घ्याङलेख गाउँपालिकामा एक वडा एक प्राविधिक राखियो

0
Shares

सिन्धुली ।

सिन्धुलीको घ्याङलेख गाउँपालिकाले कृषि प्राविधिकहरूको नियुक्ति गरेको छ । गाउँपालिकाले एक वडा एक कृषि प्राविधिकको अवधारण अनुसार पालिको ५ वटै वडामा कृषि प्राविधिकहरू नियुक्ति गरेको हो । अघिल्लो पालाको सरकारले १ जना मात्रै कृषि प्राविधिक नियुक्ति गरेकाले नयाँ सरकार आएको केही महिना मै बाँकी ४ वडाका लागि ४ जना कृषि प्राविधिक नियुक्ति गरेको गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले बताउनुभयो ।

‘हाम्रो गाउँपालिका कृषि र पशुपालनमा बढी सम्भावना भएको ठाउँ हो । यहाँका सबै नागरिक कृषिमा आश्रीत छन् । त्यस कारण किसानलाई कृषि पेशमा टिकाउनका लागि दक्ष कृषि प्राविधिक चाहिने भएकाले कृषि प्राविधिकहरु नियुक्त गरि वडामा पठाएर काममा पनि खटाई सकेका छौं ।’ अध्यक्ष घलानले भन्नुभयो । गाउँपालिकाले कृषि र पशु पालनलाई प्राथमिकतामा राखेर चालू आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेट ल्याएको उपाध्यक्ष घलानले बताउनुभयो ।

उहाँले गाउँपालिकाले बाख्रा र भैंसी पालनलाई महत्व दिएर अनुदान लगाएतका कार्यक्रम ल्याईएको बताउनुभयो । घ्याङलेख गाउँपालिकामा विशेष गरि कृषिमा पशु पालन र तरकारी खेतीको बढी सम्भावना रहेकाले यसलाई नै प्राथमिकतामा राखेर बजेट र योजनाहरू ल्याएको उपाध्यक्ष घलानको भनाइ छ । उहाँले भन्नुभयो,‘ यहाँ बाख्रा र भैसीको पालनका लागि पर्याप्त घाँस र उचित किसिमको हावापानी छ ।

मैले प्रत्यक्ष देखेको छु किसानले तरकारी फलाएर बनेपा लगेर बेच्छन । अहिले किसानलाई पालिकाले धेरै नसकेपनि प्राविधिक र बिउ,मलको व्यवस्था गर्नुपर्छ भनेर त्यसको व्यवस्थापनमा लागेका छौं ।’ कृषिका योजनाहरु लागु गर्नका लागि गैरसरकारी संस्था हेफर प्रोजेक्ट नेपालसँग सम्झौताकोक्रममा रहेको पनि उपाध्यक्ष घलानले बताउनुभयो । पहाडी तथा महाभारत क्षेत्रमा पर्ने यस गाउँपालिकामा पशुका लागि चाहिने घाँस भएका वनजंगल र तरकारीको लागि उपयुक्त हुने खालको चिसो हावापानी रहेको छ ।

गाउँपालिकामै कृषि प्राविधिकहरु उत्पादन गर्न कृषि बालि विज्ञान विषयको पढाउन विद्यालयलाई अनुमती दिइएको बताउनुभयो । कक्षा ९ देखि १२ सम्म कृषि बालि विज्ञान बिषयको पठनपाठन गराउनका लागि माध्यमिक विद्यालय मरिण हायूटारलाई अनुमती दिइएको बताउनुभयो । माथिल्लो निकायबाट अनुमती लिनका लागि गाउँपालिकाले सिफारिस गरिसकेकाले अर्को नयाँ शैक्षिक सत्र देखि पठनपाठन गराउन सुरु हुने उपाध्यक्ष घलानले बताउनुभयो ।