झापामा आयतित माछामा लगाइएको रोक उचित

0
Shares

भद्रपुर । बिर्तामोड नगरपालिकाको पहलमा झापा जिल्लाका स्थानीय तहहरुको संयुक्त बैठकबाट विषादीयुक्त सडेगलेका माछाजन्य वस्तुहरु बिक्री वितरणमा रोक लगाउने निर्णय उचित भएको पाइएको छ ।

स्थानीय तहले गरेको निर्णयमा कुनै पनि उत्पादक किसानहरुको उक्साहट तथा सुझावमा आएको नभई वास्तविक अनुगमन र विश्लेषणबाट जनस्वास्थ्यलाई मध्यनजर गरि उचित निर्णय आएको नेपाल माछापालन किसान संघ झापाले जनाएको छ ।

नेपाल माछा पालन किसान संघ प्रदेश नम्बर १ र जिल्ला समिति झापाले त्यस्ता विषादीयुक्त अस्वस्थकर भारतीय माछा उपभोग नगर्नका लागि आम उपभोक्ता र उपभोक्ता अधिकारवादी संघसंस्थालाई आह्वान गरेका हुन् ।

‘झापामा उत्पादित माछाले बजार मागको २० प्रतिशतपनि पूर्ति नगर्ने’ भन्ने जस्ता कुरा भ्रामक भएको बताइएको छ । पंगास जातको माछा झापामा मागभन्दा बढी उत्पादन भएको नेपाल माछापालन किसान संघ प्रदेश नम्बर १ का वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटीले जानकारी दिनुुभयो । उहाँका अनुसार झापा कार्प जातका माछामा समेत आत्मनिर्भर बन्नेतर्फ अगाडी बढिरहेको छ ।

कृषिथोक बजारमा रहेका माछा व्यापारीहरुले विषादीयुक्त मरेको भारतीय माछाको बिक्री गर्नुपर्ने माग राखेको र बजारमा कृतिम अभाव देखाउन विगत दुई दिनदेखि किसानसँग माछा नकिनेको नेपाल माछापालन किसान संघ जिल्ला समिति झापाका अध्यक्ष होम सिटौलाले बताउँनुभयो । किसानहरुले नेपालमै उत्पादन भएको जिउँदो माछा भारतीय माछाभन्दा सस्तो मूल्यमा दिँदासमेत व्यापारीहरु अस्वस्थ्यकर माछा नै बेच्न पाउनु पर्ने माग किन राखिराखेका छन् ? भन्दै सिटौलाले आश्चर्य व्यक्त गर्नुभयो ।

रारा कृषि फर्मका सञ्चालक कपिल न्यौपानेले वैधानिक तवरबाट भारतीय माछा नेपाल ल्याउँदा नेपाली जिउँदो माछाभन्दा महंगो पर्ने बताउँनुभयो । भारतीय माछाहरु भारतीय सीमा नजिकको बजारमा ल्याएर ग्रेडिङ गरिने र सड्न लागेको माछा सस्तो मूल्यमा अवैध ढंगबाट नेपाल भित्र्इने गरेकोसमेत उहाँले आरोप लगाउँनुभयो । पैसाको लोभमा व्यापारीले जनस्वास्थ्यमाथि खेलबाड गरिरहेको उहाँको आरोप थियोे ।

व्यापारीले भनेजस्तो कार्प जातको माछा झापामा कम उत्पादन भएपनि अन्य जिल्लाहरुमा प्रशस्त उत्पादन भइरहेकाले मरेको, फर्मालिनयुक्त अस्वस्थ्यकर भारतीय माछाको साटो नेपालमै उत्पादित जिउँदो माछा बिक्री गर्न व्यवसायीहरुलाई कार्यक्रममा सहभागी किसानहरुले आग्रह गरे । व्यापारीहरुले कृतिम अभाव सिर्जना गरिरहे किसानहरु आफैँले कृषिथोक बजारमा स्टल राखेर माछा बिक्री गर्ने वरिष्ठ उपाध्यक्ष शिवाकोटीले जानकारी दिनुभयोे ।

बाह्रदशीस्थित मोनिला मत्स्य फार्मका सञ्चालक रुद्रबहादुर बिष्टले किसानमाथि व्यवसायीहरुले सिण्डिकेट खडा गरेको आारोप लगाउँनुभयो । नेपाली किसानहरुलाई व्यापारीहरुले निरुत्साहित गर्न खोजेको उहाँको भनाइ छ । झापामा करिब ५ सय मत्स्यपालक किसानहरु रहेको बताइएको छ ।