भावी प्रधानमन्त्रीको सपना बोकेर चुनावी मैदानमा नेताहरू



काठमाडौं । 

सरकारले घोषणा गरेको चुनावको मिति आउन साढे २ महिना बाँकी छ । मंसिर ४ को संसदीय निर्वाचनपछि कसले सरकारको नेतृत्व गर्ने भन्ने होडबाजी राजनीतिक वृत्तमा शुरू भएको छ । खास गरी वर्तमान सत्ता साझेदार पाँच दल गठबन्धन गरेर चुनामा जाने निर्णय भएसँगै गठबन्धनकै सरकार बन्नेमा नेताहरू प्रायः ढुक्क छन् ।

तर गठबन्धनबाट कसले सरकारको नेतृत्व गर्ने भन्ने हानाथाप अहिले नै शुरू हुन थालेको छ । भावी सत्ताको हिसाबकिताब मिलाउन नसक्दा सत्ता गठबन्धनभित्र सोमबारसम्म सिट भागबण्डाको कुरासमेत मिलिसकेको छैन । चुनावपछि पनि प्रधानमन्त्री हुने तीव्र आकांक्षाका बीच गठबन्धनको डोरी बाट्नुभएका नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त गठबन्धनलाई चुनावपछिको पाँचवर्षे कार्यकालसम्म कायम राख्ने गरी जाने बताउँदै आउनुभएको छ । यसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सहमति जनाउनुभएको छ ।

तर प्रधानमन्त्री आलोपालो हुनुपर्ने र चुनावपछिको पहिलो प्रधानमन्त्री आफैं हुने भन्ने सर्त दाहालको छ । यद्यपि, राजनीतिक च्याँखे थाप्न माहिर प्रचण्डको बोलीको ठेगान नभएका उहाँका कुरालाई अनुमान मात्रै लगाउन सकिने गठबन्धनभित्रकै नेताहरूको भनाइ छ । उहाँ कतिखेर कोसँग मिल्दा च्याँखे बल्झिन्छ भन्ने दाउमा रहेकाले प्रचण्डको बोलीमा विश्वास गरिहाल्ने अवस्था नरहे पनि प्रधानमन्त्रीको लाइनमा उभिएको कुरालाई स्वाभाविक मान्न सकिने नेपाली कांग्रेसका एक नेताले बताए । कांग्रेस सभापति शेरबहादुर देउवा फेरि पनि प्रधानमन्त्री बन्ने सम्भावना बलियो रहेको ती नेताको भनाइ छ । यो सम्भावनालाई सार्थकता तुल्याउन देउवा कम्मर कसेर लाग्नुभएको छ ।

आगामी सरकारको नेतृत्व कांग्रेसले गर्छ र प्रधानमन्त्री आफैं हुने भन्ने योजनाका साथ पार्टीको संसदीय दलभित्र आफ्नो पक्षमा बहुमत हुने गरी टिकट वितरण गर्ने त्यो पनि जित्ने क्षेत्रहरूमा नछाड्ने देउवाको रणनीति छ ।अर्कोतिर कांग्रेससँग चुनावी गठबन्धन भएपछि करिब ३३ प्रतिशत सिट लिएर चुनावमा जाने र चुनाव जितिसकेपछि सरकार बनाउने बेलासम्म राजनीतिक हिसाबकिताब गरेर कोसँग मिल्दा आफू प्रधानमन्त्री भइन्छ उसैलाई साथ दिने र प्रधानमन्त्रीको पद खाने सोच प्रचण्डमा देखिएको छ । देउवा र प्रचण्डबीचको छुट्टाछुट्टै भेटले टिकटको भागबण्डामै आगामी सरकार बनाउने विषयमा समेत छलफल भएको स्रोतको दाबी छ ।

