पर्वतका ३५ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा

0
Shares

पर्वत।
पर्वतका १ सय ४८ मध्ये ३५ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन । जिल्ला सुरक्षा समितिले पर्वतका ३५ मतदान स्थललाई अति संवेदशीलनको सूचीमा राखेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले गत स्थानीय तहको निर्वाचनमा जिल्लामा भएका राजनीतिक गतिविधि, निर्वाचन बहिष्कार गर्ने समूह रहेको क्षेत्र, भौगोलिक स्थिति, सञ्चार र सडकको सुलभताको अवस्थालाई आधार बनाएर मतदान स्थलहरुलाई ती वर्गमा विभाजन गरेको छ।

प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाका अनुसार ३५ वटा मतदान स्थललाई अति संवेदनशील, ३१ वटा मतदान स्थललाई संवेदनशिल र ८ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखिएको छ।

पर्वतमा ७४ मतदान स्थलमा १ सय ४६ वटा मतदान केन्द्र निर्धारण गरिएको हो। सबैभन्दा बढी कुश्मा नगरपालिकाका १७ स्थानमा ३८ वटा मतदान केन्द्र रहने छन् भने सबैभन्दा कम महाशिला गाउँपालिकाका ७ स्थानमा ११ वटा मतदान केन्द्र रहने छन्।

फलेवास नगरपालिकाका १४ स्थानमा २८ वटा, मोदी गाउँपालिकाका १० स्थानमा २३ वटा, बिहादी गाउँपालिकाका ७ स्थानमा १३ वटा, जलजला गाउँपालिकाका १२ स्थानमा २१ वटा र पैयुँ गाउँपालिकाका ७ स्थानमा १४ वटा मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माले जानकारी दिनुभयो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पर्वतका १ लाख २२ हजार मतदाताले १४८ मतदान केन्द्रबाट मतदान गर्दैछन्। तर ती सबै मतदान केन्द्रहरु भने १ सय ४८ ठाउँमा नै हुने छैनन्। नियम अनुसार सामान्यत: १ हजार ६० मतदाता हुँदा एउटा मतदान केन्द्र हुन्छ। ५/७ जनाको सङ्ख्या तल माथि हुँदा एउटै केन्द्रमा मतदान हुने भए पनि त्यो भन्दा बढी भएमा अर्को केन्द्र राखेर दुवैमा बराबर मतदाता रहने गरी केन्द्रको निर्धारण गरिएको हुन्छ।

जिल्ला निर्वाचन अधिकारी शर्माले गत स्थानीय तहको निर्वाचनमा कायम रहेकामध्ये १ हजार ९ सय जनाको नाम मतदाताको सूचीबाट हटाइएको भए पनि उक्त निर्वाचनमा भन्दा आगामी निर्वाचनमा ६ सय मतदाता बढी रहेको बताउनुभयो । स्थानीय तहको निर्वाचनयता मृत्यु भएकाहरु तथा दोहोरो नामावली भएकाहरु लाई हटाइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले निर्वाचनमा जिल्लाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिने बताउनुभयो । वर्गीकरण अनुसारको सुरक्षा रणनीति तय गरेर निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन आफूहरूले तयारी गरिरहेको उहाँको भनाई छ ।