नेवाः परम्परा र शास्त्रीय मर्यादा विपरीत पञ्चाङ्गमा तोकिएका तिहारका दिनहरु



ज्योतिषशास्त्र र धर्मशास्त्र एक–अर्काका परिपूरकमा रही चान्द्र एवं सौरको समन्वयले नेवाःसंस्कृति धार्मिक, अध्यात्मिक, तान्त्रिक तथा परम्परागत सामाजिक, मौलिक सांस्कृतिक, सनातनकर्म, कृत्यादि कालमानानुसार उषाः, प्रातः, पूर्वान्हः, मध्यान्हः, अपरान्हः, सायंन्ह, प्रदोष, रात्रि, मध्यरात्रिमा मात्र होइन बेला, मुहुर्त (साइत) समेत हेरी नित्य, नैमित्तिक र काम्यकर्महरुलगायत विभिन्न पूजा, आराधना, अनुष्ठान, जप, तपादि खाई, नखाई, खुल्ला एवं गुप्तरुपमा यथासमयमा गरिन्छन् ।

जस्तो कि, रात्रिपूजाकर्महरुमा चरय्पूजा, ऐन्यापुन्हि, चथाःपूजा, लक्ष्मीपूजा, म्हपूजा, किजापूजा, थिंलापुन्हि, कालरात्रिपूजा, आदि छन् । ज्योतिर्विज्ञानका प्रणेता महर्षिहरुले सिद्ध गरिसकेका छन् कि यस अनन्त ब्रह्माण्डमय चराचर जगत्को उद्भव, पालन र प्रलय गर्ने सर्वशक्तिसम्पन्न परब्रह्म परमेश्वर काल (समय) हो । वेद, उपनिषद्, पुराणादिमा पनि काललाई नै परब्रह्म बताइएको छ ।

(क) स्वन्ति (स्वन्हुतिथि) पर्व पूजाको काल सुलं (खण्डित) गर्न नहुने बारे:

नेपालभाषाभाषी नेवाःहरुले प्रत्येक वर्ष मनाइने मौलिक संस्कृति स्वन्हुतिथि स्वन्तिपर्वको लक्ष्मीपूजा, म्हपूजा, किजापूजाका कर्महरु ज्योतिषग्रन्थ, धर्मशास्त्र, नेवाःथ्यासासपूm र कुलपरम्परानुसार सुलं नबसीकन अखण्डित रुपमा तीन दिनको पर्व नटुटाईकन निरुपित विशेषकर्मकालव्यापिन् तिथिमा धार्मिक, अध्यात्मिक एवं तन्त्रोक्त विधिविधानले लगातार (लहरै) पूजा गर्नुपर्नेमा वि.सं. २०७९ को पात्रोमा तीनदिने स्वन्तिपर्वकोे प्रथम दिन लक्ष्मीपूजा कार्तिक ७ गते सोमबार छापिएको ठीक भए तापनि भोलिपल्ट दोस्रो दिन कार्तिक ८ गते मंगलबार सूर्यास्तसँगै ग्रहणपछि कार्तिकशुक्ल प्रतिपदा तिथि प्राप्त सायन्हकाल अस्तसं स्नानशुद्धिपश्चात् कुल परम्परानुसार अमावस्यायुक्त प्रतिपदा तिथिमा बलिपूजासहित रात्रिदीपोत्सवका साथ स्वदेहआत्म म्हपूजा गरी सुखरात्रि (औंसी सकेर कछलाथ्व पारु देखिने रात्रि) मनाउनुपर्छ ।

नेवाःहरुको परम्परागत मौलिक संस्कृतिको महत्वपूर्ण क्षण बिथोलेर एकदिन टुटाउँदै पर्वखण्डित गरेर पर्सिपल्ट तेस्रो दिन कार्तिक ९ गते बुधबार किजापूजा गर्नुपर्ने दिन म्हपूजा पात्रोमा छापेर नेवाःधर्म–संस्कृति लोप गर्ने प्रयत्न भयो, जसको पञ्चांग निर्णायक समितिको सुस्पष्ट जवाफ छैन । बिहान वा मध्यान्हकालमा म्हपूजा गर्ने शास्त्रीय प्रामाणिक आधार छैन । शास्त्रीय मर्यादा विपरीत सूर्योदयकालीन केही क्षणको तिथि दिनरातभर हुन्छ भन्ने कुरो पनि ज्योतिष शास्त्रानुसार मिथ्या हो, सत्य होइन । तेस्रो दिन कार्तिक ९ गते बुधबार कार्तिकशुक्ल प्रतिपदा तिथियुक्त द्वितीया तिथिमा अपरान्ह ३ः३६ बजेदेखि दाजुभाइलाई दिदीबहिनीले हर्षोल्लासका साथ शुभसगुनसहित दाजुकिजापूजा भाइटीका कर्म शुरु गरिनुपर्छ ।

