यात्रुवाहक बस नै चोरी

0
Shares

वीरगन्ज, पर्सा प्रहरीलाई चुनौती दिदै चोरका समूहले अब वीरगन्जमा ठूला ठूला सवारी साधन नै चोरी गर्न थालेको रहश्य खुलेको छ । वीरगन्जको बसपार्क नजिकबाट यात्रुवाहक बस चोरी भएको हो ।

बसपार्क नजिक भिष्वा चोकमा पार्किङ गरेर राखेको निजी ना. ८ क. ७६४८ नम्बरको बस आइतबार चोरी भएको हो । आइतबार दिनभर खोजी गर्दा नभेटिएपछि सोमबार बिहान बसपार्क प्रहरी चौकीमा बस खोजी गरिदिन निवेदन परेको प्रहरीले जनाएको छ ।भिस्वा होटल जाने ईनरवाईपास सडक छेउमै रहेको खाली जग्गामा बसका सह चालक पार्किङ्ग गरी खाना खान गएको बेला आईतबार दिउँसो करिब १ बजेको समयमा बस चोरी भएको बसका साहु लक्ष्मी नारायण रौनियारले बताउनुभयो ।

घटना बारे प्रहरीलाई मौखिक जानकारी गराउँदा पनि आईतबार बेलुका सम्म बस नभेटिएपछि बस चोरी भएको आशंकामा खोजतलास गर्न रौनियारले सोमबार बिहान जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी नै दिनु भएको छ । निवेदन परेसँगै खोजी तीब्र पारिएको प्रहरीले जानकारी दिएको छ तर हल सम्म बस फेला नपरेको प्रहरीले जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साले आफै घटनाको छानविन शुरु गरेको बुझिएको छ । पीडितको लिखित उजुरी परेपछि छानविन शुरु भएको हो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक दीपक गिरीले घटना बारे अनुसन्धान गर्ने काम भईरहेको बताउनुभयो ।