एकीकृतरुपमा खानेपानी तथा ढल व्यवस्थापन गर्दै हेटौंडा



हेटौंडा।

व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउने तयारीमा हेटौंडा उपमहानगरपालिका जुटेको छ । एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकार खानेपानी विकास मन्त्रालयमार्फत् उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत् हेटौंडामा व्यवस्थित खानेपानी बितरण र ढल व्यवस्थापनको तयारी गरेको हो ।

आयोजना अन्तर्गत डीपीआर योजनासहित हेटौंडाको शहरी ढल व्यवस्थापन, भूमिगत ढल र शहरी लेदोजन्य फोहर व्यवस्थापन सम्बन्धि सोमबार उपमहानगरपालिकामा छलफल गरिएको थियो । शहरी क्षेत्रमा बढ्दै गएको ढलजन्य लेदो तथा अन्य फोहर व्यवस्थापन गर्न सकिने काम र व्यवस्थापनका विषयमा छलफल भएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मीना लामाले उपमहानगरपालिका एकीकृतरुपमा व्यवस्थित शहर निर्माण र विकासमा अघि बढ्ने बताउनुभयो ।उहाँले सरकारी क्षेत्रबाट हुने गुरुयोजना र आवधिक योजनाको काम कहिले सकिन्छ भन्ने टुंगो नभएका कारण कार्यान्वयनमा जान समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो–अब हुने विकासका काममा यसअघि लगानी भएका पूर्वाधार प्रयोग गरेर अघि बढ्दा सहज हुनेछ । यसअघि निर्माण भएका पूर्वाधारको गुणस्तर र व्यवस्थापनमापन गरेर अघि बढ्छौं । उहाँले उपमहानगरपालिका आवधिक र गुरुयोजना बनाएर विकासको काममा अघि बढ्ने तयारीमा रहेको बताउनुभयो ।

हेटौंडा उपमहानगरको सहयोगमा सञ्चालनमा रहको हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष प्रताप बिष्टले हालसम्म उपमहानगर क्षेत्रमा खानेपानी वितरण र आवश्यक पूर्वाधार र व्यवस्थापनका विषयमा जानकारी दिनुभएको थियो । बिष्टले हालसम्म बोर्डले २२ वटा डिपबोरिङ, ७ वटा सम्बेलबाट उत्पादन भएका पानी २२ हजार २ सय ५० धारामार्फत् वितरण भइरहेको बताउनुभयो । बोर्डले हाल दैनिक १ लाख ८२ हजार लिटर पानी वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

व्यवस्थित ढल र खानेपानी व्यवस्थापनमा आएको परामर्शदातासहित टोलीले नयाँ विकास हुँदै गरेका वडामा प्रदेश सरकारले निर्माण गर्ने भवन र पूर्वाधारमा सहयोग पुग्ने गरी काम गर्न अनुगमन गरेको छ ।

छलफलमा उपमहानगर उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं , खानेपानी तथा ढल व्यवस्थान आयोजना प्रमुख बालमुकुन्द श्रेष्ठलगायत प्राविधिकको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्