गालीको महापर्व बनाइँदै चुनाव

0
Shares

गरिब देशका लागि चुनाव एक प्रकारले पर्व नै हो । अझ यो हाम्रोजस्तो न्यूनाधिक चेतना भएको मुलुकमा त सपनाको बेपार सबैभन्दा धेरै हुने गर्छ । निष्पक्षरूपमा भन्ने हो भने, यतिखेर राजनीतिमा क्रियाशील भएका नेपालका कुनै पनि पार्टीका नेताहरूमा केही अपवादका नेताहरूलाई छाडेर आफू क्रियाशील पार्टीका तर्फबाट चुनावमा टिकट पाएर जितेका खण्डमा पाँच वर्षमा यी–यी कामहरू गर्छु भन्ने खालको मिसन, भिजन र गोल पटक्कै देखिएको छैन ।

चुनावमा पार्टीले टिकट दिइहाल्छ, जिल्लामा आफ्नो पकड र संगठन विपक्षी पार्टीको भन्दा राम्रो छ, साथै गाउँ÷शहरमा बस्ने कृपण मानसिकताका, फाइदामुखी र अर्धचेतना भएका साना नेता र कार्यकर्ताहरूका बलबुताबाट चुनाव जितेर शहर पसेपछि पाँच वर्ष कटाउन कुनै माथापच्ची गर्नु नै पर्दैन भन्ने ओेभर कन्फिडेन्ट नेताहरूमा हाबी भएको पाइन्छ । त्यसैले हरेक चुनावमा यहाँ सबैजसो राजनीतिक पार्टीले मनी, मसल्स र माउजरको मनग्गे प्र्रयोग गर्दछन् । विगतका चुनावहरूले मतदाताहरूलाई यही पाठ पढाएर गएका छन् ।

डरलाग्दो कुरा त यहाँका सबैजसो पार्टीका सभापति, अध्यक्ष वा सुप्रिमोहरू देशमा खोलिएका नाफामुखी बीमा कम्पनीका सीईओजस्ता देखिएकाले विकासमुखी, आफ्नो भाग्य र भविष्यलाई देशमै अजमाउन चाहने तथा निष्पक्ष भोटरहरू भने चुनावका अनेक माहोलमा समेत खिन्न छन् । पार्टी सञ्चालनका शैली, महाधिवेशनमा यिनले देखाएका उम्मेदवार चयनका तौरतरिका र पार्टी जीवनमा देखिने यिनका जिम्मली प्रवृत्तिले गर्दा तिनका पार्टीहरू आईपीओ जारी गर्ने कम्पनीजस्ता लाग्न थालेका छन् ।

यसपटकको चुनावी महोल केही फरक शैलीमा अघि बढिरहेकोे देखिन्छ । ओलीलाई हराउने ध्याउन्नमा लागेका दीपककुमार पाठक उर्फ युग पाठक यतिखेर अधिक चर्चा र चासोका केन्द्रमा देखिन्छन् । उनी लोभानीपापानी केही नराखीकन हाकाहाकी नै भन्छन्– ‘ओलीका कारण राजनीतिमा युवा पुस्ताको वितृष्णा बढेको छ, ओली खराब राजनीति गर्छन्, त्यसैले उनको राजनीतिमाथि हस्तक्षेप गर्न मैले उम्मेदवारी दिएको हुँ ।’ उनीमात्र आलोच्य भएका होइनन् । यतिखेर काम चलाउ हैसियतमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउनका लागि युवा इन्जिनियर सागर ढकाल डडेलधुरामा जोडबलले लागिरहेका छन् । चुनावमा हारजीत जे भए पनि उनको साहस अन्य देशैभरिका युवाहरूका लागि रहरलाग्दो भएको छ । जसले जहाँबाट जसलाई सक्छ आजको समयको माग भनेको काउन्टर दिने हो, समर्पण गर्ने होइन ।