चौथो दिन कार्तिक १० गते बिहीबार तृतीया मिश्रित द्वितीयामा भाइटीका भनेर सरकारी नियन्त्रित पात्रोमा समेत छापिनु एकदम गलत र शास्त्रीय मर्यादा विपरीत छ । यस दिन नेवाःहरुद्वारा बिहान स्वांक्वकायेगु भनेर देवीलक्ष्मीको प्रसाद ग्रहण गरेर स्वन्तिपर्व समापन गरिन्छ । यसका शास्त्रसम्मत प्रमाणहरु यस प्रकार छन् ।

१. यां तिथिः समनुप्राप्य उदयं याति भास्करः । सा तिथिः सकला ज्ञेया स्नानदानजपादिष्वित्यादीनि। (धर्मसिन्धु) । अर्थात् जुन तिथि लिएर सूर्योदय हुन्छ, त्यो तिथि सामान्यतः स्नान, दान, जपादिमा लिनू ।

२. यां तिथिं समनुप्राप्य अस्तं याति दिवाकरः । तिथिःसा सकलाज्ञेया दानाध्ययनकर्मसु । (कालमाधव) । अर्थात् जुन तिथिमा सूर्यास्त हुन्छ, त्यही तिथि दानाध्ययन, कर्मादिको लागि सम्पूर्णरुपमा उपयुक्त हुनेछ ।

३. यां तिथिः समनुप्राप्य ह्युदयं याति भास्करः । सा तिथिः सकला ज्ञेया स्नानदानादि कर्मसु । कर्मणोयस्य यः कालस्तत् कालव्यापिनी तिथिः । उदये या तिथिः सातः स्नानादौ कीत्र्यते बुधैः । (कालपञ्चांगविवेकः) । अर्थात् जुन तिथिमा सूर्योदय हुन्छ, त्यो रवि आदि बारसहित पञ्चांगमा लेखिन्छन् । जुन कर्मको लागि जो काल तोकिएको छ, त्यो कालमा जुन तिथि हुन्छ, त्यही तिथिको उच्चारण संकल्पमा गरिन्छ । अतः स्नानादिमा उदयव्यापिनी तिथि गृहीत हुन्छ ।

४. तत्र कर्मणो यस्य यःकालस्तत्कालव्यापिनी तिथिग्र्राह्या । (धर्मसिन्धु) । अर्थात् जुन कर्मको जो काल हो, त्यो कर्म त्यही विशेष कालव्यापिन्तिथिमा गर्नू ।

५. कर्मणो यस्य यः कालस्तत्कालव्यापिनी तिथिः । तया कर्माणि कुर्वीत ह्र्रासवृद्धि न कारणम् । (निर्णयसिन्धुः) । अर्थात् जुन कर्मको लागि जुन काल हो, त्यो कालभर व्यापिनी तिथिमा त्यो कर्म गर्नू, तिथि बढ्नु–घट्नु कारण छैन ।

६. प्रि.डा. मंगलराज जोशीको आत्मपूजा (म्हपूजा)को महत्व र पूजाकर्मकाल वि.सं. २०४३ (पचांगपुस्तिका संख्या ६) मा पौराणिक कालदेखि चलेको म्हपूजा संवत् फेरेपछि मात्र चलाएको भन्ने कुरो हैन, म्हपूजादिन शुभदिन मानेर संवत् शुरु गरेको थियो । अतःएव म्हपूजा जुन दिन हुन्छ, प्रायः उही दिनमा नै नेपाल संवत् प्रारम्भ हुने समय भएकोले उक्त संवत्को पर्व आरम्भ भाइटीका दिन मान्नुभन्दा भाइटीकाको अघिल्लो दिन, म्हपूजादिन वर्षको पर्व मान्नु स्थायीरुपमा बढी व्यावहारिक र श्रेयष्कर देखिन्छ । साथै, कुहू औंसीपछि उही दिन त्यो सूक्ष्म चन्द्रोदय भएपछि (उदय प्रतिपदाको अघिल्लो दिन) म्हपूजा गर्नु समुचित छ । उहाँको अर्को पुस्तिका आत्मपूजा २०५५ मा औंसी उदय भएको दिनमा आत्मपूजा (म्हपूजा) गर्नु वैज्ञानिक हिसाबले उचित हुन्छ ।

