गठबन्धन कसका लागि ?



राजनीतिक दलहरु लोकतान्त्रिक राज्यव्यवस्थाका आधारभूत संवाहक हुन् । राजनीतिक दलविनाको लोकतान्त्रिक व्यवस्था कल्पनासम्म गर्न सकिन्न । तर अहिले तिनै राजनीतिक दलहरु सत्तास्वार्थले प्रेरित भई गठबन्धनमा लागेका छन् । गठबन्धनको लक्ष्यमा देश र जनताको हित रहेको देखिन्न ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि पाँच दलीय गठबन्धन सिटको बाँडफाँडमा रस्साकस्सी गरिरहेका छन् । फरक विचार र सिद्धान्त बोकेको गठबन्धन दलहरुले आ–आफ्नो विशुद्ध हित र नेता विशेषको स्वार्थ बाहेक गठबन्धनको अरु खास औचित्य पुष्टि हुन सकेको छैन । गठबन्धन दलसँंग निर्वाचनमा जनतालाई आश्वस्त पार्ने एजेन्डाको स्पष्ट चित्रसमेत देखिंदैन । सैद्धान्तिक धरातल नभएको गठबन्धनबाट देशको दूरगामी भविष्यका लागि स्पष्ट एजेन्डा आउन सकने कुरो पनि भएन ।

राजनीतिक गठबन्धन भनेको राजनीतिक दल वा शक्तिहरूबीच विशिष्ट राजनीतिक लक्ष्यका निमित्त संयुक्त प्रयासमा मञ्चको निर्माण हो । खास एजेन्डाका लागि प्रेरित सरकार निर्माणका निमित्त पनि गठबन्धनको औचित्य हुन सक्दछ । देशको दीर्घकालीन हितभन्दा तात्कालिक फाइदाका लागि गठबन्धन हुने गरेको जनताले स्पष्टसंँग बुझेका छन् । वर्तमान सत्ता गठबन्धन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक प्रवृत्तिको जगमा निर्माण भएको हो । २०७४ फागुन ३ मा झन्डै दुई तिहाइ मत सहित प्रधानमन्त्री बनेका ओलीले सत्ता स्वार्थका लागि दुई पटक प्रतिनिधिसभा भंग मात्र गर्नुभएन, संविधानको भावना विपरीत अध्यादेशमार्फत् कानुन संशोधन र राज्यका शक्तिशाली निकायलाई आफूमा केन्द्रित समेत गर्नुभयो ।

सत्ता गठबन्धनले हिजो ओलीका तिनै कदमको चर्को विरोध गरेको थियो । तर ओलीको हातबाट सत्ता फुत्काएको एक वर्ष बित्दासम्म पनि गठबन्धनले आफूलाई ओलीभन्दा फरक देखाउन सकेको छैन । हिजो ओलीको शासनकालमा गलत भयो भनेर विरोध गर्ने, आज तिनै गल्ती आफैले दोहो¥याउँदै जाने काम भएको छ । चुनावी गठबन्धनको एकमात्र उद्देश्य सत्ताको निरन्तरता साबित भएको छ । अहिले देखिएको चुनावी गठबन्धनको उद्देश्य पनि सत्ताप्राप्तिको क्षणिक स्वार्थभन्दा बढी नभएको प्रस्ट छ । विचार, नीति र कार्यक्रममा एकरूपताविना मात्र सत्ताका निमित्त भएका यी गठजोरले मुलुकलाई पुनः कम्तिमा पाँच वर्षसम्म यथास्थितिकै भुँमरीमा घुमाइरहने आभास दिन्छ ।

देश इतिहासकै कठिनतम अवस्थामा गुज्रिंदै गर्दा सत्ता गठबन्धन वा प्रतिपक्षले देश र जनताकेन्द्रित कुनै पनि प्रतिबद्धता पूरा गरेका छैनन् । राजनीतिक सिद्धान्त, विचार र दर्शनको संगति बिनाको गठबन्धनले पार्टी राजनीतिलाई अविश्वसनीय बनाएको छ । अन्ततः यसले लोकतन्त्रलाई नै कमजोर बनाउने जोखिम बढेको छ ।

मुलुकको राजनीतिक अवस्थालाई जुन कोणबाट हेर्दा पनि स्थिति भयावह नै देखिन्छ । भ्रष्टाचारको व्यापकता र राजनीतिक दलका आसेपासेले मात्र समृद्धिको अनुभूत गर्न पाएको, प्रशासनिक ढिलासुस्ती, कमिशन नखुवाईकन काम नै नहुने अवस्था र भागबण्डाको संस्कृतिले राज्य सञ्चालनका सबै अंग प्रदूषित छन् । यस्तो अवस्थामा पाँच दलीय गठबन्धन कागलाई बेल पाक्यो, हर्ष र विस्मात मात्र सिद्ध भएको छ । यसले देश र जनताको हितका लागि ठोस काम गर्नसक्ने गरी जनतालाई आस्वस्त तुल्याउन नसक्नु अहिलेको राजनीतिको दुःखान्त विषय हो ।

प्रतिक्रिया दिनुहोस्