सफलता प्राप्तिका लागि डा. माथेमाको चाबी

0
Shares

रोहिणी घिमिरे

जो–कोहीले पनि जीवनमा सफल बन्ने कोशिश गरेका हुन्छन् तर सोचेजस्तो सफलता प्राप्त गर्न कठिन छ । किन सफल हुन सकिँदैन, सफलता कसरी प्राप्त गर्ने त ? यो जटिल प्रश्नलाई मध्यनजर गरी नेपालका कृषि अर्थशास्त्री डा. सुदर्शनभक्त माथेमाले सफलताको ताल्चा खोल्ने चाबीका रुपमा पुस्तक नै तयार गरी प्रकाशन गर्नुभएको छ ।

दृढ इच्छाशक्ति र अथक लगनशीलताबाट कृषि अर्थशास्त्रमा विद्यावारिधि गरी जीवनमा केही हदसम्म सफलता प्राप्त गर्नुभएका डा. माथेमाले ‘सफलता: के किन कसरी’ नामको आफ्नो पुस्तकमा कुनै पनि क्षेत्रमा कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने कुरा औंल्याउनुभएको छ । पुस्तकको विभिन्न परिच्छेदमा उल्लेख गरिएका विषयवस्तुलाई गहिरो अध्ययन गरी प्राप्त ज्ञान लागू गर्न सकेमा जो–कोही पनि जरुर सफल हुनेमा लेखक विश्वस्त हुनुभएको छ ।

सफलता प्राप्त गर्नका लागि लक्ष्य अनुसार हात हालेको काममा रुचि हुनै पर्ने लेखक डा. माथेमा जोड छ । उहाँ लेख्नुहुन्छ, ‘जबर्जस्ती लादिएको काममा तपाईंले मन दिएर काम गर्ने सम्भावना धेरै न्यून हुन्छ । त्यसैले सफल बन्न सकिँदैन । आजकल आमाबाबुले समेत आफ्ना केटाकेटीलाई पहिलेको जस्तै पढेर डाक्टर, इन्जिनियर हुनुपर्छ भनी जोड दिने गर्दैनन् । केटाकेटीहरूको इच्छा र उनीहरुको मन पर्ने विषयमा नै राजी हुन्छन् र उनीहरूलाई उत्साहित पनि गर्छन् ।’

असफल भइयो भन्दैमा हार नखाने डा. माथेमाको सल्लाह छ । असफलताबाट हार नखाई, अझ कडा परिश्रम र लगनशील भएर सफल भएका थुप्रै उदाहरण डा. माथेमाले पुस्तकमा पस्कनुभएको छ । तीमध्ये अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकन पनि एक हुन् । डा. माथेमाले उल्लेख गरेअनुसार लिंकन राष्ट्रपति हुनुअगाडि धेरै पटक असफल भए ।

उनी २२ वर्षको उमेरमा कार्यकारी निर्वाचनमा हारेपछि व्यापारमा लागे । यसमा पनि असफल भएपछि राजनीतिको बाटो रोज्न पुगे तर दुईपटक कांग्रेसको निर्वाचनमा हार खानुप¥यो । त्यसपछि सिनेटको चुनावमा लडे तर त्यसमा पनि हारे । उपसभापतिको चुनावमा पनि हारे । पुनः ४९ वर्षको उमेरमा सिनेटको चुनावमा लडे तर फेरि पनि विजय भएन ।

यी असफलता र समस्याहरूलाई निस्तेज पार्दै कसरी सफल बन्न सकिन्छ भनी लिंकन लागिरहे । अन्त्यमा सन् १८६१ मा राष्ट्रपति बन्न सफल भए । उनी भन्ने गर्थे, ‘म चिप्लेको मात्र थिएँ तर ढलेको त कहाँ थिएँ र ?’ लिंकनले जस्तै हरेस नखाई समस्याहरूलाई हटाउँदै अगाडि बढेमा एकदिन सफल भइने रहेछ भन्ने कुरा डा. माथेमाले उल्लेख गर्नुभएको छ ।

यस्तै विश्वका धनीहरूमध्ये एकमा गनिने बिल गेट्स पढाइमा कमजोर भएका कारण हार्वर्ड विश्वविद्यालयबाट निष्कासन गरिएका व्यक्ति हुन् । ट्राफ–ओ–डाटा भन्ने कम्पनीका सह–मालिक उनी उक्त कम्पनी घाटामा गएपछि पूर्ण असफल भएका थिए ।

तिनै गेट्स आज संसारकै सबैभन्दा ठूलो माइक्रोसफ्ट कम्पनीका मालिक हुन् भने विश्वकै १० धनीहरूमध्येमा गनिन्छन् । परीक्षामा सधैँ उत्तीर्ण हुने आफ्नै सहपाठीलाई उनै बिल गेट्सले आफ्नो कम्पनीमा जागिर दिएका छन् ।बिल गेट्सको कुरा मात्र होइन, लेखक डा. माथेमाले बलिउड अभिनेता अमिताभ बच्चन, बिजुलीको चिम आविष्कार गर्ने थोमस एडिसन, राजकुमार गौतम बुद्धजस्ता सफलता प्राप्त गर्ने धेरै महान् व्यक्तित्वहरुको पनि उदाहरण प्रस्तुत गर्नुभएको छ ।