उता युवावयका एमाले नेता विष्णु रिजाल भन्छन्– ‘चुनाव प्रचार त आ–आफ्नो एजेन्डामा हुुनुपर्ने हो । तर, सत्तारुढ गठबन्धनसँग देश निर्माणको कुनै एजेन्डा नै छैनन् र हरेक नेता नेकपा एमाले र अध्यक्ष केपी ओलीलाई गाली गर्नमा प्रतिस्पर्धा गरिरहेका छन् । हाम्रो चुनौती छ– हिम्मत छ भने आफ्नो भाषणमा केपी ओलीको नाम नलिएर पाँच मिनेट बोलेर देखाऊ त ।’ रिजालले यसो भने पनि केपी ओलीले समेत प्रचण्ड र माधव नेपाललाई गाली गरेरै राजनीति धानेका छन् । यति कुरा बोल्नका लागि अब कुनै आइतबार कुरिरहनै पर्दैन । तराजुको पल्लामा राखेर जोख्ने हो भने केपी ओली, प्रचण्ड, झलनाथ र माधव नेपाल बराबरी भारी लाग्छन् बरू तै बिसेक शेरबहादुर देउवा गाली महात्म्यमा यी चार नेताहरूका लहरमा पर्दैनन् ।

अहिले सत्तामा रहेका वा हिजो कुनै पनि बेला सत्ताको तर मार्न पल्केका बूढा नेताहरूले चुनावलाई सिर्जनात्मक बनाउने ह्याउ र हुती राख्न सकेनन्, यो गम्भीर सत्य हो । चुनावैपिच्छे मतदाताका अभिलाषा र जनताका सपनाहरू नयाँ–नयाँ शैली र ढंगले बढेका बढ्यै छन् तर हाम्रा नेताहरू भने उही पुरातन तालमै भ्यागुताले आफू बसेको आहाललाई नै संसार ठानेर मख्ख परेझैँ परेका छन् । यो उनीहरूको आत्मरति हो । सपना देख्ने नेताहरूचाहिँ कम भएका तर आत्मरतिमा रमाउने नेताहरू ज्यादा भएको देश हुनाले नै यो मुलुकले नराम्ररी दुःख पाएको हो ।

अहिले मुलुकलाई आफैँले आफ्नो जुनसुकै प्रकारको भए पनि चुनावी घोषणापत्र लेख्ने नेताको खाँचो रहेको छ । घोषणापत्र आफैँ लेख्ने स्थानीय चुनावका उम्मेदवार र पछि विजयश्रीको माला पहिरिने जनप्रतिनिधिहरू क्रमशः हर्क साम्पाङ, बालेन र गोपी हमाल उनीहरू आफैँले लेखेको घोषणापत्र अनुसार भटाभट कामहरू गर्दै छन् तर अन्य जनप्रतिनिधि कि अर्कैले लेखिदिएको घोषणापत्र देखाउँदै मख्ख छन्, कि आफूलाई केही थाहा नभएर कुहिरोको कागझैँ रुमल्लिँदै छन् । उम्मेदवार आफैँले आफ्नै हातले चुनावका घोषणापत्रहरू लेख्नुपर्ने रहेछ तब मात्र जनताले वास्तविक रूपमा विकास र परिवर्तनका दृश्यहरू देख्न पाउने रहेछन् । यो स्थानीय चुनावले हामीलाई सिकाएको पाठ हो ।

अहिले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीजस्ता पुरातन शैलीमा राजनीति गरिरहेका वा सत्ताको चास्नीमा पटक–पटक बसेर सुविधा हजम गरिरहेका पार्टीहरूले मतदाताहरूलाई झुक्याउनकै लागि ढाँटका पुरियाहरू बनाउन विशेषज्ञको जम्बो टोली नै बनाएर घोषणापत्र लेखी बाहिर ल्याउँदै छन् । यो मुलुकमा जबदेखि चुनाव हुन थाले ती सबै चुनावी घोषणापत्रहरूलाई मिलाएर एउटा ठूलो सङ्ग्रह बनाउने हो भने आकर्षक कलेबर भएको किताबी ठेली बन्नेछ, जसमा सपनाका शहरहरू, मोनो, मेट्रो रेल, बग्रेल्ती जनमार्ग, अन्तर्राष्ट्रिय हवाई मैदान, भ्यु टावर र थरीथरीका स्मार्ट सिटी भएका पुस्तकको रमाइलो दस्तावेज नै बन्नेछ तर ती कुराहरू जनताले हाताहाती लिने र खान नमिल्ने खालका रहेछन् ।

