निःशुल्क हवाई तथा यातायात सेवा सञ्चालन गरिने

0
Shares

काठमाडौं । नेपाली सेनाले निःशुल्क यातायात सेवा प्रदान गर्ने भएको छ । यस वर्षको बडा दशैँलाई लक्षित गर्दै सेनाले निःशुल्क यातायात सेवा प्रदान गर्ने भएको हो ।

आज (आइतबार) सेनाले एक प्रेसनोट जारी गर्दै दशैँ बिदामा घर जाने बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा सुविधाअन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्ने भएको छ । जसका लागि उसले यही महिनाको १८ गतेदेखि यातायात तथा हवाई सेवा सञ्चालन गर्ने भएको हो ।

सेनाका सकलदर्जा तथा आश्रित परिवारहरुलाई आ-आफ्नो गन्तव्यसम्म पुग्न सहज होस् भन्दै यो सेवा प्रदान गरिने जानकारी गराइएको छ ।

सडक सञ्जालको सहज पहुँच पुगेका स्थान र पहुँच नपुगेका दुर्गम पहाडी र हिमाली क्षेत्रहरुमा हवाई उडान सञ्चालन गर्ने योजना अनुरुप यो सेवा प्रदान गरिने भएको छ । हालसम्म हवाई उडानमार्फत १ सय ३४ जना सकलदर्जा एवं आश्रित परिवारहरु लाभान्वित भएको बताइएको छ । सडक यातायात पर्सि ४ गतेबाट सञ्चालन हुनेछ ।

प्रधानसेनापति प्रभुराम शर्माकाे पदबहाली भएपश्चात् सकल दर्जालाई गर्नुभएको सम्बोधनमा उल्लेख भएको यो कार्यक्रम सेनाले आफ्ना सकलदर्जा तथा आश्रित परिवारहरुलाई प्रदान गर्दै आईरहेको कल्याणकारी सेवा सुविधाहरुअन्तर्गत सञ्चालन गरिएको हो । गत आर्थिक वर्षमा यस सेवा, सुविधाअन्तर्गत हवाई उडानमार्फत १ सय १२ जना र सडक यातायातमार्फत १३ सय ४० जना गरी जम्मा १४ सय ५२ जना सकलदर्जा तथा आश्रित परिवारहरु लाभान्वित भएका थिए ।

साथै, यस वर्षको बडा दशैँको अवसरमा बिदामा जाने अधिकतम् सकलदर्जा तथा आश्रित परिवारहरुलाई हवाई यातायातमार्फत सम्बन्धित गन्तव्यसम्म पुर्याउने योजना रहेको सेनाले बताएको छ ।