बाँके–१ मा अथकलाई कांग्रेस र सूर्यलाई राप्रपाको भर

0
Shares

बाँके ।

२०७४ सालको निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट नेकपाबाट माओवादीका महेश्वर गहतराज ‘अथक’ ले चुनाव जित्दा एमालेको भरोशा थियो । नेकपाको भागवण्डामा माओवादी प्यानललाई क्षेत्र नं. १ परेपछि उहाँले टिकट पाएर करिव ३ हजार मतान्तरले जित हात पार्नुभएको थियो ।

अथकले ३१ हजार १ सय ७३ मत ल्याउँदा नेपाली कांग्रेसका माधवराम खत्रीले २८ हजार २ सय १७ मत ल्याउनुभयो भने संघीय समाजवादी फोरमका लालबहादुर शाहीले ४ हजार ५ सय ८८ मत पाउनुभयो । २०७९ को चुनाव नआइपुग्दै नेकपा छुट्टिएर पूर्ववत् एमाले र माओवादी केन्द्र बनिसकेका छन् । चुनावी समीकरण पनि परिवर्तन भएको छ । गएको चुनावको सहयात्री अहिले प्रतिस्पर्धी भएका छन् । हिजो सत्तासराप गरिएका आज मित्र भएका छन् ।

क्षेत्र नं. १ मा माओवादी र कांग्रेसको समीकरण बन्दा एमाले र राप्रपा अर्कोतिर मिल्न पुगेका छन् । यो क्षेत्रमा गएको चुनावमा अथकलाई जिताउन रातदिन दौडिएका नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल आमने–सामने भएका छन् । अथकलाई अहिले कांग्रेसको भर छ । उनले जित्ने र हार्ने कांग्रेसको हातमा छ भन्दा हुन्छ । एमालेका सूर्य राप्रपाको साथ लिएर चुनाव जित्न लागिपरेका छन् ।

वैशाख ३० को स्थानीय तहको निर्वाचनको मत हेर्दा यो क्षेत्रमा कांग्रेस बलियो छ । कांगे्रसले कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाको मेयर र उपमेयर नै जितेको छ । नरैनपुर गाउँपालिका जसपाले जितेको छ । कोहलपुर र राप्तीसोनारीमा एमाले र नरैनापुरमा कांग्रेस निकटतम प्रतिस्पर्धी थियो । माओवादी कोहलपुर र राप्तीसोनारीमा तेस्रो हुँदा नरैनापुरमा अझै तल थियो ।

तालमेल गर्दा माओवादीलाई प्रतिनिधिसभा, एउटा प्रदेश तथा कांग्रेसलाई एउटा प्रदेश मिलेको छ । कोहलपुर क्षेत्रतिर पर्ने प्रदेशमा कांग्रेसका फूलाराम थारुले टिकट पाएका छन् । नरैनापुरतिर पर्ने प्रदेशमा माओवादीका कृष्णा केसीको उम्मेदवारी छ । अर्कोतिर एमालेको प्रतिनिधिसभा र कोहलपुरतिर पर्ने प्रदेश ‘ख’मा दुर्गाप्रसाद चौधरी र नरैनापुरतिर पर्ने प्रदेश ‘क’मा राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्र पौडेलले टिकट पाएका छन् ।

प्रदेश ‘क’मा माओवादीका पुराना नेता अमर खड्काले जसपाबाट प्रतिस्पर्धा गरिरहेका छन् । फत्तेपुरमा खड्का कांग्रेस, माओवादी, एमाले हुँदै जसपामा पुगेका छन् । खड्काको व्यक्तिगत प्रभाव राम्रो रहेको सो क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई जित्न सहज हुने देखिँदैन । त्यसो त नरैनापुरमा जसपाका राम्रो प्रभाव रहेको छ ।

क्षेत्र नं. १ मा हिजो एमालेको साथ लिएर चुनाव जितेका अथकलाई यसपालि कांग्रेसले पूर्णरूपमा बोक्छ कि बोक्दैन भन्ने प्रश्नले नतिजामा प्रभाव पार्ने देखिन्छ । कांग्रेसले इमानदारी देखाउँदा अथक बलियो देखिन्छन् । जनतामाझमा राम्रो छवि बनाएका एमालेका सूर्यको पार्टीगत र व्यक्तिगत प्रभाव लोभलाग्दो नै हुनुहुन्छ ।

आफ्नो मतलाई कायम राख्दै केही मत कांग्रेसबाट ल्याउन सकेमा सूर्य अगाडि आउने जानकारहरु बताउँछन् । कोहलपुर नगरपालिका र राप्तीसोनारीमा धेरै वडा एमालेले जितेको र राप्रपासमेत मिलेकाले सूर्यलाई कमजोर आँक्न मिल्दैन । बाँकेको उत्तर–पूर्वी यो क्षेत्रमा गएको चुनावको पहिलो र दोस्रो एकातिर हुँदा पहिलोलाई साथ दिएको एमाले र राप्रपा अर्कोतिरको गठबन्धनमा छन् । पार्टीगतभन्दा पनि नेताको व्यक्तिगत मत पनि हुने भएकाले नेताहरुको आ–आफ्नै दाबी रहेको छ ।