निर्वाचन प्रचार प्रसारको थलो ‘विद्यालय’

0
Shares

काभ्रे।

मसिंर ४ गते हुने निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले पालना गर्नु पर्ने आचार संहिता उल्लंघन गर्ने क्रम तीब्र छ । आचार संहिता कार्यान्वयन गर्ने निकायमा मौखिक बाहेक लिखित उजुरी परेको छैन ।

‘कतै कतै राजनीतिक दल र उम्मेदवार तथा अन्य निकायबाट निर्वाचन सम्वन्धी जारी आचार संहिता उल्लंघन भएको मौखिक उजुरी आएको छ’– निर्वाचन आचार संहिता अनुगमन समितिका संयोजक एवं कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेका प्रमुख हेमन्तराज निरौलाले भन्नुभयो–‘जस जसले मौखिक उजुरी गर्नु भएको छ उहाँहरुलाई लिखित उजुरी लिएर आउनु भनेका छौं । शुक्रबार दिउसोसम्म जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र आचार संहिता अनुगमन समितिको कार्यालयमा लिखित उजुरी दर्ता भएको छैन ।’ मौखिक उजुरीका आधारमा आचार संहिताको पालना गराउन सरोकारवाला निकायलाई अनुरोध गरेको उहाँले बताउनु भयो ।

दल तथा उम्मेदवारहरुले निर्वाचन आचार संहिता विपरित विद्यालयहरुमा राजनीतिक कार्यक्रम गर्न थालेका छन् । पनौती नगरपालिका वडा नम्वर ८ स्थित डिहिकाचौर स्थित नेपाल सरकारद्वारा संचालित ज्वालामुखी इङ्गलिस प्राईमरी स्कुलमा गठवन्धन दलको कार्यक्रम आयोजना गरी सोही विद्यालयमा राखिएका पर्चा, पम्लेट तथा तुल ब्यानर ७ दिन हुँदा समेत निकालिएको छैन । विद्यालय परिसरमा राखिएका ब्यानरहरुले राजनीतिक दलहरुलाई नै गिज्जाईरहेको छ। तर, पनि गठवन्धनमा रहेका दलहरुले उक्त ब्यानर हटाउने प्रयास गरेका छैनन् ।

बेथान्चोक गाउँपालिका वडा नम्वर ३ को सामुदायिक भवनमा नेपाली काँग्रेस र नेकपा एमालको झण्डा राखिएको छ । कार्यक्रम सकिए पछि दलहरुले हटाउनु पर्ने झण्डा हटाएका छैनन । सोही पालिकामा गठवन्धन दलका उम्मेदवाहरुले निर्वाचन चिन्ह सहित २५ भन्दा धेरै ब्यक्तिहरुको सहभागितामा भेटघाट कार्यक्रम गरिरहेको निर्वाचन आयोगमा मौखिक उजुरी प्राप्त भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन आयोगमा काभ्रे बहुमुखी क्याम्पसमा उम्मेदवार बोलाएर आयोजना गरिएको कार्यक्रमको पनि मौखिम उजुरी गरेको छ । संयोजक निरौला र जिल्ला निर्वाचन अधिकारी उमेश राईले काभ्रे बुहमुखी क्याम्पसमा एउटा दलको उम्मेदवार बोलाएर क्याम्पसले आचार संहिता विपिरत कार्य गरेको मौखिक उजुरी प्राप्त भएको बताउनु भयो । सोही क्याम्पसका क्याम्पस प्रमुख केजी भनिने कृष्णगोपाल बैदार स्वंय उम्मेदवारहरुलाई सामाजिक संजाल मार्फत समेत भोट मागिरहेका छन् । निर्वाचन आयोगले शिक्षक, प्राध्यापक, कर्मचारीहरुलाई उम्मेदवारको पक्ष विपक्षमा लाईक, कमेन्ट नगर्न र टिका टिप्पणी नगर्न निर्देशन दिएको भए पनि उनी एक पक्षीय प्रचारमा ब्यस्त छन् । हुन त उनी विद्यार्थी ठगी अभियोगका केही समय फरार ब्यक्ति हुन् । अदालतले पक्राउ आदेश जारी गरे लगत्तै हाजिर हुन पुगेको क्याम्पस प्रमुख बैदार धरौटीमा छन् ।

राजनीतिक पहुँचका आधारमा पटक पटक मुद्दाको पेशी सारिरहेका बैदार आफै कानुन ब्यवसायी समेत हुन् । छिमेकमा समेत मुद्दा गरेर मात्रै बस्ने बैदारले यस अघि नक्कली जग्गा खरिद विक्री प्रकरणमा समेत पक्ष लिएका थिए । विदेशमा भएका नेपालीको जग्गा विक्री अभियोगमा बैदार अभियुक्त जोगाउने प्रपञ्चमा थिए । बैदार जस्तै अन्य शिक्षक कर्मचारीहरु पनि दल तथा उम्मेदवारको प्रचार प्रसारमा ब्यस्त छन् ।

जिल्लाका अन्य स्थानमा पनि निर्वाचन आचार संहिता विपरित गतिविधि सबै दल र उम्मेदवारहरुले गरिरहेका छन् । आचार संहिताको अनुगमन र पूर्ण पालानाका लागि निर्देशन दिने कार्य निरन्तर भईरहेको भए पनि कत्तिक १६ गते देखि स्थलगत अनुगमनमा जाने संयोजक निरौलाले बताउनु भयो ।