पुस्तक पाँच परिच्छेद र तीन अनुसूचीमा विभाजित छ । परिच्छेद १ मा सफलताको परिभाषा र यसको आवश्यकताका बारेमा विभिन्न उपशीर्षक दिएर चर्चा गरिएको छ भने दोस्रो परिच्छेदमा सफलताका लागि आवश्यक आत्मविश्वास, इच्छाशक्ति, सकारात्मक सोच, कडा परिश्रम र लगनशीलताजस्ता गुणहरुका बारेमा वर्णन गरिएको छ ।

साथै लेखकले आफ्ना भोगाइहरु पनि उल्लेख गर्नुभएकाले पुस्तकको ओज बढेको छ । नेपालका केही सफल व्यक्तित्वहरु डा. सन्दुक रुइत, इ. कुलमान घिसिङ, पर्वतारोही पासाङल्हामु शेर्पा आदिको सामान्य जीवनीसहित सफलता प्राप्त कसरी गरे भन्ने कुरा पनि यसमा उल्लेख गरिएको छ ।

परिच्छेद ३ मा लक्ष्यसहितको कार्य–योजना किन र कसरी तयार गर्ने भन्नेबारे उदाहरणसहित प्रस्तुत गरिएको छ । उदाहरणसहितको कार्ययोजना तयार गर्ने विधि जो–कसैका लागि उपयोगी हुने देखिन्छ । सफलताको लागि निर्णय र यसको आवश्यकताबारे परिच्छेद ४ मा वर्णन गरिएको छ । खेती, व्यापार व्यवसाय, जागिर वा कुनै पनि काम शुरु गर्नुभन्दा अगाडि त्यसमा लाग्ने लगानी, फाइदा, बेफाइदा, परिश्रम आदिको सूक्ष्म विश्लेषण गर्नुपर्ने लेखक डा. माथेमाको निष्कर्ष छ । साथै अन्य वैकल्पिक कार्यहरुको पनि लेखाजोखा गरेर मात्र निर्णय लिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

यस्तै परिच्छेद ५ मा आर्थिक क्षेत्रको पाटो समेटिएको छ । विश्वका अर्थशास्त्रीहरूले प्रतिपादन गरेका आर्थिक सिद्धान्तहरुको अध्ययन–विश्लेषण गरी डा. माथेमाले सफलता प्राप्त गर्ने तरिका र अभ्यासबारे वर्णन गर्नुभएको छ । पैसा कमाउने उपाय, यसको महत्व, बचत गर्ने उपाय आदिका बारेमा समेत यसमा प्रस्ट्याइएको छ ।यस पुस्तकमा विश्वका १० सफल धनीहरुको नाम, उनीहरुको उमेर, मुलुक, सम्पत्तिको स्रोत र कुल सम्पत्तिको सूचीसहितको तालिका दिइएको छ । यस तालिकाबाट पाठकहरुलाई सफलता प्राप्त गर्न प्रेरणा मिलोस् भन्ने लेखकको मनसाय बुझ्न गाह्रो छैन ।

युवावस्थामा भाग्यमा विश्वास नगर्ने डा. माथेमा परिपक्व हुँदै जाँदा सफलतासँग भाग्य पनि जोडिने कुरामा विश्वास गर्न थाल्नुभएछ । उहाँले आफ्नो पुस्तकमा लेख्नुभएको छ, ‘ज्ञान, अनुभव र कडा परिश्रम नै जीवनलाई सफल बाटोमा डो¥याउने अस्त्रहरू हुन् भन्ने मलाई लाग्थ्यो । पछि कतिपय अवस्थामा भाग्यको पनि साथ चाहिँदो रहेछ भन्ने अनुभूति भयो ।’ उदाहरणका रुपमा आफूलाई नै प्रस्तुत गर्दै उहाँले भन्नुभएको छ, ‘मेरा केही स्नातकोत्तरका तीक्ष्ण सहपाठीहरू भरपूर कोशिशमा लागे पनि विद्यावारिधि अध्ययन गर्न जीवनमा उनीहरूले मौकै पाएनन् । यस अवस्थालाई के भन्ने ? मैले यसलाई मेरो भाग्य राम्रो भएको रुपमा लिएको छु ।’

पुस्तकको अन्त्यमा अनुसूचीका रुपमा प्रस्तुत गरिएका सफलतासम्बन्धी अन्तर्राष्ट्रिय विभिन्न विद्वान्हरुका १०५ वटा उद्धरणहरु निकै ज्ञानवद्र्धक छन् । साथै विगतमा विभिन्न पत्रपत्रिका, जर्नलमा प्रकाशित लेख–रचना तथा कार्यपत्र, रिपोर्ट, पुस्तक आदिको ११० वटा फेहरिस्तले डा. माथेमाको बौद्धिकता र लेखन क्षमताको उजागर गर्दछ । लेखक र उहाँसँग सम्बद्ध केही रङ्गीन तस्वीरहरुले पुस्तकलाई जीवन्त बनाएको अनुभव गर्न सकिन्छ ।

समग्रमा कडा परिश्रम र लगनशीलताका साथ सफलताका सूत्रहरुको अनुशरण गरेर नै मानिस सफल बन्न सक्ने यस पुस्तकले इंगित गरेको छ । त्यसैले यस पुस्तकलाई सफलताको चाबी मान्न सकिन्छ ।