सफलताको कथा : कुरिलो खेतीबाट मनग्गे आम्दानी



रसुवा । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्वुचेत निवासी सिङगे लामाले १९ रोपनी जग्गा भाडामा लिएर कुरिलो खेती गर्दै आएका छन् ।

थाम्वुचेतमा आफन्तको १९ रोपनी जग्गा भाडामा लिएका लामाले १९ लाखको लगानीमा कुरिलोको बीउ खरिद गरेका थिए । उनले उक्त बीउ बनेपाबाट आफ्नै लगानीमा खरिद गरेका थिए । त्यसपछि खरिद गरेको बीउ लामाले व्याडमा एक–एक गरेर रोपे ।

रोपेको केही समयपछि उनले भाडामा लिएको जग्गामा विरुवा सारे । साँझ विहान मेहनत गर्न छोडेनन् । कुरोलोका विरुवालाई आफ्नै सन्तान हुर्काझैँ हुर्काए । गोडभेल गरे, पानी चहारे । यसरी नै वर्षदिन बिते र सबै विरुवा हलक्कै बढे । उनको आत्मविश्वास पनि बढ्यो ।

यद्यपि उनलाई कुरोलो खेतीले कतै घाटा पुर्याउने त होइन भन्ने पनि नलागेको होइन । तर, उनले आफ्नो मनमा आउने नकारात्मकतालाई खासै वास्ता गरेनन् र आफ्नो कर्ममा दत्तचित्त भइरहे ।

अन्ततः सिङगे लामा यतिबेला आफूले गरेको खेतीबाट आम्दानी लिन सुरु गरिसकेका छन् । उनको उत्पादनले बजारलाई नजिक्याई रहेको छ । गत असार महिनादेखि नै लामाले कुरिलो बजारमा बेच्न थालिसकेका छन् । आफ्नो जिल्ला आसपास र वरपर फाट्ट–फुट्ट बिक्रि–वितरण हुने भए पनि बाँकी बाहिर नै सप्लाइ हुने गरेको लामा बताउँछन् । जिल्ला वरपर र गाउँघरमा भन्दा काठमाडौं लगायतका अन्य जिल्लामा सात सयभन्दा बढी मूल्यमा बिक्री हुने उनी बताउँछन् । कुरोलो फल्ने मौसममा लगातार तीन वर्षसम्म फल्ने गर्दछ र सोहीअनुसार उनको आम्दानी पनि निरन्तर भइरहन्छ ।

यतिमात्रै होइन, लामाले कुरिलोसँगै टिमुर, अकबरे खुर्सानीसमेत रोपेका छन् । उनी आफूमात्रै सफल कृषक बन्न चहादैनन् । आफूले जस्तै अरूलाई पनि खेती गर्न आग्रह गर्छन् । उनी भन्छन्, ‘दुःख गर्न सके विदेश जानै पर्दैन । आफ्नो गाउँघरको आगनीमै सुन फल्छ, फलाउन सकिन्छ ।’

सिङगे लामा कृषक मात्रै होइन, कुरिलो खेती विशेषज्ञका रुपमा पनि चिनिन थालेका छन् । उनले यो खेतीसम्बन्धी झण्डै ३२ जनाभन्दा बढीलाई तालिम प्रदान गरिसकेका छन् ।

आफ्नो पुर्खाले अंगालेको पुख्र्यौली कृषि पेशा आफ्ना लागि प्राण भएको बताउँछन् । उनी यहीँ पेशामा रमाउने र यहीँ पेशा पुस्तान्तरण गर्ने पक्षमा छन् । यो खेतीबाट लामाले लाखौँ रुपियाँ बराबरको मनग्गे आम्नदानी गर्दै आएका छन् ।

विदेशिएका दाजुभाइ, दिदीबहिनीहरूलाई स्वदेश फर्केर आफ्नै माटोमा पसिना बगाइ सुन फलाउन आग्रह गर्छन् । विदेशको चरा खस्ने गर्मी, चौबीस घण्टा ड्युटी गरेर केही पैशा आर्जन गर्नुभन्दा आफ्नै सालनाल गाडेको आगन र खेतबारीमा श्रम गर्न र आफूजस्तै आम्दानी गर्न लामा सुझाव दिन्छन् ।

सिङ्गे लामाको कुरिलो खेती आम्दानीको स्रोत मात्रै नभई प्रेरणाको स्रोत पनि भएको वडाध्यक्ष रामबहादुर तामाङ बताउँछन् । तामाङ भन्छन्, ‘यो खेतीबाट उत्पादित फल वा विरुवा देशमा मात्रै नभएर विदेशमा पनि निर्यात हुनेछ । लामाको आम्दानीको मुख्य स्रोत यो खेती यहाँका अन्य बासिन्दाका लागि पनि बन्दै जानेछ । त्यसका लागि उहाँहरूले यो खेतीलाई अंगाल्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्