(ख) स्वदेहआत्म म्हपूजा पूर्वविद्धा कार्तिकशुक्ल प्रतिपदा तिथिव्याप्त अघिल्लो सायन्हकालमा गर्नुपर्ने शास्त्रीय प्रमाणहरु ः

१. कार्तिके शुक्लपक्षे तु प्रतिपद् रात्रिव्यापिनी । तदा पूजा प्रकर्तव्या सुखरात्रिविधानतः । (कृत्यरत्नावलि, कृत्यरत्नवल्यां) । अर्थात् कार्तिकशुक्लको रात्रिव्यापिनी प्रतिपदामा विधानपूर्वक पूजा गरी सुखरात्रि मान्नू । (प्रतिपत्तिथिनिर्णयोक्त ब्राह्मः।) ।

२. प्रतिपद्यं त्वमावस्या तिथ्योर्युग्मं महाफलम् । एतव्दयस्तं महादोषं हन्ति पुण्यंपुराकृतम् । (ब्रह्मपुराण, ज्योतिर्निबन्ध) । अर्थात् प्रतिपदा अमावस्यायुक्त तिथि युग्मयोगमहाफल दिने हुन्छ, यसको उल्टो भएमा महादोष लाग्छ, पहिलेको धर्मपुण्यकार्यलाई नष्ट गर्दछ ।

३. सुखरात्रिविधान तु रात्रौ च कारयेद् बुधः । तस्मात् सर्वप्रयत्नेन कर्तव्या रात्रिव्यापिनी । वत्सरादौ बसतादौ बलिराज्य तथैव च । पूर्वविद्धैव कर्तव्या प्रतिपत् सर्वथा बुधैः । (वीरमित्रोदय) । अर्थात् सबै प्रयत्नका साथ सुखरात्रिको विधान रात्रिव्यापिनी नै लिनुपर्छ । संवत्सरको रात्रि बलिराज्यको पर्व पूर्वविद्धा प्रतिपदातिथिमा नै गर्नुपर्दछ ।

४. कार्तिके शुक्लपक्षेतु प्रथमेहनि सत्यवत् । श्रोतव्यं गीतवाद्यादिर्मनुलिप्तैर्मनोहरैः । विशेषतस्तु भोक्तव्यं प्रशस्तैर्वान्धवै सह । तस्यां निशायां कर्तव्यं शय्यास्थानं सुशोभनम् । दयिताभिश्च सहितैर्नेया सा रजनी शुभा । नवैर्वस्त्रैश्च संपूज्या द्विजसम्बन्धिवान्धवा । कार्तिकेशुक्लपक्षेतु प्रतिपद्रात्रिव्यापिनी । कर्मणोयस्ययत्कालं स्तत्कालव्यापिनी तिथिः । (ब्रह्मपुराणे, कृत्यचिन्तामणिः) । अर्थात् कार्तिकशुक्ल पक्षको पहिलो दिन गीत, संगीत आदि सुनी आफ्नो परिवारजन सबै मिली, प्रतिपदा रात्रिव्यापिनी समयमा वस्त्रादिले सुशोभित भई गर्नुपर्ने कर्म तत्काल समयमा नै पूजा गर्नुपर्दछ ।

५. लभ्येत यदि वा प्रातः प्रतिपद् घटिकाद्वयम् । चन्द्रोदय तदा कुर्यात् पूर्वेद्युः विधिपूर्वकम् । (आत्मपूजा २०५५ पृष्ठ ३।४) । अर्थात् प्रतिपदा दुई घडी छ भने अघिल्लोमा त्यो सूक्ष्मचन्द्रोदय भैसक्नाले औंसी उदय भएको दिनमा विधिपूर्वक गर्नू । (औंसी उदय भएको दिन म्हपूजा गर्नु वैज्ञानिक हिसाबले उचित हुन्छ, शास्त्रसम्मत पनि छ । )

