कोभिडले प्रभाव पारेको व्यापार-व्यवसाय उकास्न रात्रिकालिन बजार

0
Shares

बुटवल । रात्रिकालिन बजार सञ्चालन गर्न जिल्ला सुरक्षा समिति रुपन्देहीले तयार गरेको बजार सञ्चालन मापदण्डको मस्यौदा माथी बुटवलका व्यवसायिक संघसंस्थाहरुले छलफल गरेका छन् ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा यस क्षेत्रका व्यवसायिक संघ संस्थाहरुले रात्रिकालिन बजार कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुको साथै सुरक्षा समितिले बनाएको बजार सञ्चालन मापदण्डका विषयमा अन्तरक्रिया गरिएको हो । जिल्ला सुरक्षा समितिले रात्रीकालिन बजार सञ्चालनको लागि मापदण्डको मस्यौदा बनाएर व्यवसायिक संघसंस्थाहरुलाई छलफल गरी सुझाव दिन आग्रह गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोभिड–१९ को महामारीसंगै ओरालो लागेको व्यापार व्यवसाय मुलुकमा उत्पन्न भएको आर्थिक मन्दीले झनै धाराशाही भएको र व्यवसायीहरुलाई टिकाउन र यहाँको बजार चलायमान बनाउन सकिन्छ की भनेर रात्रिकालिन बजारको अवधारणा ल्याईएको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा रात्रिकालिन बजार पहल पैरवी समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रतिक पोखरेलले सुरक्षा समितिले तयार गरेको बजार सञ्चालन मापदण्ड मस्यौदाका विषयमा प्रकाश पार्दै रात्रीकालिन व्यवसाय सञ्चालन गरियो भने यसका माध्यमबाट आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउन सकिने र त्यसका माध्यमबाट बजार पनि चलायमान हुने र व्यापार व्यवसाय पनि प्रवद्र्धन हुने बताउनु भयो । बुटवल उद्योग वाणिज्य संघले बुटवलको अमरपथ र कालिका पथमा रात्रिकालिन बजार सञ्चालन गर्न प्रस्ताव गरेको छ ।

कार्यक्रममा व्यवसायिक संघसंस्थाका प्रतिनीधिहरुले रात्रिकालिन बजारको अवधारणा राम्रो भएको बताउँदै शान्ति सुरक्षाका विषयमा स्वयम व्यवसायी पनि संवेदनशिल हुनुपर्ने बताएका थिए । तर सुरक्षा समितिले तयार गरेको मापदण्डका कतिपय प्रावधान सुधार गर्नुपर्ने उनीहरुको भनाई छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष प्रदिप श्रेष्ठ र वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले रात्रिकालिन व्यवसाय रातीको समयमा सञ्चालन हुने भएकाले शान्ति सुरक्षाको विषयमा प्रहरी प्रशासन मात्रै नभएर स्वयम् व्यवसायी पनि संवेदनशिल हुनुपर्ने भनाई राख्नुभयो । त्यस्तै सिसिटिभि, लाईट अनिवार्य रहेको बताउँदै त्यो कसले राख्ने र त्यसको मोनिटरिङ् कसले गर्ने भन्ने विषयमा पहिले नै प्रष्ट हुनुपर्ने उहाँहरुको भनाई छ ।

होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले उद्योग वाणिज्य संघले गरेको यो पहल स्रहानीय रहेको बताउँदै यो कार्यक्रम सञ्चालन गर्न सकियो भने देशमै उदाहरणीय हुने भनाई राख्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा नाटा लुम्बिनी प्रदेशसहित यस क्षेत्रका व्यवसायिक संघसंस्थाहरु होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघ लगायतका व्यवसायिक संघसंस्थाका प्रतिनीधिहरु तथा संघका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।