उता नेकपा एमालेले आगामी प्रधानमन्त्री केपी ओलीको विकल्प नभएको पार्टी कमिटीले नै निर्णय गरेर अघि बढिसकेको छ । सरकारको नेतृत्व एमालेले गर्ने र प्रधानमन्त्री केपी ओली नै हुने भन्दै पार्टीको चुनावी प्रचार अभियान एमालेले शुरू गरिसकेको छ । पाँच दलीय गठबन्धनभित्र आन्तरिक असहयोग हुने र साना दलहरूसँग आफूले चुनावी एकता गरेर जाँदा राम्रो नतिजा निकाल्न सक्ने भन्दै एमाले त्यो कसरतमा लागेको छ । राप्रपालगायत दलहरूसँगको सहकार्यमा चुनावमा जाने तर पाँच दलीय गठबन्धन जस्तै केन्द्रीय स्तरमै भागबन्डा गरेर भन्दा पनि स्थानीय अवस्था र आवश्यकताअनुसार कसलाई सहयोग गर्दा परिणाम आउँछ उसैलाई सहयोग गरेर जाने गरी छलफल भइरहेको नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

भावी प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीलाई नै अघि सारेको उहाँको भनाइ छ । ‘हामी चुनावपछिको सरकार बनाउने गरी देशभरका कार्यकर्ता परिचालन गरेर पहिलो हुने प्रयासमा छौं’, उहाँले भन्नुभयो– ‘निर्वाचनपछिको सरकार एमालेले बनाउने हो त्यसको नेतृत्व केपी ओलीले गर्नुहुन्छ ।’ पटकपटक प्रधानमन्त्री भइसकेका र पार्टीको नेतृत्वमा रहेका तीन शीर्ष नेताहरू चुनावपछिको प्रधानमन्त्रीको लाइनमा बसिसके पनि उनीहरूसँगै नयाँ अनुहारले समेत भावी प्रधानमन्त्रीको दाबी गरेका छन् । देशको प्रधानमन्त्री हुनका लागि पटकपटक प्रयास गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी प्रधानमन्त्रीको दाबी गरेर चुनावी चलहपहल थाल्नुभएको छ ।

‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म अझै सक्रिय राजनीतिमा छु’, पौडेलले भन्नुभयो– ‘देशको उन्नति र प्रगति कसरी गर्ने दूरदृष्टि पनि मसँग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामथ्र्य पनि छ । सुशासन दिन कार्यकारी पदमा पुग्नेसँग नैतिक बल चाहिन्छ । त्यो मसँग छ ।’ तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका पौडेलले आगामी सरकारको नेतृत्व आफूले गर्ने भन्दै देशले आफ्नो नेतृत्व खोजेको बताउनुभयो । उहाँसँगै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि चुनावपछि सरकारको नेतृत्व आफूले गर्ने बताउनुभएको छ ।

कांग्रेसका आम कार्यकर्ताको भावना पनि गगन पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवाज उठिहरेको छ । थापाले आगामी सरकारको प्रधानमन्त्री आफूले सशक्त रूपमा दाबी गर्ने र देशलाई नयाँ ढंगले नेतृत्व गर्ने दाबीसहित तयारी भइरहेको बताउनुभएको छ । थापाले प्रधानमन्त्रीको एजेन्डा उठाएर चुनावी अभियानमा लागेपछि कांग्रेसका पुराना पुस्ताका धेरै नेताहरू सशंकित भएका छन् ।

कसको अवस्था कस्तो ?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुराबाट चुनाव लड्ने तयारी गर्दै हुनुहुन्छ । उहाँले २०४८ देखि यस क्षेत्रबाट निरन्तर चुनाव जित्दै पटकपटक मन्त्री र पाँचौंपटक प्रधानमन्त्री भइसक्नुभएको छ । नेपाली कांग्रेस वीपीमा प्रवेश गर्नुभएका कांग्रेसकै पूर्वजिल्ला सभापति कर्ण मल्ल देउवाकै क्षेत्रबाट चुनाव उठ्ने तयारीमा हुनुहुन्छ । मल्लको पकड राम्रो रहेको र अन्य दलहरूसमेत एक ठाउँ भएको खण्डमा प्रधानमन्त्री देउवालाई समेत चुनाव हम्मेहम्मे पर्ने स्थानीय नेताहरू बताउँछन् ।

