प्रधान सेनापति र संयुक्त राष्ट्रसंघको महासचिवका सैनिक सल्लाहकारबीच भेटघाट


काठमाडौं । प्रधान सेनापति र संयुक्त राष्ट्रसंघको महासचिवका सैनिक सल्लाहकारबीच भेटघाट भएको छ । आज (आइतबार) प्रधान सेनापति महारथी प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघको महासचिवका सैनिक सल्लाहकार जनरल बिरामे डिओपबीच भेटघाट भएको हो ।

उनीहरूको भेटघाट सैनिक जङ्गी अड्डामा भएको नेपाली सेनाले जनाएको छ । संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा नेपाली सेनाले आयोजना गरेको दुई दिने विशेष कार्यक्रममा सहभागी हुन डिओप आजै नेपाल आएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपत्यका पृतना हेडम्वाटरका पृतनापति उपरथी श्री योगराज शर्माले स्वागत गरेका थिए । प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानका साथै भविष्यमा समेत नेपाली शान्ति सैनिकको आवश्यकता तथा सहभागिताको बारेमा छलफल भएको थियो ।

उक्त छलफलका क्रममा जनरल बिरामे डिओपले नेपाली शान्ति सैनिकहरूले विभिन्न शान्ति मिशनमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यसको निरन्तरता हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी प्रधान सेनापति महारथी शर्माले संयुक्त राष्ट्रसंघबाट हालसम्म प्राप्त सहयोग तथा अवसरको लागि डिओपलाई धन्यवाद दिनुका साथै यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । त्यस्तै नेपाली सेना अझ पेशेवर रूपमा प्रभावकारी ढंगबाट शान्ति मिशनमा खटिने कटिबद्धता व्यक्त गरेका थिए ।

संयुक्त राष्ट्रसंघ मुख्यालयबाट भएको यस किसिमको उच्चस्तरीय भ्रमण तथा भेटघाटले नेपाल तथा नेपाली शान्ति सैनिकले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानको अन्तर्राष्ट्रिय जगतबाट उच्च मुल्यांकन भएको विश्वास नेपाली सेनाले लिएको छ ।