सरकार अब नागरिकको अवस्था परिवर्तन गर्ने योजना बनाएर अघि बढ्छ : गृहमन्त्री खाण

0
Shares

बुटवल।

गृहमन्त्री बालकृष्ण खाणले अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्न याेजना बनाएर अघि बढ्ने बताउनुभएको छ । नेपाल महिला संघ बुटवल उपमहानगरपालिका १५ ले सोमबार सेमलारमा गरेको कार्यक्रममा लामो संघर्षपछि राजनीतिक व्यवस्था परिवर्तन भए पनि अहिलेसम्म नागरिकको अवस्था परिवर्तन गर्न नसकिएको बताउनुभयो ।उहाँले अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने योजना ल्याउनमा ध्यान केन्द्रित गर्ने बताउनुभयो ।

मंसिर ४ गतेको निर्वाचनमा रुपन्देही ३ बाट पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनु भएका गृहमन्त्री खाणले नागरिकको अवस्था परिवर्तन गर्न बलियो सरकार आवश्यक हुने बताउनुभयो । निर्वाचनमा बलियो सरकार बनाउने गरी सिट जित्नका लागि पाँच दलीय गठबन्धन गरिएको उहाँको भनाइ थियो ।

कर्णाली, दलित, महिला, जनजाति र मधेसीको हक अधिकारका बारेमा संसद्मा वकालत गर्न कानुनमै उनीहरूकाे निश्चित सिट छुट्टाइएकोले संविधानसभाबाट जारी संविधान समावेशीताको हकमा उत्कृष्ट रहेको बताउनुभयो ।

कार्यक्रममा विष्णुमाया शर्माको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचनमा महिला परिचालन समिति बनाएको घोषणा गरियो । समितिका पदाधिकारी र सदस्यलाई गृहमन्त्री खाणले निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन क्रियाशील हुन आग्रह गर्नुभयो ।