दैलेख २ का उम्मेदवारहरू एकै थलोमा युवा अन्तरक्रियामा सहभागी 

0
Shares

दैलेख । 

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि विभिन्न पार्टीका उम्मेदवारहरू आ आफ्नो चुनावी एजेन्डा लिएर मतदाता सामु पुग्ने क्रम चलिरहेको छ । यस क्रममा दैलेखको क्षेत्र नंं २ मा नेकपा एमाले तथा गठबन्धनको कडा प्रतिस्पर्धा हुने देखिएको छ भने सँगै अन्य पार्टीका उम्मेदवारहरु पनि चुनावी मैदानमा हुनुहुन्छ ।

दैलेखको क्षेत्र नं.२ मा प्रतिनिधि सभाको लागि पाँच दल र प्रदेश सभाको लागि एक स्वतन्त्र सहित ४ दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनीहरू कसरी चुनावी मैदानमा जाँदै हुनुहुन्छ र आ आफ्ना चुनावी एजेन्डा के छन् र साझा एजेन्डा के हुन सक्छन् भन्ने बारे युवाहरूसँग साझा अन्तरक्रिया गरिएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा तथा प्रदेश सभाका सबै उम्मेदवारहरूले एकै मञ्च प्रयोग गर्दै आ आफ्ना धारणा राखेका छन् ।

कार्यक्रमको अवसरमा दैलेख क्षेत्र नंं २ अन्तरगत प्रतिनिधि सभाका उम्मेदवारहरू एमालेका लक्ष्मी प्रसाद पोखरेल चुनावी अभियानको क्रममा पश्चिम दैलेखमा भएकोले उहाँको उपस्थिति भने भएन । अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसबाट गठबन्धनका साझा उम्मेदवार दिक्पाल कुमार शाही , नेपाल मजदुर किसान पार्टीका केशेन्द्र प्रकास कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र राज गिरी र स्वतन्त्र पार्टीका बखत भण्डारीको सहभागिता रहेको थियो ।

त्यसै गरी प्रदेश सभा क का उम्मेदवारहरुमा नेकपा एमालेका तिलक प्रसाद रिजाल, गठबन्धनबाट नेपाली काँग्रेस घनश्याम भण्डारी, नेपाल मजदुर किसान पार्टीका मदन कुमार भण्डारी, राप्रपाका यज्ञ बहादुर थापा,हाम्रो नेपाली पार्टीका प्रेम बहादुर भण्डारी र स्वतन्त्र उम्मेदवार पुरुषोत्तम रिजालको उपस्थिति रहेको थियो ।

वीरेन्द्रनगर जे सिसका उपाध्यक्ष तथा सामाजिक अभियन्ता महेन्द्र थापाले सञ्चालन गर्नुभएको उक्त अन्तरक्रिया कार्यक्रमको अवसरमा सहभागी भएका प्रतिनिधि सभाका उम्मेदवारहरूले आफ्नो विगतलाई पस्किँदै आफ्नो चुनावी एजेन्डा र पार्टीको धारणा समेत राखेका थिए ।

साथै आफ्नो धारणा राख्ने क्रममा उनीहरूले एक अर्काप्रति व्यङ्ग्य र प्रहार समेत गर्न भ्याएका छन् । कार्यक्रमको अवसरमा उपस्थित स्थानीयहरू तथा युवाहरूले प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरूलाई प्रश्न समेत गरेका छन् भने उम्मेदवारहरूले पालैपालो ती प्रश्नहरूको समाधान गरेका छन् ।

यसरी विगतमा जनप्रतिनिधि भइसकेका उम्मेदवारहरू र नयाँ उम्मेदवारहरूले आ आफ्नो धारणा राखी रहँदा उपस्थित स्थानीयहरूले उनीहरू प्रश्न गर्ने मौका समेत पाएका छन् उनीहरूले आफ्ना धारणा र पार्टीका घोषणापत्र राखिरहँदा साथै चिया चौतारीमा कति मतदातालाई आफ्नो पक्षमा पाइनुहुन्छ र मत लिनुहुन्छ त्यो भने मंसिर ४ पछि नतिजामा परिणत हुने नै छ ।