६. शुक्लप्रतिपदपरान्ह व्यापित्वे पूर्वाग्रह्या । (युग्मवाक्यात्) प्रतिपत्संमुखी काय्र्याया भवेदपरान्हिकी, इति स्कान्दोक्तेः । शुक्ला स्यात्प्रतिपत्तिथिः प्रथमतश्चेत्सापरान्हे भवेत्, इति दीपिकोक्तेश्च । अपरान्हश्च पञ्चधाभक्ते दिने चतुर्थोभागः । तद्भावे सयान्हव्यापिनी ग्राह्या । तद्भावे तु सायान्हव्यापिनी परिगृह्यताम्, इति माधवोक्तेः । (निर्णयसिन्धुः) । अर्थात् शुक्लपक्षको प्रतिपदा अपरान्हव्यापिनी भएमा निःसन्देह अघिल्लो लिने । अपरान्हकाल पाँचभक्त दिनको चतुर्थभाग हो, यदि यो प्राप्त नभएमा सन्ध्याकाल तिथि लिनू ।

७. प्रतिपद द्वितीया मिश्रा सुखरात्रि करोतिचेत् । तस्य प्राणार्थ नाश स्यादिति जानीहि मानवः । (वीरमित्रोदय) । अर्थात् द्वितीया मिसिएको प्रतिपदा तिथिमा सुखरात्रि मनाएमा त्यसको प्राणनाश हुनसक्छ भनेर जान्नु मानव ।

(ग) ग्रहण सर्वपर्वकाल भुक्तानपछि वा नदेखिने ग्रहण बार्नु नपर्ने, संकल्पित कार्यारम्भ समापन नभएसम्म ग्रहणसूतक नलाग्ने बारे ः

पात्रोमा कार्तिक ८ गते मंगलबार कार्तिककृष्ण औंसी तिथि सायन्ह ४ः३३ बजेसम्म भई उप्रान्त कार्तिकशुक्ल प्रतिपदा तिथि शुरु भएर ४ः५२ बजेमा ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण स्पर्श भै ५ः२४ बजेसम्म सर्वपर्व ग्रहणकाल ३२ मिनेटमात्र हुने । धर्मशास्त्रले नदेखिने ग्रहण बार्नु नपर्नेे निर्देशन गरेकोले कार्तिक ८ गते मंगलबार ५ः२४ बजे सूर्यास्तपछि भित्री आत्मदेखि स्नानशुद्धि गरी अपवित्रः पवित्रो वा सर्वावस्थां गतोेपि वा । यःस्मरेत् पुण्डरिकाक्षं स बाह्याभ्यन्तरःशुचिः । आदौश्रद्धाः ततःशुचिः । स्मरण गर्दै श्रद्धापूर्वक कुलपरम्परानुसार आत्मज्ञ म्हपूजा गर्नुपर्दछ । धर्मशास्त्र प्रमाणानुसार सुलं बसेर छोड्नु, पर्वखण्डित गर्नुहुन्न ।

१. चन्द्रसूर्यग्रहणं यावच्चाक्षुष दर्शनयोग्यं तावत्पुण्यकालः । अतोग्रस्तास्तस्थलेस्तोत्तरं व्दीपांतरे ग्रहणसत्वेपि दर्शनयोग्यत्वाभावान्न पुण्यकालः । अर्थात् चन्द्रसूर्यग्रहण आँखाले देख्न दर्शनयोग्य रहुन्जेल पुण्यकाल हुने, ग्रस्तको अस्त अनन्तर अन्य स्थानमा ग्रहण भए पनि पुण्यकाल हुँदैन ।

२. चन्द्रसूर्यग्रहे नाद्यात्तस्मिन्नहनि पूर्वतः । राहोर्विमुक्तिं विज्ञाय स्नात्वाकुर्वीत भोजनम् । अर्थात् चन्द्रसूर्यग्रहण दिन प्रथम भोजन नगर्नु, तर राहु मुक्तिपछि स्नान गरेर भोजन गर्नू ।

३. सूर्येन्द्रुग्रहणे यावत्तावत्कुर्याजपादिकम् । न स्वपेन्न च भुञ्जीत स्नात्वा भुञ्जीत मुक्तयोः । अर्थात् जबतक सूर्यग्रहण, चन्द्रग्रहण हुन्छ जपादि गरिरहनू, नसुत्नू, नखानू । ग्रहणमुक्त भएपछि स्नान गरेर भोजन गर्नू ।

