बालुवा बिक्रीबाटै लाखौं आम्दानी

0
Shares

मुगु ।

छायानाथ रारा नगरपालिका–६ बालैबासीको आम्दानीको मुख्य स्रोत बालुवा बिक्री रहेको छ । स्थानीय बालै खोलाबाट बालुना ननिकाली स्थानीय बासिन्दाकोे छाक टर्दैन ।

छायानाथ रारा नगरपालिका–६ बालैका ३४ वर्षीय भामबहादुर नेपाली हरेक विहान बगरमा बालुवा निकाल्न पुग्नुहुन्छ । दिनभर खोलाबाट बालुवा निकाल्दा मुस्किलले परिवार पाल्न पुग्ने गरेको उहाँको भनाइ छ ।भामबहादुर मात्रै होइन बालैका अधिकांशको मुख्य रोजगारी नै खोलाको बालुवा निकाल्ने भएको छ । उज्यालो गाउँका अधिकांश युवा खोलामा पुगिसकेका हुन्छन् । यहाँका मानिसको मुख्य काम कृषि नै हो ।

परम्परागत रूपमा गरिने कोदो, धान, फापर, कागुनो, चिनोखेतीले परिवार पाल्न नपुगेपछि उनीहरू खोलातिर झरेका हुन् ।
बालैगाउँ सडक सञ्जालमा जोडिएपछि गमगढी बजारलगायत स्थानमा पक्की घर बन्न थालेका छन् । जसका कारण गाउँमै बालुवाको माग बढेको छ । उनीहरूको माग पूरा गर्न भामबहादुरसहित गाउँका युवा बालुवा संकलनमा होमिएका छन् ।
उनीहरू बालुवा बेचेर आर्थिक जोहो, जीविकोपार्जनमा जुटेका हुन् । बालै बगरमा बस्दै आएका ६० घरधुरीले नदी किनारमा बालुवा निकाल्ने स्थानसमेत भागबन्डा गरेका छन् ।

असार, साउन र भदौ तीन महिनामा निकालेको बालुवाले एक वर्षसम्म घर खर्च चलाउने, बालबच्चा पढाउने गरेको भामबहादुरले बताउनुभयो । यो सिजनमा एउटा परिवारले कम्तीमा ५० हजारदेखि २ लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको स्थानीय प्रेमबहादुरले बताउनुभयो ।नदीबाट बालुवा निकालेर बिक्री गर्दा नगरपालिकालाई प्रतिट्याक्टर १ सय र बालैबगर रारा राष्ट्रिय मध्यवर्ती क्षेत्रलाई ३ सय रुपियाँ राजस्व तिर्ने गरेको भामबहादुरले बताउनुभयो । मध्यवर्ती क्षेत्रबाट १५ कात्तिकदेखि १५ जेठसम्म बालुवा निकाल्न पाइँदैन ।

बालुवा निकाल्ने व्यक्तिबाट शुल्क नलिने बालुवा किनेर लिने व्यक्तिबाट राजस्व लिने गरेको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष बलराम साहनीले बताउनुभयो ।