काभ्रेमा दलहरुलाई निर्वाचन आचारसंहिताको ‘सपथ’

0
Shares

काभ्रे । असोज २३ गते मनोनयन दर्ताका लागि जिल्लाका राजनीतिक दलहरुले समय ब्यवस्थापन गरेका छन् । निर्वाचन आचारसंहिताको पूर्ण पालना तथा भिडभाड नहुने गरी सहज रुपले मनोनयन दर्ता गर्ने गरी जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन क्षेत्र १ र २ का कार्यालयहरुले आयोजना गरेको जिल्लास्थित राजनीतिक दलहरुको सर्वदलिय बैठकमा राजनीतिक दलहरु आफैले समय ब्यवस्थापन गरेका हुन् ।

‘जिल्लास्थित राजनीतिक दलहरुको सर्वदलिय बैठकले निर्वाचनको लागि मनोनयन दर्ताको समयमा भिडभाड नहुने गरी सबै राजनीतिक दल र स्वतन्त्रतर्फबाट उम्मेदवारी दिने गरी समय व्यवस्थापन गर्ने निर्णय भएको छ’– मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधी शमोहनराज भट्टराईले भन्नुभयो– ‘निर्वाचनआचार संहिताको पूर्ण पालना सहित मनोनयन दर्ताका लागि सबै राजनीतिक दलहरुले सहमति जनाउनु भएको छ ।’

जिल्लामा ३० भन्दा धेरै राजनीतिक दलले निर्वाचनमा भाग लिने तयारी गरेका छन् । केहि स्वतन्त्र ब्यक्तिले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । जिल्लामा दुईवटा प्रतिनिधि सभानिर्वाचन क्षेत्र छन् भने दुवै क्षेत्रमा दुई दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।

मतदाताको संख्या थपिएकाले स्थानीय तहको निर्वाचनको समयमा भन्दा एउटा मतदान स्थल र ८ वटा मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले रकम तिरेर फोटोसहितको मतदाता सूची पेन ड्राईभमा राखेर लैजाने पाउने व्यवस्था रहेको राईले जानकारी दिनुभयो ।

असोज २३ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने मनोनयन दर्ता प्रतिनिधि सभानिर्वाचन क्षेत्र नम्बर १ को पनौती नगरपालिकामा हुनेछ भने सोही क्षेत्रको दुवै प्रदेश सभाको मनोनयन दर्ता पनि सोही निर्वाचन कार्यालयमा हुनेछ । धुलिखेलमा रहेको मुख्य कार्यालयमा निर्वाचन क्षेत्र नम्बर २ को र सोही क्षेत्रको प्रदेशसभाको मनोनयन दर्ता हुनेछ ।

पनौतीमा निर्वाचन अधिकृत दुर्गा खनाल हुनुहुन्छ भने धुलिखेलमा मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराई हुनुहुन्छ । निर्वाचन कार्यालयले मनोनयन दर्ताका लागि आवश्यक तयारी सकेको जानकारी गराएको छ । समय तालिकाअनुसार बिहान १० बजेदेखि ११ बजेको समयमा नेमकिपा सहितका अन्य दलहरुको उम्मेदवारी दर्ता हुनेछ । सोही समयमा स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गर्नेछन् । दिउँसो १२ बजे देखि १ बजेसम्म नेपाली कांग्रेसले समय लिएको छ । दिउँसो २ बजेदेखि ३ बजेसम्म नेकपा (एमाले)ले समय लिएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले त्यस पछिको समय माग गरेका छन् । राप्रपालगायतका दलहरुले ४ बजेपछि उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनभित्र रहेका राजनीतिक दलहरुको अलग्गै बैठक बसेर एकै पटक मनोनयन दर्ता हुन सक्ने बताईएको छ ।

मनोनयन दर्ताका लागि उम्मेदवारसहितको राजनीतिक दलले २५ जनाभन्दा धेरै कार्यकर्ता सहभागी गराउन पाउने छैनन् भने बाजागाजा र झाँकीसमेत प्रर्दशन गर्न पाउने छैनन् । उम्मेदवार बन्न पाउने योग्यता, समर्थक र प्रस्तावक पनि कुनै लाभको पदमा बसेको हुनु हुँदैन । उम्मेदवारले निर्वाचनआयोगले तोकेका १० वटा मापदण्ड अनुसारको कागजात संलग्न गराउनु पर्छ ।

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निर्वाचनलाई शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन सेल, कमाण्ड पोष्ट, एकीकृत सुरक्षा योजना, निर्वाचन सुरक्षा समितिको बैठक नियमित आयोजना गरी प्राप्त सूचनालाई अध्ययन, अनुसन्धान र विश्लेषण गरी आवश्यक व्यवस्था मिलाईएको बताउनुभयो । मनोनयन दर्ता देखि मतगणना सम्मको सुरक्षा योजना तयार गरी कार्यान्वयन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

प्रहरी प्रमुख एसपी चक्रराज जोशीले स्थानीय तहको निर्वाचनमा भएका केही कमिकमजोरीलाई सच्याउँदै आउँदो निर्वाचनमा प्रभावकारी सुरक्षा संयन्त्र परिचालन गरिने बताउनु भयो । यो पटक नियमित सुरक्षा परिचालनमा १ हजार ८ सय ९८ जना म्यादी प्रहरी थपिने छन् । उनीहरुको छनोट भई सकेकाले तालिम शुरु गर्नै तयारी गरिएको एसपी चक्रराज जोशीले बताउनुभयो । छलफलमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।