केपी सिमेन्ट गुणस्तरहीन भएपछि सेनाले निर्माणाधीन भवन नै भत्कायो



काठमाडौं ।

‘नेपाली चुनढुंगा, नेपाली हात, केपी सिमेन्टले दिन्छ पुस्तौं साथ’ भन्ने नारा बोकेर बजारमा आएको केपी सिमेन्टलाई अहिले सोही नाराले गिज्याइरहेको छ । केपी सिमेन्टको गुणस्तरमा प्रश्न उठेपछि सो नाराले उसलाई गिज्याएको हो ।

पछिल्लोपटक नेपाली सेनाको आवासीय भवन निर्माण गर्ने क्रममा उक्त सिमेन्टको गुणस्तरमा प्रश्न उठेपछि सेनाले आफ्नो निर्माणाधीन भवन नै भत्काएको छ । काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित नेपाली सेनाको २६ नम्बर वाहिनीको आवासीय भवन निर्माण गर्ने क्रममा केपी सिमेन्ट गुणस्तरहीन रहेको तथ्य फेला परेको छ ।

नेपाली सेनाको उक्त भवन निर्माण गर्न ब्राइट डायना जेभीले ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले भवन निर्माण गर्न प्रयोग गरेको केपी सिमेन्ट गुणस्तरहीन भएपछि निर्माणाधीन उक्त भवन सेनाले भत्काएको छ । सैनिक भवन निर्माण गर्न प्रयोग भएको केपी सिमेन्टका कुनै बोरामा ३३ ग्रेड, कुनैमा ग्रेड मेटिएको र कुनैमा ग्रेड नै उल्लेख नभएका बोरा फेला परेका थिए ।
सिमेन्टको गुणस्तर पहिचान गराउने ग्रेडका बारेमा स्पष्ट नभएपछि सेनाको प्राविधिक टोलीले निर्माण सामग्रीको गुणस्तरबारे छानबिन गरेको थियो ।

सैन्य संरचना निर्माणमा प्रयोग भएका निर्माण सामग्रीको गुणस्तर शंकास्पद देखिएपछि सुरक्षा संवेदनातर्फ सेना चनाखो भएको थियो ।सोही क्रममा सेनानी पीताम्बर रेग्मीको संयोजकत्वमा गठित समितिले भवन निर्माण गर्न आयात भएको केपी सिमेन्ट गत वैशाख ७ गते फिर्ता पठाउने निर्णय गरेकोे सैन्य स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो ।सो निर्णयअनुसार ठेकेदार कम्पनीले खरिद गरेको ७५० बोरा केपी सिमेन्टमध्ये २६५ बोरा सिमेन्ट प्रयोग भइसकेको हुँदा बाँकी रहेको ४८५ बोरा सिमेन्टलाई दुईवटा ट्रकमा लोड गरी कम्पनीमा नै फिर्ता पठाएको थियो ।

त्यस्तै, केपी सिमेन्ट प्रयोग भई निर्माण भएको संरचनालाई समेत सेनाले भत्काउन प्रक्रिया थालेको थियो । गत असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त भवन निर्माणमा ढिलाइ त भयो नै साथसाथै ठेकेदारले आर्थिक नोक्सानीसमेत बेहोर्नुपरेको छ । सैन्य स्रोतका अनुसार केपी सिमेन्टका प्रतिनिधिको रोहबरमा निर्माणाधीन उक्त भवन भत्काइएको थियो । त्यसबापत क्षतिपूर्ति उद्योगले तिर्ने सहमतिसमेत भएको जनाइएको छ । तर, उद्योग लामो समयसम्म सम्पर्कमा नआएको बताइएको छ । दुई ट्रक सिमेन्ट उद्योगमा नै फिर्ता भएपछि उद्योगले आफ्नो कमजोरी स्वीकार गर्दै बेनामे पत्रसमेत पठाएको स्रोतको भनाइ छ ।

धादिङको नौबिसेमा उद्योग रहेको केपी सिमेन्टले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको वेबसाइटमा वार्षिक ५४ हजार टन उत्पादन क्षमता रहेको उल्लेख छ । गुणस्तरका विषयमा विगतदेखि नै केपी सिमेन्ट विवादमा पर्दै आएको छ । त्यसबाहेकको लगानीसमेत शंकास्पद रहेको भन्दै छानबिनसमेत भएका तथ्य सार्वजनिक हुने गरेका छन् । यस विषयमा उद्योग प्रशासनलाई नेपाल समाचारपत्रले बुझ्न गरेको पटक–पटकको प्रयास सफल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्