‘कुमारी’ नाम एक, विश्वास अनेक



विराजकाजी राजोपाध्याय

भख्खरकी एक बालिका, जसको बोली, हिँडाइ, हरेक क्रियाकलापमा बाल सुलभता देखिन्छ । चुलबुल चुलबुल गर्दै हिँड्ने उनको हरेक पाइला, कति मनमोहक छ । उनको हरेक पाइला, हरेक क्रियाकापमा हेर्दै रमाइलो लाग्ने बाल चञ्चलता पोखिँदैथियो ।

एकैछिन एक वृद्ध पुरुष त्यहाँ आइपुगे र नेपाल भाषामा उनले बालिकालाई भने ‘का का मां, आसनय् बिज्याहुँ, दर्शन याःवल मनूतय् ।’ (ल ल, आसनमा विराजमान हुनुहोस्, दर्शन गर्न आइपुगे मान्छेहरू)ती वृद्धको आज्ञाकारी झैं ती बालिका कोठाको ठीक बीच भागमा राखिएको मयूर अंकित आसनमा बस्न गइन् । तर, जब उनी आसनमा विराजमान भइन्, उनको रूप नै फेरिएझैं महसुस भयो । उनको अनुहार चम्किएर निकै तेजिलो भएझैं लाग्यो र उनको आभा बढेझैं देखियो । एकैछिन अघिसम्म चञ्चल देखिएकी ती बालिका अहिले निकै शान्त देखिन्थिन् ।

कुमारीको दर्शन गर्न स्तम्भकार वसन्तपुरको कुमारीघरमा पुग्दा देखेको दृश्य हो यो । सबैले कुमारी देवी भनी पूजा गर्ने कुमारीलाई त्यो बेला देख्दा शुरूमा त एक साधारण, अन्य बालबालिकाहरू जस्तै खेल्न, कुद्न मनपराउने, चुलबुले बालिका मात्रै लागेको थियो । तर, जब उनी मयूरासनमा विराजमान भइन्, साँच्चिकैमा देवी नै प्रकट भएको हो कि जस्तो पो लाग्न थाल्यो ।
काठमाडौंमा भाद्र शुक्ल द्वादशीदेखि असोज कृष्ण चतुर्थीको दिनसम्म एक हप्ता इन्द्रजात्रा मनाइन्छ । इन्द्रजात्राको समयमा विभिन्न धार्मिक, सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्ने गरीन्छ ।

भाद्र शुक्ल द्वादशीमा काठमाडौंका मानन्धर समुदायले यःसिं नामक काठको लामो खम्बा हनुमानढोका तलेजु मन्दिर अगाडि ठड्याइसकेपछि त्यही दिनबाट हल्चोकको आकाश भैरवसँगै सवःभक्कु, भक्तपुरको महाकाली, मजिपातको लाखय्, किलागलको पुलुकिसि, दीप्याखं आदिसँगै आकाश भैरव आजुद्यःसँगै इन्द्रचोक, बाकादे आजुसँगै वटु झलमल्ल हुने गर्दछ भने कुमारी घरअगाडि नै दशअवतार हेर्नेहरूको घुइँचो नै लाग्ने गर्दछ । इन्द्रजात्राको अवसरमा यस किसिमका विभिन्न धार्मिक, सांस्कृतिक गतिविधिहरू हुने गरे तापनि यसको आकर्षण भनेको गणेश, भैरवसँगै कुमारीको रथयात्रा नै हो ।

चार पांग्रा भएको, प्यागोडा शैलीले बनाइएको रथमा गणेश, भैरवसँगै कुमारीलाई पनि जात्रा गर्दै काठमाडौंका विभिन्न स्थानमा घुमाइन्छ । अझ भनौं इन्द्रजात्राको पर्यायवाची नै बनेको छ कुमारीको रथयात्रा । र कुमारीको पर्यायजस्तै बनेको छ काठमाडौंकी लाय्कू कुमारी । स्थानीय नेपालभाषामा लाय्कू कुमारी भन्नाले राज कुमारी भन्ने बुझिन्छ । दरबारसँग सम्बन्धित वा राजाले स्थापना गरेकी कुमारी भन्ने अर्थले लाय्कू कुमारी भन्ने गरिएको हो । नेपालमा लाय्कू कुमारी भन्नाले काठमाडौंकी कुमारी मात्र होइन । स्थान विशेषको आधारमा कुमारी तीन प्रकारको देखिन्छ ।