यतिखेर त जनतालाई उत्पादनसँग जोड्ने र समग्रमा देशको उत्पादन वृद्धि गर्ने खालका सिर्जनात्मक सोच भएका नेताहरूको खाँचो छ । त्यो कुरा यी पुराना दलका पाँच नेताहरू देउवा, प्रचण्ड, ओली, माधव र झलनाथबाट अब हुने छाँटकाँट देखिएन । त्यसैले आउँदो सरकारमा कि त गगन थापा र विश्वप्रकाश शर्माजस्ता भिजनरी युवाको नेतृत्व हुनुप¥यो, कि त प्राविधिक जनशक्तिको बाहुल्यता भएका युवाको सरकार हुनुप¥यो । नेपालमा राजनीतिक क्रान्तिको पटाक्षेप भएर आर्थिक क्रान्तिको युग थालनी भैसक्दा उही पुरानै नेता र कार्यकर्ताहरूको हालीमुहाली भएको देख्दा युवाहरूको मुखमा अमिलो पानी आएर बोर फिल गर्छन् । सकी-नसकी आर्थिक जोहो गरेर विदेश जान्छन् । अहिलेका युवाको र देशको नियति समान छ । जुन घामजत्तिकै छर्लङ्ग छ ।

गत स्थानीय चुनावमा नेपाली कांग्रेसकी नेतृ आरजु देउवाले डडेलधुरामा गएर कांग्रेसका पक्षमा चुनावी सम्भाषण गर्दा सचेत मतदातालाई समेत रनभुल्ल पार्ने गरी ‘नेपाली कांग्रेसलाई भोट दिएर चुनाव जिताउने हो भने वैदेशिक रोजगारीमा जानेलाई फ्री भिसा र फ्री टिकटमा छानी–छानी विदेश पठाउने’ जस्तो हास्यास्पद र केटाकेटी आश्वासन जो दिइन्, यो शैली भनेको वास्तवमा सचेत मतदाताहरूलाई समेत इमोसनल ब्ल्याकमेलिङ गरेको अवस्था हो । पढेलेखेकी नेताले यस्तो प्रकारको घटिया सोच राखेर चुनावमा मतदातालाई झुक्याउने गरेको योभन्दा अघि शायदै कहिल्यै देखिएको थियो । युवालाई विदेश पठाउनु भनेको देशलाई झन्–झन् भड्खालामा हाल्नु हो ।

युवाशक्तिको खाँचो हाम्रोजस्तो देशलाई अति छ । यहाँका बाँझा खेतबारी र पाखाहरूमा युवाहरूको जोश, जाँगर र पसिना मिश्रित ऊर्जालाई उपयोग गर्न सकियो भने देश केही दशकमै विकसित हुन्छ । यस्तो कुरा अबका चुनावमा प्रतिज्ञापत्रका रूपमा आउनुप¥यो । जुन स्वतन्त्रले यस्ता कुरा लेखेर चुनाव जितेपछि पु¥याउन सक्छन्, तिनीहरूलाई अर्कोपल्ट समेत जनप्रतिनिधिका रूपमा चुनेर पठाउनुको कुनै विकल्प हुँदैन । जुन–जुन पार्टीले आफ्ना प्रतिबद्धतापत्रमा लेखेर पनि पु¥याउन सक्दैनन् तिनीहरूलाई जनताले मुद्दा हालेर पछि फिर्ता बोलाउन सक्ने प्रावधान अब संविधानमा नहाली जनताले सुख नपाउने भए ।