४. कांजिकं तक्ररं धृततैलपाचितमन्नं क्षीरंच पूर्वसिद्धं ग्रहणोत्तरं ग्राह्यम् । धृतेसन्धिते गोरसेषु ग्रहणकाले कुशांतरायं कुर्यात् । ग्रहणअघि पहिल्यै सिद्ध गरेको काञ्जी (पानीमाड आदिमा रायो, नूनादि राखेर अमिल्याएको खानेकुरो, औषधीविशेष), मठ (चिनीपानी दही मथिएको पेयपदार्थ, मही), घृत, तेल, पाकअन्न, दूध आदि ग्रहणपछि खानु पिउनुयोग्य छ र घिउ, सन्धित, गोरसमा ग्रहणको समयमा कुश राख्नू ।) परम्परानुसार ग्रहणदोष कटाउन ग्रहणअघि शास्त्रानुसार जल, भोज्यपदार्थमा धार्मिक शुद्धीकरण हेतु कुश वा तुलसी राख्ने प्रचलन रहेको छ । ग्रहणपछि, स्नान शुद्धिपश्चात् सो उपभोग गर्ने अद्यापि छ ।

५. सूर्यग्रहो यदारात्रौ दिवा चन्द्रग्रहस्तदा । तत्र स्नानं नकुर्वीत दद्यादानं न च क्वचित् । अर्थात् रात्रिमा सूर्यग्रहण, दिनमा चन्द्रग्रहण भए स्नान–दानकार्य गर्नु नपर्नेे । तर, कार्तिक ८ गते मंगलबार न दिन, न रात्रि अर्थात् दिन सकिएर रात शुरु हुने बेलुकी साँझपख सायन्हकालको अन्तिम घडीमा ग्रहण स्पर्श भई प्रदोष रात्रिको मुखैमा सूर्यास्तसँगसँगै सर्वपर्व ग्रहणकाल पनि सकिने भएकोले आत्मपवित्रता हेतु स्नानशुद्धि गरेर महत्वपूर्ण म्हपूजाकर्म गर्नुहुन्छ । म्हपूजाकर्म गर्ने बेला, साँझमा लाग्ने ग्रहणलाई पात्रोमा दिउँसो भनेर पर्वखण्डित गर्दै पर्वको क्रमभंग गर्नु शास्त्रीय मर्यादा विपरित छ ।

६. ग्रहणकाललाई सूतक मानिन्छ, तर संकल्पसहित कार्यारम्भ भैसकेपछि ग्रहण, सूतकदोष लाग्दैन भन्ने विभिन्न शास्त्रमा पाइनाले महत्वपूर्ण म्हपूजाकर्मलगायत व्रत, यज्ञ, विवाह, श्राद्ध, होम, अर्चन, खाद्यपदार्थ खानु निषेध छैन ।

७. वि.सं. २०५२ वर्षको पात्रोमा कार्तिक ७ गते मंगलबार बिहान कार्तिककृष्ण आंैसी तिथि उप्रान्त प्रतिपदा तिथि हुँदा गोबलि गाई (म्ह)पूजा, दिन प्रातः ७ः४० बजे खण्डग्रास सूर्यग्रहण भै १०ः१५ बजे मोक्ष हुँदा र ८ गते बुधबार कार्तिकशुक्ल प्रतिपदा तिथि बिहान छँदा गोवद्र्धन यम२ भ्रातृ (भाइटीका किजा) पूजा, नेपाल संवत् १११६ प्रारम्भः भनी स्वन्तिपर्व खण्डित (सुलं) नगरीकन ठीक ढंगले पात्रोमा रहेकोले अपरान्ह, सायंकालमा म्हपूजा सम्पन्न भए । तर, यो वर्षको पात्रोमा नियतवश कार्तिक ८ गते नेवाः संस्कृति पर्व बिथोल्दै म्हपूजादिन टुटाइयो ।
(घ) बलिपूजा कार्तिक ८ गते मंगलबार राति हुनुपर्नेमा पात्रोमा कार्तिक ९ गते बुधबार चन्द्रोदयपछि बलिपूजा भन्नु सरासर गलत लेखियो, शास्त्रीय प्रमाण ः

