अर्काको नाममा ट्रायल दिने ५ जना पक्राउ

0
Shares

भक्तपुर । प्रहरीले नक्कली सरकारी कागजात बनाई अर्काको नाममा सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिएको अभियोगमा ५ जनालाई नियन्त्रणमा लिएको छ ।

मध्यपुर थिमिको राधेराधेथित इजी वे ट्रायल सेन्टरमा नक्कली नागरिकता र नक्कली प्रवेशपत्र बनाएर अरू व्यक्तिको ट्रायल दिने पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा दुधौली १४ का २१ वर्षीय टुल्कुसिंह तामाङ, कालिकोट महबई १ घर भई भक्तपुर कटुन्जे बस्ने २४ वर्षका ईन्द्रबहादुर बानियाँ ,गोरखा भीमसेनस्थान १ का २२ वर्षीय राजकुमार श्रीमल,सिन्धुली दुधौली ११ घर भई चाबहिल बस्दै आएका २० वर्षीय मनिष श्रेष्ठ र दुधौली ४ घर भई तीनकुने काठमाडौं बस्ने २० वर्षका मनिष लामिछाने रहेका छन् ।

उनीहरूलाई लिखितसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले नक्कली नागरिकता, पासपोर्ट, प्रबेश पत्र, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल समेत नियन्त्रणमा लिएको हो ।