डुबानले तरकारी र धानबालीमा क्षति

0
Shares

महोत्तरी ।

अविरल वर्षासँगै बाँध भरिएर स्थानीय रातु नदीबाट सोझै कुलोमा पस्दा महोत्तरी एकडारा–६ कि सरस्वती यादवको करिब एक बिघा खेत डुबानमा परेको छ ।
अव्यवस्थित कुलोबाट आएको पानी खेत र बारीमा पसेपछि त्यहाँ लगाइएका तरकारी र खेतमा क्षति पुगेको छ ।

बाँध र कुलो व्यवस्थित हुन नसक्दा सरस्वती मात्र होइन रामवती मण्डलको पनि उस्तै अवस्था छ । बर्सेनी डुबानको समस्या झेल्दै आउनुभएकी मण्डलले अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी क्षति व्यहोर्नुपरेको बताउनुहुन्छ ।
थोरै खेतमा हुने उत्पादनबाट ५ जनाको परिवार धान्दै आउनुभएकी रामवतीलाई यसपाटक कसो गर्ने होला भन्ने चिन्ता थपिँदै गएको छ ।

‘अब खै यसपटक त भोकमारी लाग्ला जस्तो छ,’ उहाँले भन्नुभयो । सरस्वती र रामवतीको जस्तो खेतबारी डुवान मात्र होइन एकडारा –६ गनरापुरामा कयौं घरसमेत बाढीको चपेटामा परेका छन् ।गनरापुराकै रविशंकर दासको परिवार यतिबेला घर न घाटको बनेको छ । कुलोसँगै जोडिएको उहाँको घर डुबानमा परेको छ । पानी पस्न नपाएको एउटा कोठामा परिवारका सबै सदस्य बसेर गुजरा गरिरहेको दासले बताउनुभयो ।

बाढीले खेत गेग्रानमा परिणत भएका छ । लगाइएको धानबाली नष्ट भएको छ भने खेल पोखरीजस्तै देखिएका छन् । बाढीले सडक सञ्जाल पनि नोक्सान गरेको छ ।‘अघिल्लो वर्ष रातु नदीले २ सय घरपरिवारलाई नोक्सान पु¥याएको थियो ।
हामीलाई यो कुलोले निक्कै समस्या बनाउँदै आएको छ । बर्सेनि यही कुलोको कारण धेरै घरबारविहीन बन्नुपरेको थियो’ – विगत सम्झिँदै जगदीश दास भन्नुहुन्छ ।

कुलोमा आउने बाढीले एकडाराको गनरापुराका साथै पर्सा, बटुलिया, कन्कार, सखुवा, हलखोरी, थरवाइ, सक्री, नेनी, बासुपट्टीलगायत स्थान डुबानमा हुने गरेका छन् । यस वर्ष आएको बाढीले करिब ३ सय बिघा खेत डुबानमा परेको छ ।