नेपालमा पहिलो पेनाल्टी सुटआउट

0
Shares

हेटौंडा । नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा असोज १० गते हेटौंडामा खुला पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

विश्वमा सबभन्दा बढी रुचाइएको खेल फुटबल र त्यसमा पेनाल्टी सुटआउटले थप खेल रोमाञ्चित बनाउने भएकाले खेलमा मनोरञ्जन दिने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

खेलको निर्धारित ९० मिनेटका अलावा थप मिनेटमा पनि खेल बराबरी भएको अवस्थामा हुने टाइब्रेकरमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका खेलाडी पनि गोल गर्न चुक्ने हुँदा पेनाल्टी सुटआउटलाई महत्व दिनुपर्ने अभिप्रायले पहिलो पटक प्रतियोगिता गर्न लागिएको महासंघ केन्द्रीय सदस्य निरजसिंह ठकुरीले बताए ।

प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका २५ टिमको सहभागिता रहने ठकुरीले बताए । एक समूहमा ६ जना रहने खेलका विजेताले ३३ हजार ३ सय ३३ रुपियाँ र दोस्रो हुनेले २२ हजार २ सय २२ रुपियाँ नगद पुरस्कार पाउने ठकुरीले जानकारी दिए ।

महासंघले पहिलो पटक आयोजना गर्न लागेको पेनाल्टी सुटआउट खेल हरेक वर्ष घटस्थापनामा सञ्चालन गरिने उनले बताए । खेल दर्ता फाराम जिल्ला खेलकुद विकास समिति मकवानपुरको कार्यालय र ग्लोबल स्पोर्टस् हाउस हेटौंडा–४ मा उपलब्ध हुने आयोजकले जनाएको छ । आयोजकले टिम दर्ता शुल्क ३ हजार ३ सय ३३ रुपियाँ तोकेको छ ।

पेनाल्टी सुटआउट वा यसलाई टाइब्रेकर पनि भन्ने चलन छ । यो फुटबल खेलको एक महत्वपूर्ण नियम हो । यसले फुटबल खेलमा विजेता र उपविजेता छुट्याउन विशेष भूमिका निर्वाह गर्दछ । फुटबल खेलमा निर्धारित ९० मिनेटमा खेलको स्पष्ट नतिजा आउन नसके ३० मिनेट अतिरिक्त समय थपिन्छ ।

तर, यसरी पनि कुनै निर्णय नआए बल्ल पेनाल्टी सुटआउट प्रयोग गरिन्छ । समूह चरण वा लिग चरणबाहेक नकआउट चरणका जुनसुकै फुटबल प्रतियोगितामा यस नियम प्रयोग गरिन्छ ।

फिफा विश्वकपको इतिहास पल्टाउने हो भने केबल २ पटकमात्र पेनाल्टी सुटआउट प्रयोग गरी प्रतियोगिताको विजेता र उपविजेता छनौट गरिएको थियो । सन् १९९४ र २००६ को विश्वकप फाइनल थियो । यस नियमलाई फिफाले २००४ देखि लागु हुने गरी फिफाकोले अफ द गेम’ मा परिमार्जन गरेको नियमको नियम नम्बर १० मा उल्लेख गरिएको छ ।

जहाँ उल्लेख गरिएको छ–विजयी निर्धारण सम्बन्धमा अब गोल्डेन वा सिल्भर गोलका आधारमा म्याचको निर्णय हुने छैन । निर्धारित ९० मिनेटबाट कुनै निर्णय हुन नसके १५/१५ गरेर ३० मिनेटको अतिरिक्त समयमा खेलाइनेछ । त्यसबाट पनि टुंगो नलागे म्याच पेनाल्टी सुटआउटमा जानेछ ।