कर्णालीमा भ्रष्टाचार विरुद्ध प्रथम युवा सम्मेलनको तयारी हुँदै

0
Shares

दैलेख ।

युवा समाज परिवर्तनको संवाहक हो साथै देश निर्माणको पूर्ण जिम्मेवारी युवाहरुको काँधमा रहेको छ । तर यतिवेला देश संघीय स्वरुपमा परिणत भएसँगै निर्माण भएका स्थानीय तहहरुमा भ्रष्टाचार र अनियमितताले जरो गाड्दै गइरहेको छ । त्यसमा पनि देशकै दुर्गम र पिछडिएको कर्णाली प्रदेशमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको छ ।

कर्णाली प्रदेशमा भ्रष्टाचार विरुद्ध प्रथम प्रदेशस्तरी युवा सम्मेलनको तयारी भइरहेको छ । विगत स्थापनाको समय देखि विभिन्न भ्रष्टाचार विरुद्ध समाज रुपान्तरणके क्षेत्रमा काम गर्दै आइरहेको बागेश्वरी असल शासन क्लब (बास नेपाल) ले आउँदो असोज ८ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भ्रष्टाचार विरुद्ध प्रथम कर्णाली युवा सम्मेलनको आयोजना गर्न लागिरहेको छ ।

पछिल्लो समय कर्णाली प्रदेशका साथै विभिन्न स्थानीय तहहरुमा बढ्दो अनियमितता र भ्रष्टाचार र त्यसका बिरुद्ध युवाहरूको भूमिका, भ्रष्टाचार न्यूनीकरण र सुशासन कसरी कायम गर्न सकिन्छ भनेर सम्मेलनको आयोजना गर्न लागिएको बागेश्वरी असल शासन क्लब (बास नेपाल) कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहील बताउनुभयो । अध्यक्ष शाहीले भ्रष्टाचार अनियमितता विरुद्ध कर्णालीका युवाहरूलाई जागरुप गराउन र युवा पुस्तालाई सामाजिक जवाफदेहिता र असल शासनको अभियानमा सहभागी भई क्रियासिल गराउन सम्मेलन उपलव्धिमुलक हुने समेत बताउनुभयो । अध्यक्ष शाहीले भन्नुभयो ‘भ्रष्टाचार विरुद्ध समाजमा युवाहरूलाई जागरुप गराउन र सामाजिक जवाफदेहिता र असल शासनको अभियानमा सहभागि गराउन यो सम्मेलन हुनेछ साथै सम्मेलनमा भ्रष्टाचार विरुद्ध बृहत छलफल, प्रभात फेरी, खुल्ला बहस र विभिन्न प्रस्तुतिकरणका कार्यक्रमहरु रहेका छन् ।

भ्रष्टाचार विरुद्ध प्रथम प्रदेशस्तरी युवा सम्मेलनले भ्रष्टाचार विरुद्ध प्रदेश घोषणा पत्र समेत जारी गर्नेछ भने कार्यक्रममा भ्रष्टाचार विरुद्धको अभियानमा लागेका अभियन्ता, स्थानीय तथा प्रदेश सरकारका जनप्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहने बताइएको छ ।