प्रधानमन्त्री देउवालाई पठाएको ‘निमन्त्रणा-पत्र’ स्वास्थ्य मन्त्रालयको प्रवेशद्वारमा बेवारिस अवस्थामा

0
Shares

काठमाडौं । नेपालका सरकारी कार्यालयहरुको लापरवाहीको हद बारे त प्रायः सबैलाई थाहा छ, तर गैह्र सरकारी संस्थाहरुको लापरवाहीको नमुना पनि बुधबार छताछुल्ल देखियो ।

संस्थाको स्थापनाको ४० औं वार्षिकोत्सव समारोहको प्रमुख अतिथि बनिदिन अनुरोध गर्दै नेपाल अर्वुदरोग निवारण संस्था, केन्द्रीय कार्यालय बालकुमारी ललितपुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्वोधन गरेर लेखेको निमन्त्रणापत्र बुधबार अपरान्ह ३ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेशद्वारको टेवलमा वेवारिसे अवस्थामा फेला पर्यो ।

मन्त्रालयमा आवत जावत गर्ने धेरैले उक्त पँहेलो खाम खोल्दै त्यसभित्रको पत्र पढेर त्यही टेवलमा छोड्दै गरेको अवस्थामा पत्रकार बलराम प्यासीले फेला पारेर स्वास्थ्य मन्त्रालयको छिँडीमा रहेको दर्ता चलानीमा बुझाएका थिए ।

मन्त्रालयको दर्ता चलानी काउण्टरभन्दा करीव २० मिटर अगाडी प्रवेशद्वारमा रहेको पुरानो टेवलमाथि त्यो पत्र कसले कतिखेर वेवारिसे अवस्थामा छोडेर गएको भन्ने विषयमा दर्ता चलानीमा बसेका कर्मचारीले थाहा नपाएको बताए ।

यही भदौ ३१ गते शुक्रबार हुन लागेको सो संस्थाको ४० औं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि बनिदिनको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्वोधन गरेर प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बुझाउनुपर्ने सो निमन्त्रणापत्र स्वास्थ्य मन्त्रालय रामशाहपथको टेबलमा कसले किन वेवारिसे अवस्थामा छोड्यो कसैलाई थाहा छैन ।

नेपाल अर्वुद्धरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले हस्ताक्षर गरेको सो निमन्त्रणापत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ससम्मान प्रधानमन्त्री कार्यालयमा पठाउला कि नपठाउला त्यो भने हेर्न बाँकी छ ।

नेपाल अर्वुदरोग निवारण संस्थाको ४० औं वार्षिकोत्सव कार्यक्रम यही भदौ ३१ गते शुक्रबार नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा विहान ११ वजे हुने कुरा सो निमन्त्रणापत्रमा उल्लेख गरिएको छ ।