आरजुले छाडेको चुनावी मैदानमा त्रिपक्षीय महाभिडन्त

0
Shares

धनगढी।

संसदीय निर्वाचन घोषणासँगै चर्चामा रहेको क्षेत्र हो कैलाली निर्वाचन क्षेत्र नम्बर ५। निर्वाचन घोषणापछि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले आफू यही क्षेत्रबाट चुनाव लड्ने बताउनुभएको थियो।

प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट उहाँको नाम एकल रुपमा सिफारिस पनि भएको थियो। तर, उहाँले पछि एकाएक स्वास्थ्य समस्याको कारण देखाउँदै प्रत्यक्ष चुनाव नलड्ने घोषणा गर्नुभयो। ‘ढाडको समस्याले चिकित्सकले मलाई बेड रेस्ट गर्न सुझाव दिनुभएकाले कैलाली–५ बाट अगामी चुनाव लड्न नसक्ने हुँदा समानुपातिक रोजेँ,’ उहाँले भन्नुभएको थियो। उहाँले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ छोडेर समानुपातिकमा बस्ने निर्णय लिनुएको हो। उहाँ अहिले डडेल्धुराबाट प्रतिनिधि सभामा समानुपातिकतर्फको उम्मेदवार हुनुहुन्छ। उहाँले आफ्ना स्वकीय सचिव प्रकाश देउवालाई भने यही क्षेत्रको प्रदेशसभा (२) मा टिकट दिलाएर चुनावी मैदानमा खडा गर्नुभएको छ। यी यस्तै यस्तै राजनैतिक घटनाक्रमले कैलाली क्षेत्र नम्बर ५ चर्चाको केन्द्रमा तानिएको हो।

आरजुले यहाँबाट छोडर चुनावी मैदान खाली भएपछि सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्यका लागि डिल्लीराज पन्तलाई उम्मेदवार बनाएको छ। उहाँलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको सर्मथन छ। पन्त २०७४ सालमा कैलाली–५ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो।

यस्तै एक्लै चुनावमा होमिएको नेकपा एमालेले नारदमुनि रानालाई फेरि उम्मेदवार बनाएको छ। पूर्वमन्त्री समेत रहनुभएका उहाँ गत संसदीय निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। उहाँले त्यसबेला नेपाली कांग्रेसकी आरजु राणा देउवालाई पराजित गर्नुभएको थियो।

त्यस्तै पन्त र रानालाई चक्मा दिंदै जित निकाल्ने घोषणा गरेका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा पनि शसक्त उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएको छ। उहाँ यस क्षेत्रको नेपाली काँग्रेसको पुरानो नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री हुनहुन्छ ।

२०३४ सालमा कक्षा ८ मा त्रिनगर माध्यमिक विद्यालय धनगढीमा पढ्दै गर्दा नेपाल विद्यार्थी संघको राजनीतिबाट सक्रिय भएका पुष्करनाथ २०५६ सालको उपनिर्वाचनमा निर्वाचित हुनुभएको थियो। निर्वाचितपछि उहाँ त्यही बेला राज्यमन्त्री बन्नुभएको थियो। तर, २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा काँग्रेसकातर्फबाट नेतृ आरजु राणा देउवालाई असहयोग गरेको आरोप लागेका कारण काँग्रेसबाट ओझालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिएको थियो। कारबाही फुकुवा नभएपछि ओझाले स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिनुभएको छ। उहाँलाई पनि बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि १० जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ। यहाँ गठबन्धनबाट काँग्रेसका डिल्लीराज पन्त, नेकपा एमालेबाट नारदमुनि राना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट इश्वरी विष्ट, नेपाल मजदुर किसान पार्टीबाट नन्दाकुमारी दर्लामी मगर र लोकतान्त्रिक समाजवादीबाट दानबहादुर विश्वकर्मा चुनावी मैदानमा छन्।

यस्तै पुष्करनाथ ओझा, गगनबहादुर धामी, जगदीश चौधरी, रामबहादुर सिंह र सत्यराज उपाध्यायले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। तर, यो क्षेत्रमा मुख्य तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यहाँ प्रतिनिधिसभा सदस्यमा एमालेका नारदमुनि राना, गठबन्धनका डिल्लीराज पन्त र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाबीच प्रतिस्पर्धा हुने देखिएको हो। उहाँहरु यतिबेला आफ्ना एजेण्डा लिएर संगठन परिचालन गर्न र मतदाता रिझाउन घरदैलोमा व्यस्त हुनुहुन्छ

जित्ने आ-आफ्नै दाबी

२०७४ मा काँग्रेसलाई पराजित गरेका एमालेका राना दोस्रो कार्यकालका लागि खटिनुभएको छ। रानाले आफू चुनाव जित्नेमा ढुक्क रहेको दाबी गनुभएको छ। उहाँले विकास, समृद्धि र राष्ट्रियताको रक्षाका लागि नेकपा एमालेले जित्नुपर्ने र पार्टीले आफूलाई उम्मेदवार बनाएको बताउदै मतदाताले जिताउने दाबी गर्नुभएको हो। “अहिले हामीले धेरै भनिरहनु पर्ने अवस्था नै छैन। एमालेले उठाएका मुद्दालाई मात्रै हेरेर पनि जनतालाई हामीलाई ढुक्कसँग जिताउँछन् भन्नेमा हामी विश्वस्त छौँ। विकास, समृद्धि र राष्ट्र र राष्ट्रियताको रक्षाका लागि नेकपा एमालेले जित्न जरुरी छ, मैले यो क्षेत्रमा विकास निर्माणकाका थुप्रै काम गरेको छु, जनताले मलाई फेरि जिताउँछन्।’ उहाँले भन्नुभयो।

यस्तै कांग्रेसका तर्फबाट गठबन्धनका साझा उम्मेदवार पन्तले पनि आफू जित्ने दाबी गर्नुभयो। उहाँले बलियो संगठन र जनमत आफ्नो पक्षमा रहेकाले चुनाव जित्न सहज भएको बताउनुभयो। “हाम्रो संगठन बलियो छ, जनाधार पनि छ, चुनावमा उठेका सबै उम्मेदवार मेरालागि उत्तिकै प्रतिस्पर्धी हुन् तर मतदाताले गठबन्धनलाई नै जिताउने छन्।’

यता, सत्ता गठबन्धन र नेकपा एमालेलाई टक्कर दिने भनिएका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले पनि चुनाव जित्न ने मैदानमा उत्रिएको दाबी गर्नुभएको छ। उहाँले आफू जित्नेमा ढुक्क रहेको दाबी गर्नुभयो। “म धनगढी र धनगढीवासीको आत्मसम्मान र विकासका लागि मत माग्दै छु, दलहरू जनताका सम्पत्ति हुन्। तर केही वर्षयता व्यक्तिगत सम्पत्ति भए, त्यसैले दलसँग जनता रूष्ट छन्,’ उहाँले भन्नुभयो, “कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को समग्र विकास र आत्मसम्मानका लागि मतदाताले मलाई भोट हाल्छन् र म चुनाव जित्छु।’

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका २ वडासहित २१ वडा रहेका छन्। गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवार अहिले चुनाव प्रचारप्रसारमा छन्। उहाँहरु सबै वडामा सम्पर्क कार्यालय खोल्न, समर्थक भेटघाट तथा संगठन परिचालनका लागि रणनीति बनाउन व्यस्त देखिनुभएको छ।