१. रात्रौ बलिपूजनम्, पूर्वविद्धैव कर्तव्या शिवरात्रिर्वले दिनम् । इति वचनात् । पूर्वविद्धा ग्राह्या । (कृत्यवाटिका) । अर्थात् राति बलिपूजा गर्ने, शिवरात्रि र बलिको दिन अघिल्लो पूर्वविद्धातिथि लिनू । यो वचन भयो । पूर्वविद्धा ग्राह्य हुन्छ ।

२. दिनद्वये प्रतिपदः सायाह्नव्याप्तभावेतु पुर्वैव । रात्रौ बलिपूजाविधाने न कर्मकालव्यापित्वात् । परदिने चन्द्रोदयन्निषेधादिति दिक् । अर्थात् दुई दिन प्रतिपदा सायन्हव्यापिनी भएमा अघिल्लो सायन्हकाल लिनू, रात्रि बलिपूजा गर्ने कर्मकालव्यापिनीमा विधिपूर्वक पूजा गर्नू, परदिन चन्द्रोदयमा हुँदैन । (सत्कर्मरत्नावलि) ।

३. वत्सरादौ वसन्तादौ बलिराज्ये तथैव च । पूर्वविद्धैव कर्तव्या प्रतिपत्सर्वदा बुधैः । (निर्णयसिन्धु) । अर्थात् वत्सर, वसन्तादि र बलिराज्यमा पूर्वविद्धा प्रतिपदा नै लिनू ।

४. वल्युत्सवंच पूर्वेद्यु रुपवास वदाचरेत् । (स्कन्दपुराण) । अर्थात् उपवासकर्म जस्तै बलिको उत्सवादि कर्म पूर्वविद्धातिथिमा गर्नुपर्छ ।

५. कृत्वैतत्सर्वमेवेह रात्रौ दैत्यपतेर्वलेः । पूजां कुर्यान्नृपः साक्षाद्भूमौ मण्डलके शुभे । बलिमालिख्य दैत्यन्दं्र वर्णकैः पंचरंगकैः । गृहस्य मध्ये शालायां विशालायां ततोर्चयत् । (पूजां करिष्यतेयोवै सौख्यस्यात् तस्य वत्सरम् ।) अर्थात् प्रतिपदामा गर्नुपर्ने जति कर्महरु छन् सबै गरिसकेपछि बेलुकी दैत्यपति बलिको पूजा पञ्चरंगको मण्डल लेखी गर्ने । जसले यो दैत्यपति बलिको पूजा गर्छ उसलाई वर्षभरिसम्म सुख हुन्छ ।
(ङ) भ्रातृपूजा शास्त्रीय प्रमाण:

१. यमद्वितीया तु प्रतिपद्युताग्राह्योत्युक्तम् । अर्थात् यमद्वितीया भ्रातृपूजा प्रतिपदा तिथियुक्त द्वितीया तिथिमा ग्राह्य हुन्छ । (निर्णयामृते) ।

२. उर्जेशुक्ल द्वितीयायांपरान्हेर्चयेद्यमम् । स्नानंकृत्वा भानुजायां यमलोकं न पश्यति । अर्थात् कार्तिकशुक्ल द्वितीयाको अपरान्ह स्नान गरेर यमको पूजा गरिएमा यमलोक देख्नुपर्ने छैन । (सत्कर्मरत्नावलि) ।

३. कार्तिकस्य सितेपक्षे द्वितीया यमसंज्ञिता । तत्रापरान्हे कर्तव्यं सर्वथैव यमार्चनम् । कार्तिकशुक्ल द्वितीयालाई यमद्वितीया भनिन्छ, यसको अपरान्हकालमा यमको पूजा गर्नुपर्छ । (भविष्य पुराण) ।
(च) नेपालभाषाका पुराना नेवाःथ्यासासपूmबहरुमा स्वन्तिबारे उल्लिखित केही प्रमाण ः

१. कार्तिक शुक्ल प्रतिपदा इन्दल सुखरात्रि जुरो । संवछल केले दिन । प्रतिपदा केल्यं जुरो । कार्तिक शुक्ल द्वितीया कुन्हु यमदुराख जुरो । कार्तिकशुक्ल प्रतिपदा प्रदोषकालमा सुखरात्रि म्हपूजा भयो । संवत्सर देखेको दिन । प्रतिपदा देखिएको भयो । कार्तिकशुक्ल द्वितीयामा यमद्वितीया भयो ।

