आजबाट नमुना मतपत्र छपाइ शुरू

0
Shares

काठमाडौं । निर्वाचन आयोगले आजबाट नमुना मतपत्र छपाइ शुरू गरेको छ । आयोगको टोलीले हिजो जनक शिक्षा सामग्री संस्थान लिमिटेडमा नमुना मतपत्रको छपाइ गर्न निर्देशन दिएपछि आज बुधबारबाट छपाइ शुरू हुन लागेको हो ।

करिब एक सातादेखि नेपाली सेनाको टोली जनक शिक्षा पुगिसकेको छ । आयोगले १५ गतेबाट नमुना मतपत्र छपाइ गर्न तयारी गरेको थियो । तर, प्राविधिक कारण देखाउँदै २० गतेमात्र सामग्री तयार गरी केन्द्रलाई दिएको हो ।

‘पहिलो चरणमा प्रदेश तहको समानुपातिक मतपत्र छपाइ गर्न लागेको हो । केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले मंगलबार आयोगको टोलीले छपाइ गर्न अनुमति दिएको थियो । आयोगले अनुमति दिएपछि आजबाट शुरू गर्ने भएका छौं’ –आचार्यले भन्नुभयो ।

केन्द्रले २ लाख ५० हजार थान नमुना मतपत्र छपाइ गर्नेछ । शुरूमा प्रदेश त्यसपछि संघअन्तर्गत समानुपातिक मतपत्र छपाइ गर्ने तयारी छ । मतपत्र छपाइ शुरू भएपछि सेक्युरिटी प्रेसको जिम्मा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले लिनेछ ।

मुख्य सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ । मुद्रणालयभित्र रहेका सबै कर्मचारीले प्रेसमा तैनाथ नेपाली सेनाको अनुमति लिएर मात्र बाहिर जान पाउनेछन् ।