डेंगु बढेसँगै सिटामोलको अभाव, सरकार मौन

0
Shares

काठमाडौं ।

काठमाडौंलगायत नेपालका ७७ जिल्लाका मुख्य शहरहरूमा डेंगु ज्वरोको संक्रमणसँगै सिजनल फ्लुका बिरामी बढेका छन् । बिरामीको चाप बढेकै कारण अस्पतालका आईसीयू (सघन उपचार कक्ष) पाउन निकै मुस्किल भएको छ भने ज्वरो कम गर्न प्रयोग गरिने सिटामोल औषधिसमेत आवश्यकताअनुसार पूर्ति हुन सकेको छैन ।

बिरामीको संख्या वृद्धि भएर औषधि खपत धेरै भएको अवस्थामा औषधि उत्पादनमा भने वृद्धि नभएकै कारण यति बेला बिरामी र बिरामीका आफन्त सिटामोल औषधिको खोजीमा भौंतारिइरहेका छन् । यता सरकार भने औषधि पर्याप्त मात्रामा छ बाहिर अनावश्यक हल्ला चलेको मात्र हो भनिरहेको छ ।

ज्वरो आउँदा चिकित्सकको परामर्शबिनै नागरिकले सीधै औषधि पसलबाट सिटामल औषधि खरिद गर्ने भएकै कारण बजारमा अभाव भएको थाहा पाउनासाथ स्टक पनि खरिद गर्ने प्रचलनले पनि केही स्थानमा सिटामोल आवश्यकताअनुसार नपाइएको नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बराल बताउनुहुन्छ ।

बराल भन्नुहुन्छ– ‘यति बेला कोभिड भन्दा डेंगुको महामारी बढेको छ । ९९ दशमलव ९ प्रतिशत सिटामोल नेपालले नै धानेको र शून्य दशमलव १ प्रतिशत विदेशबाट आउने गर्छ । नेपालमा यति बेला डेंगुका साथै सिजनल फ्लु पनि बढेको छ । सिटामोल मात्र नभई नेपालमा अहिले नर्मल सलायन र पुनर्जलीय झोल पनि सर्टेज भएको छ ।’सरकारसँग संघले विगत १० वर्षदेखि सिटामोल उत्पादनका लागि ल्याउने कच्चा पदार्थ भन्सारमै १ रुपियाँ ३२ पैसा तिर्नुपर्छ भने ८० पैसामा बिलिङ गर्नुपर्छ । यस विषयमा सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा उहाँले सरकारले औषधिमा राजनीति गरेको आरोप लगाउनुभयो । उहाँले सरकारसँग एउटा सिटामोलको मूल्य २ रुपियाँ गर्ने या भन्सार छुट दिने दुईवटा विकल्पसहित माग पेस गरिएको छ । तर, वास्ता नगर्दा औषधि आवश्यकताअनुसार उत्पादन र पूर्तिमा कमि आएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल भने बजारमा सिटामोलको अभाव नभएको जिकिर गर्दै आएको छ । डेंगुमा उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खान मन नलाग्ने, पखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन् । ती लक्षणका लागि बिरामीलाई सिटामोल र जीवनजलजस्ता औषधि खान चिकित्सककले सल्लाह दिएका छन् तर औषधिको बजारमा कृतिम अभाव शुरू भएको छ । यति संवेदनशील विषयमा सरकारले औषधि उत्पादक र विक्रेतालाई देखाउने र विक्रेताले सरकारलाई देखाउने गर्दा समस्याको समाधान नहुने स्वास्थ्य विज्ञहरूको ठम्याइ छ ।

नेपालमा हालसम्म ६ हजारभन्दा बढी डेंगुका बिरामी सरकारी अस्पतालमा मात्र उपचारका लागि आइसकेका छन् भने निजी अस्पताल र घरमै बसेर सिटामोल खानेको संख्या ३ गुना भन्दा बढी रहेको विज्ञहरू बताउँछन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बजारमा सिटामोलको अभाव नभएको बताउनुभयो । उहाँले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा डेंगुका बिरामीको चाप बढेसँगै बेडको अभाव र आईसीयू नपाउने अवस्था रहेको बताउनुभयो ।

यता नेपाल औषधि व्यवस्था विभागका निर्देशक भरत भट्टराईले औषधि उत्पादक संघले सिटामोलको माग बढेको अवसरमा मूल्य बढाउने रणनीति अपनाएर कृतिम अभाव शुरु गरेको गुनासो आएकाले तत्काल बोलाएर छलफल गरी औषधिको पूर्ति सहज बनाउने बताउनुभयो । उहाँले यो महामारीका बेला मानवीय संवेदनशील विषयमा औषधिको अभाव हुन नदिने गरी उत्पादकलाई निर्देशन दिने बताउनुभयो ।

नेपाल औषधि लिमिटेडले ५० लाख सिटामोल ट्याब्लेट औषधि बनाउनका लागि एक साताभित्र कच्चा पदार्थ आयात गर्न थालेको जनाएको छ । औषधि लिमिटेडका अनुसार अहिले पनि झन्डै १५ लाख ट्याब्लेट मौज्दात रहेको जनाएको छ ।