विकासका नाममा कसैलाई घर–बास विहीन बनाइँदैन : एमाले उपाध्यक्ष पौडेल

0
Shares

 बुटवल ।

पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका नाममा कसैलाई घर–बास विहीन नबनाउने बताउनुभयो । तिनाउ दानव कोरिडोर निर्माणमा देखिएको स्थानियको समस्यालाई लिएर एमाले उपाध्यक्ष पौडेलले भन्नु भयो स्थानीयको उचित व्यवस्थापन पछि मात्रै कोरिडोरको काम अघि बढ्ने बताउनु भयो ।

कोरिडोर निर्माणले नदी आसपासका बासिन्दा घरबार विहीन हुने भ्रम छरिएको भन्दै उहाँले यस्तो कदापि नहुने बताउनु भयो । पूर्वाधार विकास योजनाका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको भन्दै उहाँले राजनीतिक स्वार्थ पूर्तिका लागि जनतालाई हरेक कुरामा आतङ्कित बनाउनु गलत भएको उल्लेख गर्नु भयो ।

सोमबार बुटवल–११ युद्धनगरमा पार्टी कार्यकर्ताहरूसँगको भेटघाटमा तिनाउ–दानव कोरिडोर बारे छलफल गर्दै जनताका लागि नै सुरु गरिएका महत्त्वाकाङ्क्षी र ठुला विकासका आयोजनाहरूमा गलत ढंगले भ्रम फैलाएर आतङ्कित पार्ने गरिएको धारणा राख्नु भयो ।

यहाँको बस्तीलाई व्यवस्थित गरी कोरिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई व्यवस्थित ठाउँमा उनीहरूकै चाहना अनुसार व्यवस्थापन गरेर मात्रै कोरिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नु भयो । ‘यहाँको बस्ती सुरक्षाका लागि नै कोरिडोर निर्माण गर्न लागिएको हो । विकासका नाममा जनतालाई आतङ्कित पार्ने र विस्थापित गर्ने भन्ने हुँदैन ।’–पौडेलले भन्नु भयो, भ्रममा नपर्नुहोस् यदि यहाँबाट बस्ती हटाउनु पर्ने भएमा योभन्दा थप व्यवस्थित ठाउँमा तपाईँहरूलाई व्यवस्थापन नगरी काम अघि बढ्दैन ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आफ्नो ध्यान खुद्रे योजनाभन्दा समग्र क्षेत्रको एकसाथ विकास गर्नमा बढी केन्द्रित रहेको उल्लेख गर्नु भयो । हरेक घर परिवार तथा युवाहरूलाई रोजगार सिर्जना गर्नका लागि ठुला विकास आयोजनाहरूको सुरुवात, औद्योगिक क्षेत्रको विकास, कृषिलाई आधुनिकीकरण तथा प्राविधिक शिक्षालाई जोड दिइने उहाँको कथन थियो ।

कार्यकर्ताहरूसँगको छलफलमा बोल्दै एमाले पोलिटव्यूरो सदस्य पूर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ ‘१’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लीला गिरीले बुटवलको योजनाबद्ध विकासका लागि विगतमा आफू सरकारमा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गर्नु भयो ।

विगतमा आफूले सुरु गरेका योजनाहरूलाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले  ती योजनाहरू पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने दाबी गर्नु भयो ।