पातिचौर–क्याङ सडक कालोपत्रे चुनावलगत्तै

0
Shares

पर्वत  । 

आगामी संघीय संसद्को प्रतिनिधिसभा तथा सातवटै प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि तीन साता मात्रै बाँकी रहँदा पर्वतका राजनीतिक दलहरु सक्रियतापूर्वक प्रचार–प्रसारमा जुटेका छन् ।

नेकपा एमालेवाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेशसभा ‘क’ का उम्मेदवार भक्त कुँवरको चुनावी अभियान मोदी गाउँपालिका–४ क्याङ र वडा नं. ५ बाजुङमा सम्पन्न भएको छ । क्याङको लेसपार, खुइजरी, क्याङ र बाजुङको पाखाथर र बाउसेमा चुनावीसभा र कोणसभा सम्पन्न भएको छ । स्थानीयवासीले एमाले उम्मेदवारहरुसँग पातीचौर–बाजुङ–क्याङ सडक कालोपत्रेका लागि माग गरेका थिए । दुईवटै वडाका बासिन्दाले यो सडक खण्डको तत्काल कालोपत्रेका लागि प्रमुख माग राखेका हुन् । त्यसै गरी, युवाहरुले खेलमैदान, महिलाहरुले आयआर्जनका लागि सीपमूलक तालिम तथा विभिन्न बस्ती जोड्ने सडकको स्तोरन्नतिको माग समेत गरेका छन् ।

मतदाताहरुको मागलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य पदम गिरीले पातिचौरदेखि क्याङ लेसपारसम्मको सडक कालोपत्रेका लागि सर्वेक्षण भइसकेको र आरसीआईपी मार्फत योजना अघि बढेको बताउनुभयो । कांग्रेस नेतृत्वको सरकार आएपछि उक्त सडकको बजेट कटौती भएको बताउँदै आफूले निर्वाचन जितेर गएलगत्तै यसै वर्षदेखि सडक कालोपत्रेको काम सुचारु हुने प्रतिबद्धता उम्मेदवार गिरीको छ ।

विगत पाँच वर्षमा जिल्लामा १ सय १८ किलोमिटर सडक कालोपत्रे गर्ने, ११ सय घरमा टिनको छाना हाल्नेलगायत चौतर्फी क्षेत्रमा कामहरु गरेको स्मरण गर्दै उहाँले कतिपय योजनाहरु कोभिड–१९ का कारणले पूर्णता हुन नपाएको र कतिपय योजनाहरु पछिल्लो देउवा सरकारले बजेट कटौती गरिदिँदा रोकिएको बताउनुभयो । गिरीले नेकपा एमालेको सरकार आएपछि दिन दोगुना रात चौगुनाको दरले विकास निर्माणका काम अघि बढ्ने उहाँको भनाइ छ । त्यसै गरी, प्रदेशसभा ‘क’ का उम्मेदवार भक्त कुँवरले ग्रामीण क्षेत्रमा आवश्यक संरचनाहरुको निर्माण गरी पलायन भएका नागरिकलाई गाउँ फर्काउनका लागि आफूले विशेष योजनासहित अघि बढ्ने बताउनुभयो ।