प्रहरीकै संलग्नतामा कारागारमा लागुऔषध ओसारपसार, प्रहरी हवलदारसहित २ जना पक्राउ

0
Shares

धनगढी।

कैलालीस्थित कारागारमा लागुऔषध ओसारपसार गरेको आरोपमा २ जना समातिएका छन्। कारागारभित्र लागुऔषध ओसारपसार गरेको आरोपमा एक प्रहरी सहायक हवलदारसहित २ जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले ३१ असोजमा धनगढी उपमहानगरपालिका–७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका-६ बस्ने ३३ वर्षीय यादव कुमार चौधरीको बयानका आधारमा प्रहरी सहायक हवलदारलाई पक्राउ गरिएको जनाएको छ। कारागारमै कार्यरत हवलदार अपिल भाट पक्राउ परेका हुन्।

चौधरीको बयानपछि प्रहरी सहायक हवलदार भाटलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले बताए।

कारागारका कैदीबन्दीका लागि लागुऔषध ओसारपसार गर्ने गरेको आरोपपछि पक्राउ परेका भाटलाई निलम्बन पनि गरिएको छ। उनीमाथि अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए।

सुदूरपश्चिम प्रदेश अनुसन्धान व्युरोको टोलीले लागुऔषधसहित से ३ प २६८० नम्बरको मोटरसाइकलमा भारतबाट लागुऔषध ल्याउदै गरेको अवस्थामा पक्राउ गरेका चौधरीले प्रहरी समक्ष उक्त लागुऔषध कारागारमा रहेका कैदी सन्तलाल डगौराका लागि ल्याएको बयान दिएका थिए।

सोही क्रममा चौधरीले कारागारमा रहेका प्रहरी सहायक हवलदार भाटमार्फत चौकिदार वसन्त बुढा र सन्तोश शाही हुँदै डगौरासम्म पुगाउने गरेको बयान दिएपछि उनीहरु अनुसन्धानमा तानिएका हुन्। बुढा र शाहीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।