेश दिएको प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । ‘प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी सन्दर्भबाट निवेदकलाई हुन सक्ने अपुरणीय क्षतिको स्थिति तथा सुविधाको सन्तुलन समेतको रोहबाट प्रस्तुत मुद्दाको अन्तिम टुंगो नलागेसम्म कार्कीको ललितपुर–३ को उम्मेदवारी अयोग्य हुने गरी आयोगले कात्तिक १२ मा गरेको निर्णय कार्यान्वयन नगर्नू÷नगराउनू’ –सर्वोच्चको आदेशमा भनिएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ललितपुर क्षेत्र नं ३ बाट उम्मेद्वारी दिएकी डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा. कार्कीलाई काउन्सिलको सदस्य भएकै कारण निर्वाचन आयोगले लाभको पदमा बहाल रहेको भन्दै उम्मेदवारी खारेज गरेको हो ।‘स्वस्थ नेपाली, सुखी नेपाली डा. तोसिमालाई भोट यसपालि’ भन्ने नाराका साथ प्रचारप्रसारमा उत्रिएकै बेला निर्वाचन आयोगले उमेदवारी खारेज भएको विज्ञप्ति जारी गरेपछि सोमबार उहाँ सर्वोच्च अदालत पुग्नुभएको थियो ।