पहिलो त दरबारकी कुमारी अर्थात लाय्कू कुमारी । काठमाडौंमा शाक्य वंशकी लाय्कू कुमारी छिन् भने पाटनमा बज्राचार्य थरकी लाय्कू कुमारी छिन् । भक्तपुरमा हाल बज्राचार्य थरकी लाय्कू कुमारी छिन् । भक्तपुरमा बज्राचार्य मात्र होइन, शाक्य वंशबाट पनि लाय्कू कुमारी रहनसक्ने व्यवस्था रहेको छ । काठमाडौं उपत्यकाबाहेक नुवाकोटमा पनि लाय्कू कुमारी रहने व्यवस्था छ ।लाय्कू कुमारीपछि नगर कुमारीको परम्परा पनि हाम्रो समाजमा रहेको छ । नगर कुमारीको रूपमा बुंगमतिकी कुमारी, तोखा कुमारी, सक्व वा साँखु कुमारी छिन् भने नगर कुमारीपछि टोल कुमारीको रूपमा मखनमा र किलागलमा ज्यापु कुमारी पनि हाम्रो परम्पराभित्र रहेको छ । यसको साथमा दशैंको अवसरमा आ–आफ्नो घरमा रहेकी कुमारी कन्यालाई कुमारीको रूपमा पूजा गर्ने चलन पनि नेवार समाजमा रहेको छ ।

स्थानको साथै जातीय आधारमा पनि कुमारीको पूजा गर्ने परम्परा रहेको छ । लाय्कू कुमारीको रूपमा शाक्य वा बज्राचार्य कुलकी कन्यालाई कुमारीको रूपमा पुज्ने चलन चलिआएको छ भने ज्यापु समुदायबाट ज्यापु कुमारीको उल्लेख भइसकेको छ । साथमा नेवार समाजको पुरोहितको रूपमा परिचित देवब्राम्हण राजोपाध्यायहरूको पाटनको स्वनिम्ह टोलमा कुमारी रहने प्रचलन थियो, जुन हाल देखिँदैन । ब्राम्हण जातिको कुमारी पूजा गर्दा सिद्धि प्राप्त हुने, शाक्य कुलको कुमारी आराधना गरे कीर्ति प्राप्त हुने, नाम कमाइने, ज्यापु कुमारी पूजा गरे धन प्राप्ति हुने, नापित, कपाली कुलको कुमारी पूजा गरेमा सन्तान प्राप्ति हुने जनविश्वास समाजमा छ ।

उल्लिखित कुमारीमध्ये धेरै जसो प्रचलन भने हाल लोप भइसकेको अवस्था छ ।कुमारीलाई समाजमा विभिन्न रूपमा मान्ने गरिन्छ । कुमारीलाई कौमारी पनि भन्ने गरीन्छ । तर, यहाँनेर थुप्रै प्रश्नहरू उब्जिन सक्छन्, जुन स्वाभाविक पनि हो । कुमारीले राष्ट्रको कल्याणका लागि आफ्नै प्रेमीको हत्या गरी जीवनभर अविवाहित भई कुमारी रहने बचन लिएकी थिइन् । सोहीअनुसार कुमारीले कहिल्यै विवाह पनि गरेनन् । तर, कौमारी त कुमारकी शक्ति अथवा स्त्री हुन् । अब अविवाहित कुमारीलाई कसरी कुमारकी स्त्री मान्ने ? हरेक स्त्रीको मासिक श्राव हुनु प्रकृतिको नियम नै हो । पुरुष भएका स्त्रीहरूको पनि मासिक श्राव पछि उनी पवित्र भई कुमारीसरह नै हुन्छिन् भनेर वशिष्ठमस्मृति, बौधायन धर्मसूत्र आदिलगायतका विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सो दृष्टिकोणले कौमारी पनि कुमारकी स्त्री भए पनि मासिक श्रावसँगै उनी कुमारी हुन्छिन् भन्ने तर्क राख्ने गरिन्छ । अग्निपुराणमा चामुण्डाले कुमारी रूप धारण गरेको उल्लेख पाइन्छ । कोमारीपूजा नामक मल्लकालीन हस्तलिखित ग्रन्थमा अष्टमातृकालाई नै कुमारीको रूपमा पुजिने उल्लेख छ । यसप्रकार कुमारीलाई कौमारीमात्र होइन, सम्पूर्ण अष्टमातृकाकै रूपमा लिने गरिएको देखिन्छ ।तलेजु भवानी मल्ल राजाहरूका आराध्यदेवी हुन् । कुमारीलाई उनै तलेजु भवानीको प्रतिरूपको रूपमा पनि लिइन्छ । यो सम्बन्धमा एउटा रमाइलो किंवदन्ती समाजमा प्रचलित छ । कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल तलेजु भवानीसँग पासा खेल्ने गर्थे । पासा खेल्दा तलेजु भवानी भने पर्दाभित्र बस्थिन् र पासा फ्याक्नलाई आफ्नो हातमात्र पर्दा बाहिर निकाल्ने गर्थिन् ।