तर दुःखको कुरो अहिले यतिखेर प्रादेशिक र संघीय प्रतिनिधिसभाको निर्वाचनलाई महा गालीपर्वका रूपमा मनाइँदै छ । प्रचण्ड यतिखेर एमालेरूपी उनको पहिलाको घर ध्वस्त पारेर कांग्रेससँगको रिलेसनसिपमा छन् । उनलाई माधव नेपाल र झलनाथ खनालजस्ता पाका एमालेका पूर्वनेताले साथ दिएका छन् । लगलग ती दुई नेताको विचार, कार्यशैली र सोच पनि समसामयिक नेपाली राजनीतिक बजारमा तुरिन थालेको अनुभूति भैरहेको छ । अहिले प्रचण्डले नेपाल र खनाललाई विश्वासमा पारेजस्तो गरेर कांग्रेससँगको गठबन्धनमा चुनावमा गएको अभिनय गरिरहेका छन् तर नजाने भोलि उनले भनेजस्तो चुनावी परिणाम कथंकदाचित आएन भने उनी फेरि एमालेसँग सत्ता प्राप्तिका लागि नाता जोड्न सक्छन् । उनी वर्तमान समयमा सबैभन्दा शक्तिशाली तर सबैभन्दा बढी अस्थिर नेताका रूपमा चिनिएका छन् । यो कुरा अहिले विकसित भएका केही राजनीतिक घटनाक्रमहरूले समेत देखाइरहेका छन् ।
काम चलाउ सरकारले चुनावी गठबन्धन गर्न करिब २ महिनाजस्तो बैठक बस्दासमेत उपेन्द्र यादवको जनता समाजवादी पार्टीलाई टिकटमा चित्त बुझाउन नसक्दा त्यो पार्टी गठबन्धनबाट उम्कियो । यसरी सत्ता गठबन्धन भर्सेज विपक्षी गठबन्धनमा बाँडिएर अहिले पार्टीहरू चुनावमा गइरहेका छन् । यिनीहरूका अलावा सिके राउतको जनशक्ति पार्टी र नारायणमान विजुक्छेको नेपाल मजदुर किसान पार्टीचाहिँ आफ्नो स्वत्व र पहिचान बचाउँदै अलग्गै आफ्नो बलबुतामा चुनावमा गए । बरू यिनीहरूले मतदाताहरूलाई ढाँटेका छैनन् । चुनाव नै लोकतन्त्रमा त्यस्तो निष्पक्ष कसी हो जसले उम्मेदवार र पार्टीको नाडी छाम्ने काम गर्छ । बाद बाँकी भनेका त देखावटी हुन् ।
यतिखेर राप्रपाबाट उपाध्यक्ष रवीन्द्र मिश्र, अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, स्वतन्त्रबाट युग पाठक, स्वतन्त्र राष्ट्रिय जागरण अभियानका स्वागत नेपाल, स्वतन्त्र युवा सागर ढकाल, विवेकशील पार्टीका रञ्जु दर्शना, मिलन पाण्डे र केही पार्टीगत उम्मेदवारहरूकै समेत चर्चा उधुमै चलेको छ । यहाँनेर उठाउन खोजिएको कुरो के भने, पुराना पार्टीका पुराना नेताहरूले जुन तबरले एक–अर्का पार्टीका नेता र उनीहरूले गरेका कामलाई लक्षित गरी गालीगलौजको भाषामा चुनावी सभामा भाषण गरिरहेका छन् त्यसले झन्–झन् युवा मतदाताहरूलाई बिच्क्याउने काम गरेको छ । हामीले यो कुरा स्थापित नेताहरूलाई बुझाउन सकेनौं कि युवा मतदाताहरू तरल सोचका र परिवर्तनका लागि झट्टै प्रभावमा आउने हुन्छन् । यो चुनावमा करिब ७० लाख मतदाताहरू युवा भएको तथ्याङ्कले देखाएको छ । यस्तो अवस्थामा जुनसुकै पार्टीहरूले पनि युवाहरूलाई चौतर्फीरूपमा सम्बोधन हुने खालका कार्यक्रमहरू ल्याउन नसक्ने हो भने अबका चुनावी परिणामहरू पुराना पार्टीका हातबाट नफुत्केलान् भन्न सकिन्न ।