२. लक्ष्मीपूजा अमावासि अस्तसं । कार्तिक शुक्लया सुखरात्रि धर्म पादो अस्तसं । अर्थात् लक्ष्मीपूजा औंसी सायंकालमा, कार्तिकशुक्लको सुखरात्रिधर्म प्रतिपदा सायंकालमा ।

३. आश्विनकृष्ण चतुर्दशी नरक चतुर्दशी उदयसं तैलेनं स्नान । आश्विन कृष्ण अमावासी इन्दुस मुहूर्त केल श्रीलक्ष्मी पूजा जुरो । थ्वनं संति सुखरात्रि । थ्वनं संति यम द्वितीया । प्रादोे प्रमान मखो थ्व परिपाति न । अर्थात् आश्विनकृष्ण चतुर्दशी नरकचतुर्दशी बिहान तेलियास्नान । आश्विनकृष्ण औंसी रात्रिमा मुहूर्त देखियो, श्रीलक्ष्मीपूजा भयो । यसको भोलिपल्ट सुखरात्रि । यसको भोलिपल्ट यमद्वितीया । कृष्णपक्ष प्रतिपदा प्रमाण होइन, यो परिपाटीले ।
(छ) खण्डित गर्न वा टुटाउन नहुने बारे:
स्वन्हुतिथि स्वन्तिपर्वमा लक्ष्मीपूजा आरम्भपूजा र भ्रातृपूजा प्रत्यारम्भपूजा भएकोले आरम्भको अनन्तर प्रत्यारम्भको कर्मपूजा नसकिँदै सुलं खण्डित भएमा तिथ्यादि एवं मृत्युतुल्य गलग्रह रोगविशेष दोष लाग्ने शास्त्रीय मान्यता रहनाले नेपालभाषाभाषी नेवाःहरु परम्परागत मौलिक संस्कृति स्वन्ति स्वन्हुतिथि तीनदिने अटुट कर्मपूजाहरुको बीचमा खण्डित गरिँदैन, सुलं हुँदैन, कारण आरम्भानन्तरं यत्र प्रत्यारम्भो न सिध्यति । गर्गादि मुनयःसर्वे तमेवाहुर्गलग्रहम् । नेवाः संस्कृतिमा मूलतः शुभकार्यारम्भ अनन्तर प्रत्यारम्भ नभैकन बीचमा टुटाउनु, खण्डित गर्नु, छोड्नु वा सुलं बस्न नहुने भएकोले स्वन्तिको तीनदिने कर्मपूजालाई दुई दिनमा वा चार दिनमा सम्पन्न गरिंँदैनन । मौलिक संस्कृतिको कर्मकालतिथिको नहुनेहरुको लहलहैमा बेलाबखत स्वन्हुतिथि (स्वन्ति) पर्वलाई खण्डित गर्दै टुटाउने, सुलं राख्ने वा खलबल्याउने कार्य नेवाः परम्परा, संस्कृति विपरीत छ ।
(ज) स्वदेहआत्म म्हपूजा र नेपालसंवत् बारे:
शास्त्रानुसार स्वन्तिपर्व सौरदिन गतेबाट व्यवहृत हुने नभई चान्द्रतिथि कालमानानुसार हुने हुँदा कार्तिकशुक्ल प्रतिपदा तिथि दुई घडी भए पनि अघिल्लो दिनमा त्यो सूक्ष्मचन्द्रोदय भैसक्ने हुँदा औंसी उदयमा म्हपूजा गर्नु अत्युत्तम हुन्छ । कारण, प्रतिपदातिथ्योदयकालमा सूक्ष्मशुक्लत्वको शुरु चन्द्रमामा परी शुक्लकला वृद्धि हुँदै जाने अर्थात् चन्द्रकला कत्ति नभएको औंसी (कुहू) पछि सूक्ष्मचन्द्रोदय अर्थात् चान्द्रवर्ष कृष्णपक्षकौलागा औंसी तिथिको अन्तिम घडीपला उप्रान्त नेपाल संवत् नववर्ष शुक्लपक्ष कछलाथ्व प्रतिपदातिथिको प्रथम घडीपला प्रवेश (स्पर्श) हुने क्षणमा नववर्षको ज्योतिर्गणना शुरु हुने समय सायन्हकाल (अस्तसं) नेवाःहरुले स्वन्तिपर्वको अति महत्वपूर्ण दोस्रो कर्म स्वदेहआत्म म्हपूजा गरी नववर्ष सुखरात्रि उत्सव मनाइन्छन् । तिथि घटबढको कारण म्हपूजा पुरानो वर्षमै दुईपटक प-यो कि वा कुनै वर्षमा म्हपूजा नै भएन कि भन्ने भ्रममात्र हुने हो, वास्तवमा म्हपूजा वर्षदिनमा एकपटक निश्चितरुपमा प्रतिपदा तिथि घडीपला प्रवेश (स्पर्श) हुँदा नयाँ वर्ष गणना हुँदा वास्तविक उत्सव हुने र भोलिपल्ट सूर्योदयकालीन कार्तिकशुक्ल प्रतिपदा तिथिबाट दिन गणनारम्भ हुने कार्तिक ९ गते बुधबार पनि नववर्षाेत्सव हुन्छ ।

