काठमाडौं ।
विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने १ सय ५१ चालक कारबाहीमा परेका छन् । निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही शुरू गरेको हो ।
कारबाहीमा परेकामध्ये अधिकांश विद्यार्थीले चालक अनुमतिपत्र नबोकेको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार कारबाहीमा परेका अधिकांश विद्यार्थीलेसवारी चालक अनुमतिपत्र नबोकिकन मोटरसाइकलक चलाएका थिए ।
प्रहरीले दुई दर्जनभन्दा बढी स्थानमा चेक प्वाइन्ट राखेर चेकजाँच गर्ने गरेका थिए । बिहान साढे ५ देखि साढे ७ बजेसम्म भएको चेकजाचमा ट्राफिक प्रहरी कार्यालयले झण्डै ५० विद्यालयका १ सय ५१ जना बस चालकलाई कारबाही गरेको प्रवक्ता एसएसपी भट्टले बताउनुभयो । तीमध्ये ३३ जना मादक पदार्थ सेवनमा, १० जना क्षमताभन्दा बढी विद्यार्थी चढाएकोमा कारबाहीमा परेका थिए भने साइड लाइट नबलेको, पुरानो सवारीसाधन चलाएको लगायतको कसुरमा १ सय ८ गरी चालक पक्राउ परेका छन् ।
ट्राफिक प्रहरीले नियमविपरीत बस सञ्चालन गरेको आरोपमा विद्यालय सञ्चालकलाई पनि सोधपुछ गरेको छ । यसअघि खासै चोकजाँच नभएका विद्यालय बस चालक र विद्यार्थी सवार मोटरसाइकलले विकृति बढाएको सूचना पाएपछि ट्राफिक कार्यालयले कारबाही शुरू गरेको हो । एक महिनाअघि प्याब्सन र एन प्याब्सनका अधिकारीसँग भएको बैठकमा विद्यार्थीले चलाएको सवारी र विद्यालयले सञ्चालन गरेको बसको चेकजाँच गर्ने सहमति भएको थियो ।
प्याब्सनका अध्यक्ष डिके ढुंगानाले नियमविपरीत सवारी चलाउने विद्यालयका चालकलाई कारबाही गर्नु स्वभाविक भएको बताउनुभयो । उहाँले ट्राफिक प्रहरी कार्यालयकै सल्लाहअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताउँदै भन्नुभयो– ‘यसमा हाम्रो कुनै विरोध हुँदैन । अनुमतिपत्र बिना मोटरसाइकल चलाउनु विद्यार्थीको गल्ती हो । त्यस्तामाथि कारबाही गर्नु ठिक हो ।’
प्रवक्ता भट्टले कारबाही अझै केही समय जारी रहने जानकारी दिनुभयो । ट्राफिक प्रहरीले दैनिक झण्डै ७५ जनाको हाराहारीमा विद्यार्थी र चालकलाई कारबाही गरिरहेको छ ।
विद्यार्थीले सवारी चालक अनुमतिपत्र प्राप्त नगरेका, नम्बर प्लेट दुरुस्त नभएका, तीनजना राखी मोटरसाइकल चलाएका, तीव्र गतिमा दायाँबायाँ ढल्काएर चलाउने, हेल्मेट नलगाई मोटरसाइकल चलाउनेलाई कारबाही गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।
प्रतिक्रिया