पूर्वप्रधानमन्त्री प्रचण्डसहित दर्जन बढी उम्मेदवारलाई स्पष्टीकरण

निर्वाचन आचारसंहिता कार्यान्वयनमा कठोर बन्दै आयोग

0
Shares

निर्वाचन आचारसंहिता २०७९ को दफा १३ खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने’ व्यवस्था रहेको छ ।

काठमाडौं । 

मङ्सिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लगि आयोगले लागु गरेको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवार र सम्बन्धित संघसंस्थाप्रति आयोग कठोर बन्दै गएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन गरेका दलका शीर्ष नेता, मन्त्री र प्रधानमन्त्रीको कार्यालय तथा मन्त्रालयलाई समेत आयोगले स्पष्टीकरण सोधिसकेको छ ।

आयोगले सोधेको स्पष्टीकरणको निशानामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बिमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश कार्यालयसमेत परेका छन् ।

निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, बहालवाला मन्त्री मेटमणि चौधरी, पूर्वमन्त्री किसान श्रेष्ठलगायत नेतालाई स्पष्टीकरण सोधेको हो । त्यस्तै स्वतन्त्र पार्टी नेपालका उम्मेदवारहरू पुकार बम, शिशिर खनाल पनि आयोगको स्पष्टीकरणमा परेका छन् ।

आयोगले बिहीबार पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेसँगै जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउन समेतपत्र लेखेको छ । आयोगले हालै रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो । नेपालले फ्रि भिसा र फ्रि टिकटमा मतदातालाई विदेश पठाउने भनी वक्तव्य दिएको आयोगको पत्रमा उल्लेख छ ।

आयोगले लेखेको पत्रमा भनिएको छ– ‘उपर्युक्त सम्बन्धमा रौतहट जिल्लामा आयोजित कार्यक्रममा तपाईंले आफूले चुनाव जिते देशबाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएको, तपाईंले ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते है’ भनी सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकाले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ ।’

निर्वाचनको पूर्वसन्ध्यामा युवाहरूलाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाउने कार्य गरेको सम्बन्धमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुरोधसहित गरेको आयोगले जनाएको छ ।त्यस्तै, गरी आयोगले गत आइतबार नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ लाई स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो । गोरखामा उम्मेदवारी मनोनयन गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको भन्दै सात दिनभित्र जवाफ दिन आयोगले स्पष्टीकरण सोधेको थियो । त्यस्तै प्रधानमन्त्रीको कार्यालय, मन्त्रालयहरूसमेतलाई आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जानएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कामचलाउ भूमिकामा रहेको सरकारले दूरगामी निर्णय गरेको भन्दै आयोगले मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेको आयोगको भनाइ छ । आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो– ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आयोगले लागु गरेको निर्वाचन आचारसंहिता सबै पक्षबाट पूर्णरूपमा पालना नगरेर आयोगले तोकेअनुसार कारबाही गर्छ ।’

त्यस्तै, आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई आइतबार २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र लेखिसकेको छ । मन्त्री चौधरीले बाढीपीडितका नाममा चामल वितरण गरेको समाचार आएपछि आयोगले स्पष्टीकरण सोधेको थियो । निर्वाचन क्षेत्रका बाढीपीडितका नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लंघन हुँदैन भनेर पुष्ट्याइँ गर्ने आधार के छ भनेर उहाँलाई आयोगले प्रश्न उठाउँदै स्पष्टीकरण सोधेको आयोगको भनाइ छ । आचारसंहिताको दफा छ मा आयोगको पूर्वस्वीकृति लिएर त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था भए पनि आयोगको पूर्वसहमति नलिई उहाँले चामल वितरण गर्नुभएको थियो ।

त्यस्तै बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ । श्रेष्ठले बेरोजगार युवालाई फ्रि भिसा, फ्री टिकटमा विदेश पठाइदिने भनी मतदातामाझ बोल्नुभएको थियो । माधव नेपाल र उहाँले बोलेको विषय एउटै थियो । श्रेष्ठको भाषणमा आचारसंहिताको उल्लंघन हुने भाषा प्रयोग भएकाले उहाँलाई २४ घन्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

त्यस्तै ‘घण्टी’ चुनाव चिह्न लिएर स्वतन्त्र भन्दै प्रचार–प्रसार गरेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेदवार शिशिर खनाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उक्त घन्टी निर्वाचन चिह्न राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचार–प्रसार गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने गरी कार्यबाट जानाजान प्रचलित निर्वाचन कानुनको उल्लंघनसमेत भएको पाइएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । त्यसै गरी सोही पार्टीका प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमले प्रचार–प्रसारका क्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अङ्कित टिसर्ट लगाएको विषयमा आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगले बाराको पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका सातौं तहका अधिकृत गोकुल वस्ती र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सिके राउतलाई आयोगले स्पष्टीकरण सोधेको छ । यस्तै हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र प्रतिनिधिसभा सदस्य नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बद्री मैनालीलाई पनि स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता २०७९ को दफा १३ मा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचारणअन्तर्गत खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने’ व्यवस्था रहेको उल्लेख छ ।

त्यस्तै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लाल देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था छ । ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपियाँसम्म जरिवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था छ । आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी खारेज समेत हुन सक्ने व्यवस्था रहेको आयोगका प्रवक्ता अर्यालले बताउनुभयो ।