कोभिड–१९ विरुद्धको १० करोड डोज खोप ‘डम्प’

0
Shares

काठमाडौँ।

कोभिड–१९ विरुद्धको भारतीय खोप निर्माता कम्पनी सीरम इन्स्टिच्युट अफ इन्डियाको १० करोड डोज खोप ‘डम्प’ गर्नुपर्ने बताइएको छ । भण्डारण गरिएका खोपको म्याद सकिएका कारण ‘डम्प’ गर्नु पर्ने भएको उक्त कम्पनीले जनाएको छ ।

उक्त कम्पनीले नै झण्डै एक बर्ष अघि कोभिसिल्ड खोप उत्पादन बन्द गरेको सीईओ अदार पूनावालाले जनाएका छन् । विश्व व्यापी रुपमा फैलिएको कोभिड –१९ को प्रभाव कम हुँदै गएसँगै खोपको माग समेत कम भएको र उत्पादन बन्द गरिएको कम्पनीले जनाएकोछ । विश्वकै सबैभन्दा ठूलो खोप निर्माता कम्पनी सीरमले एस्ट्राजेनेकाको स्थानीय संस्करण भ्याक्स्जेभिरा डोज भने बनाइरहेको जनाएकोछ ।

भारतले कोभिड– १९ विरुद्धको २ अर्व डोज खोप लिएको थियो । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतीय जनसंख्याको ७० प्रतिशत बढीले कम्तीमा दुई डोज कोभिडविरुद्धको खोप लिएका छन् ।

गत जनवरीमा भारतले स्वास्थ्य सेवा र अग्रपंक्तिमा काम गर्ने कामदारहरु र ६० वर्ष भन्दा माथिका दीर्घरोगीहरुलाई बुस्टर डोज समेत दिन थालेको थियो । पछि बुस्टर डोज सबै बयस्क नागरिकलाई दिइएको थियो ।

अहिलेसम्म भारतले २९ करोड ८० लाख बुस्टर डोज खपत गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।‘बुस्टर खोपहरुको कुनै माग छैन् किनकी अहिले मानिसहरु कोभिडबाट वाक्क भएका छन्,’ सीईओ पुनावालाले भने, ‘साच्चिकै भन्नुपर्दा म पनि वाक्क भएको छु हामीसबै वाक्क दिक्क छौँ ।’ उनले भने, ‘सीरमसंग १० करोड डोज खोप मौज्दातमा थियो । जसको म्याद समाप्त हुने अवधी ९ महिनाको मात्रै थियो । गत सेप्टेम्बरमा म्याद समाप्त भयो र सबै खोप डम्प गर्नु परयो ।’ उनले पश्चिमा देशहरुले प्रत्येक वर्ष सिजनल फ्लुको खोप लिदा कोभिडविरुद्धको खोप पनि लिनसक्ने उल्लेख गर्दै भने ‘तर, भारतमा त्यस्तो संस्कृतिको विकास भएको छैन् ।’

यसैबीच सीरमले बुस्टर डोजको रुपमा कोभिड भ्याक्सिन कोभोभ्याक्सको लागि परीक्षण पुरा गरेको बताएको छ । कम्पनीले आगामी दुई साता भित्र स्वीकृति पाउने समेत अपेक्षा गरेको छ । कोभोभ्याक्सले अमेरिकी कम्पनी बायोटेकको नोभाभ्याक्ससंग साझेदारी गर्दै यो परियोजना अघि बढाएको न्यूज एजेन्सीहरुले जनाएका छन् ।