मेथिन्कोट अस्पतालमा मानसिक स्वास्थ्य सेवा

 जिल्लामा प्रभावित ५२ हजार ९ सय २०



काभ्रे । मेथिन्कोट अस्पतालमा मानसिक अस्पताल लगनखेलको सहयोगमा बहिरंग मानसिक स्वास्थ्य सेवा शुरु भएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले उक्त सेवाको शुभारम्भ गर्दै प्रदेश सरकारले नागरिकहरुका हरेक समस्यामा केन्द्रित रहेर काम गरिरहेको बताउनुभयो ।

मेथिन्कोट अस्पताललाई राजमार्गका ट्रमा केयर युनिटका रुपमा विकास गर्ने तथा शैया थप गरी स्वास्थ्यका सबै सेवा उपलब्ध हुने स्वास्थ्य संस्थाका रुपमा विकास गर्ने योजनामा बजेट विनियोजन गर्ने मन्त्री लामाले बताउनुभयो ।

अध्यक्ष कृष्णप्रसाद खनालले प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालका रुपमा सेवा शुरु गर्न विभिन्न क्षेत्रबाट सहयोग भएको बताउनुभयो । मेथिन्कोट अस्पताल जिल्लाको एक मात्र सरकारी अस्पताल हो । पुर्व मन्त्री एवं सांसद चन्द्र लामाले कोभिड १९ को महामारीमा अक्सिजन प्लान्ट स्थापना गरी सेवा विस्तार गरिएको बताउनुभयो ।

सांसद गोमा भुर्तेलले देउसी भैलो खेलेर शुरु गरिएको स्वास्थ्य केन्द्रलाई अस्पताल निर्माण गरी नागरिकहरुको स्वास्थ्य सेवामा संवेदनशिल बनेको बताउनुभयो । नगर प्रमुख कुन्साङ लामाले नगरपालिकाले अस्पताल संचालनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

मानसिक अस्पताल लगनखेलका निर्देशक डा. अनन्त अधिकारीले सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा पार्न लागेको भन्दै खुशी व्यक्त गर्नुभयो । देशभर मानसिक स्वास्थ्य सम्बन्धी उपचारका लागि २ सयभन्दा धेरै विशेषज्ञ नभएको बताउँदै अधिकारीले तीनै तहका सरकारले मानसिक स्वास्थ्यलाई गम्भिर रुपमा लिनु पर्ने बताउनु भयो । जिल्लाको पनौती नगरपालिकामा २ वर्ष देखि मानसिक स्वास्थ्यका कार्यक्रम दुईवटा वडाबाट शुरु गरिएकाले मेथिन्कोट अस्पतालको सेवाले थप सहयोग हुने बताउनुभयो ।

समयमै उपचार पाउँदा निको हुने रोगलाई बेवास्ता र हेलचेक्राई गरेकाले व्यक्तिको जीवन गुम्न पुगेको डा. अधिकारीले बताउनुभयो । अहिले पनि मानसिक रोग भएका विरामीहरुलाई परिवारका सदस्यहरुले दाम्लोले बाँधेर राखिरहेको उदाहरण समुदायमा छन् ।

मेथिन्कोट अस्पतालका सुपरिटेन्डेन्ट डा. पुरुषोतम सेढाईले जिल्लामा प्रति ३ दिन एक जना ब्यक्तिले मानसिक रोगकै कारण आत्महत्या गरिरहेको बताउनुभयो । आत्महत्या गर्नेहरु मध्ये ८५ प्रतिशत ब्यक्तिलाई थाहा पाउँदा नपाउँदै मानसिक रोग लागिसकेको हुन्छ । एक वर्षको अवधीमा १ सय १९ जनाले आत्महत्या गरेका छन् भने तीन वर्षको अवधीमा ३ सय ९२ जनाले आत्महत्या गरेका छन् ।

एक जना व्यक्तिले आत्महत्या ग¥यो भने १ सय ३५ जनालाई असर पर्ने डा. सेढाईले बताउनु भयो । अहिले ५२ हजार ९ सय २० जना आत्महत्या पछि प्रभावित छन् । नेपालमा एक वर्षमा ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादु्र तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार लगायतले मन्तब्य राख्नु भएको थियो ।

२७ रोपनी जमिनमा मेथिन्कोट अस्पताल ५० शैइय्याको बन्दैछ । त्यसका लागि आवश्यक प्रक्रिया पूरा भईसकेको डा. सेढाईले बताउनुभयो । पहिलो दिन पाटन अस्पतालका डाक्टरहरु लता गौतम र सुवास विजय महत लगायतले विरामीहरुको परीक्षण गर्नु भएको थियो । परीक्षण पछि निःशुल्क औषधीको ब्यवस्था गरिएको थियो ।

यो सेवा हरेक महिनाको अन्तिम बिहिबार उपलब्ध हुने मेथिन्कोट अस्पतालले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्