यसो भयो भने देउवाको छैटौंपटक प्रधानमन्त्रीको सपना अधुरै रहने बहस शुरू भए पनि गठबन्धनका कारण उहाँलाई सहज हुने डडेलधुराका कांग्रेस नेता रमेश रावलले बताउनुभयो । गठबन्धन नगर्दा समेत चुनाव जित्न सकिने भएकाले डडेलधुरामा कांग्रेसले गठबन्धन नगरी एकल चुनाव लड्नुपर्ने भन्दै जिल्ला नेताहरूको देउवालाई दबाब बढाएको उहाँको भनाइ छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन निर्वाचन क्षेत्र ३ बाट चुनाव लड्ने तयारी साथ चुनावी गतिविधिमा केन्द्रित हुनुहुन्छ । आगामी सरकाको नेतृत्व दाबी गरेर लागेका प्रचण्डलाई अन्य दलले चुनाव जित्ने रणनीतिका रूपमा लिएका छन् ।

यस क्षेत्रबाट दोस्रोपटक चुनाव लड्न लागेका प्रचण्डलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालालगायतका नेताले समेत अर्को क्षेत्रबाट चुनाव लडेर चितवनमा कांग्रेसलाई छाड्न सुझाव दिइसकेकाले दाहालले कांग्रेसको सहयोग पाउने नपाउने निश्चित छैन । कांग्रेसको पूर्ण सहयोग नहुँदा दाहाललाई चुनाव जित्न फलामको चिउरा हुने स्थानीय नेताहरूको भनाइ छ । पछिल्लो समयमा विभिन्न विकासे योजनाको शिलान्यास गर्दै हिँडेका दाहाललाई चुनाव घोषणा भइसकेपछि उद्घाटन र शिलान्यास गरेर जनतालाई भ्रम छर्ने काम नगर्न अन्य दलहरूले आग्रह गरेका छन् । यसले पनि दाहालमाथि प्रहार हुन सक्ने आँकलन गर्न सकिन्छ ।

प्रधानमन्त्रीका अर्का प्रत्यासी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस हुनुभएको छ । ओलीको नाम क्षेत्रीय समितिको बैठकले सर्वसम्मत सिफारिस गरेको हो । एमाले–माओवादी गठबन्धन हुँदा ओलीले २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मतकासाथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याउनुभएको थियो । ओलीको संसद् विघटनलगायत गतिविधि, पार्टी फुट र पाँच दलीय गठबन्धनका कारण ओलीलाई समेत उक्त क्षेत्र यसपटक रेडजोनमा रहेको स्थानीय नेताहरूको भनाइ छ ।

प्रधानमन्त्रीको इच्छा राखेका नेता रामचन्द्र पौडेल तनहुँ १ बाट चुनाव उठ्ने तयारीमा हुनुहुन्छ । अघिल्लोपटक एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित पौडेललाई कांग्रेस नेता गोविन्दराज जोशीको समेत असहयोग भएको थियो । ०४८ सालमा तनहुँ १ बाट विजयी भएका पौडेल ०५१ को निर्वाचनदेखि तनहुँ २ बाट निर्वाचन लड्दै जित्दै अउनुभएको थियो । यसपटक गठबन्धनको भागमा तनहुँ कांग्रेसलाई पर्ने र टिकट पाउँदा पौडेलको जित नजिक भए पनि प्रधानमन्त्रीको दौडमा देउवाले पौडेललाई अघि बढाउने सम्भावना न्यून छ ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने तयारीमा रहेका गगनकुमार थापाले आगामी प्रधानमन्त्री हुने प्रयासमा रहेको बताउनुभएको छ । उहाँ जनतामाझ अरु नेताभन्दा पपुलर भएकै कारण चुनाव जिते पनि पार्टीभित्र थापालाई प्रधानमन्त्री स्वीकारिहाल्ने अवस्था देखिँदैन । २०७४ को निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धन हुँदा पनि काठमाडौं–४ बाट एमाले नेता राजन भट्टराईलाई पराजित गरेका नेता थापाको लोकप्रियता नघटेकाले सहज जित हुने गगन निकटका युवा नेता डिल्लीराम सुवेदी बताउनुहुन्छ । तर, सभापति देउवाले टिकट वितरणमै आफ्नो पक्षलाई प्राथमिकता दिने र संसदीय दलमा आफ्नो पक्षमा वर्चस्व कायम हुने गरी सिट वितरण गर्ने देउवाको रणनीतिले थापालाई प्रधानमन्त्रीको कुर्सी चुनौतीपूर्ण देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्