अन्त्यमा, म्हपूजा र नेपाल संवत् भिन्न विषयलाई एउटै डालोमा राखिँदा भएको पनि पोखेर भविष्यमा नेपालभाषाभाषी नेवाःहरुकोे प्राचीनतम् ऐतिहासिक पहिचान गुम्न सक्छ, कारण करिब ५,११२ वर्षअघिको द्वापरयुगकालीन म्हपूजालाई नेपाल संवत् प्रचलनसँग जोडेर वकालत गरिँदा नेवाःहरुको करिब ७,००० वर्षअघिदेखिको इतिहास र पहिचान गुम्न सक्ने सम्भावनातर्फ पनि होस पु¥याउनु आवश्यक छ । नेपालभाषाभाषी नेवाःहरुको पौराणिक कालदेखिको सायंकालीन कर्म मौलिक संस्कृति स्वदेहआत्म म्हपूजा दिन शुभदिन मानेर प्रचलित भएको नेपाल संवत् प्रचलनपछि मात्र म्हपूजा चलेको जस्तो गरेर सांस्कृतिक प्राचीनता खलबल्याउने प्रयत्न व्यवहारमा ल्याउनु कदापि उचित होइन ।

अतः वि.सं. २०७९ कार्तिक ८ गते मंगलबार कार्तिककृष्ण आंैसी तिथि समापनसँगै कार्तिकशुक्ल प्रतिपदा तिथि शुरु हुने घडीपला अर्थात् पूर्वविद्धा कार्तिकशुक्ल प्रतिपदा तिथिमा नेपाल संवत् नववर्ष प्रवेश भई ज्योतिर्गणना आरम्भ हुने बखत बढी योग प्राप्त हुने औंसीमिश्रित प्रतिपदा तिथिको महत्वपूर्ण सायंकाल समयमा म्हपूजा गर्न छोडेर ज्योतिषग्रन्थ एवं धर्मशास्त्रीय प्रमाण र नेपालभाषाभाषी नेवाःहरुको पुराना थ्यासासफू विपरीत तीन दिनको परम्परालाई चार दिन बनाएको मात्रै होइन सायन्हकालका पर्वहहरुलाई दिउँसो भनेर कार्तिक ९ गते बुधबार परविद्धा प्रतिपदा तिथिमा म्हपूजा र १० गते बृहस्पतिबार तृतीयामिश्रित द्वितीया तिथिमा भाइटीका भनेर अशास्त्रीय, मिथ्या, गलत विवरण पात्रोमा छापिँदा गलत सूचना प्रवाह भई केहीले कार्तिक ८, ९, १० गते विना नेवाःग्रन्थ, थ्यासफू तथा ज्योतिष एवं धर्मशास्त्रीय आधार प्रमाण स्वन्ति मनाउन खोजिएकोले नेवाःहरुको प्राचीन सांस्कृतिक एकता एवं मौलिक संस्कृतिमाथि अनादिष्ट भूमिका, क्षणिक अनुत्पन्न स्वार्थान्धले प्राचीन सांस्कृतिक परम्परा बिथोल्ने हुँदा नेपाल पञ्चांग निर्णायक विकास समितिले यथाशीघ्र प्रेस वक्तव्यमार्फत संशोधनसहितको सूचना जनमानसमा प्रवाह नहुनु खेदजनक छ ।

(लेखक जोशी संस्कृतिविद्का साथै नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वसदस्य एवम् नेपाल संस्कृत विश्वविद्यालयको पञ्चांग निर्देशक समितिका पूर्वसदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्