एक दिन पासा खेल्दै गर्दा भवानीको सुन्दर हात देखेर जयप्रकाशको मनमा पाप जागेछ र उनको हात तान्न पुगेछन् । जय प्रकाश मल्लको यस व्यवहारबाट क्रोधित भई तलेजु भवानी त्यहाँबाट अन्तध्र्यान भएछन् । पश्चाताप भई जयप्रकाशले क्षमा मागेर धेरै अनुनय विनय गरेपछि तलेजु भवानीले कुनै एक कन्यालाई कुमारीको रूपमा पूजा गरेर रथमा राखेर नगर परिक्रमा गराउनु र उनै कन्यामा आफू प्रवेश गरी लोक कल्याणका लागि आउने आदेश तलेजु भवानीबाट भयो । सोही आदेशअनुसार जयप्रकाश मल्लले कुमारी स्थापना मात्र गरेनन्, सँगसँगै कुमारीघर पनि बनाई, कुमारीलाई रथमा राखेर नगर परिक्रमा गराई जात्रा गरे ।

यो किंवदन्तीको आधारमा राजा जयप्रकाश मल्लले हाल वसन्तपुरमा रहेको कुमारी घर बनाउन लगाएको र कुमारीको रथयात्राको शुरूवात त गरेको देखिन्छ । तर, नेपालमा तलेजु भवानी भित्रिनुअघि नै लिच्छवीकालमै कुमारीको पूजा गर्ने परम्पराको सुरुवात भइसकेको देखिन्छ ।योसँगै मथुरासुर दैत्यले देवगणलाई धेरै दुःख दिएपछि पार्वतीले मथुरासुर दैत्यको संहार गर्न आफूले मानवकन्याको रूपमा जन्म लिने बचन दिइन् र सोही वचनअनुरूप नै पार्वतीले नै श्वेतकाली अथवा नरदेवीको पुत्रीको रूपमा कुमारीको रूप लिएर जन्म लिएको किंवदन्ती पनि समाजमा प्रचलित छ । यसको आधारमा कुमारीलाई पार्वतीको रूपमा पनि लिने गरिन्छ ।

कुनै पनि धर्म वा परम्परा हावापानी, स्थानीय उपलब्धता वा विश्वासको आधारमा स्थानीयकरण हुनु स्वाभाविक हो । आ–आफ्नो चलनअनुसार जातीयकरण वा धार्मिकीकरण पनि भइरहन्छ । यसलाई स्वाभाविक र सामाजिक प्रक्रियाको रूपमा लिनुपर्दछ । तर, कुमारी कुनै एक धर्म विशेषको मात्र देवी पक्कै होइनन् । कुमारी त त्यागको प्रतीक पनि हुन् । साथमा राष्ट्रप्रेमको ज्वलन्त उदाहरणको रूपमा पनि कुमारीलाई लिनुपर्छ ।

आफ्नो स्वार्थ आफ्नो प्रेमको लागि मात्र नसोची उनले जसरी राष्ट्रको लागि आफ्नो प्रेम र जीवनको नै बलिदान दिए, त्यसले त्याग र राष्ट्रप्रेमको ठूलो शिक्षा दिइरहेको छ । र यो शिक्षा वर्तमान परिवेशमा पनि निकै सान्दर्भिक छ । यसको साथै जसरी विभिन्न धार्मिक समुदायले कुमारीलाई आफ्नो बनाए, त्यसले धार्मिक सहिष्णुताको उदाहरण प्रस्तुत गरेको छ । सबैले आफ्नो आस्था, आफ्नो श्रद्धाको केन्द्र बनाएकी कुमारीलाई कुनै एकमात्र धार्मिक मतभित्र सीमित बनाइनु हुन्न ।

प्रतिक्रिया दिनुहोस्