सरकार ! जनताका राय-सुझाव पनि सुन्ने गरौं न

0
Shares

संसारमा अनेक प्रकारका गोलाकार वस्तुहरु पाइन्छन्, जसमध्ये भकुण्डो, चिम, खोपडी, केही फलफूल आदि हुन् । यसबाहेक अरु पनि चिजहरु होलान् तर यहाँ खोपडीको कुरा गर्न गइरहेको छु । खोपडीहरुको कुरा गर्दा, यस धर्तीमा दुई प्रकारका खोपडीहरु छन्– एक राम्रा खोपडी र दुई नराम्रा खोपडी । जुन देशमा राम्रा खोपडी भएका मानिसहरु धेरै हुन्छन्, त्यो देश पक्कै पनि राम्रो हुन्छ ।

जुन हामीले प्रत्यक्षरुपमा देखिराखेका पनि छौं । तर नराम्रो खोपडी भएका देश पनि हामीले देखिराखेका छौं । त्यसमाथि देश चलाउनेहरुले गर्दा जनता, समाज सधैँ उपियाँ, लामखुट्टेले टोकसरह भएर बस्नुपरेको छ यहाँ । यसका मुख्य कारण हुन्– भ्रष्ट, भाँडभैलो राजनीति, कडा कानुन नहुनु, राष्ट्रधनको तहबह निमिल्नु । त्यस्तै कलह, दोषारोपण, फटाहा भाषण, टाइम पास, आसेपासे संकलन आदि पनि यसका कारण हुन सक्छन् । हुन त अन्य मुलुकमा पनि यस्तै हो, कुनै देशमा कम होला त कुनै मुलुकमा बढी होला ।

अहिले आएर हाम्रो मुलुकमा आर्थिक, सेवा–सुविधा, सहुलियत आदिले औसतमा मानिसहरुको जीवनशैली हेर्दा राम्रो देखिए तापनि वास्तविक जीवनमा कष्टकर र नरमाइलो हिसाबले गुज्रिराखेको छ । यसको मुख्य कारण मानिसहरुको नपुग आम्दानी हो । यसले गर्दा समाजले राम्रो अनुभूति गर्ने मौका नै पाएन । यही कारणहरुले गर्दा अहिले राजधानीको अवस्थालाई हेर्ने हो भने यहाँ पनि यस्तै छ । संसारका रोग र लडाइँ अनि त्यसमाथि यहाँको राजनीतिक असरले गर्दा आकाशिएको महँगीको मारले सर्वसाधारणलाई तर्साएको छ । त्यसैले सरकारले भ्रष्टाचार, महँगी नियन्त्रण गर्नु जरुरी छ । नत्र देश चलाउने सरकारहरु नालायकसरह हुनेछन् ।

अहिले आएर देशको शत्रु नै फोहोर र राजधानीका खाल्डाखुल्डी भएको छ । फोहोरको व्यवस्थापन हुन नसक्दा लामखुट्टेको वृद्धि भई डेङ्गुका बिरामी बढ्दै गएका छन् । सरकारको काम मेयरहरुलाई कामको लागि सहयोग गर्नु र पछाडिबाट धाप दिनु हो तर यहाँ यस्तो देखिएन । खुट्टा तान्ने संस्कार हाबी भएको छ । यसको असर समाज र देशलाई नै हो ।

अहिले राजधानीमा मानिसको भीडभाड, सवारी समस्या, आपराधिक गधिविधि आदि कारणले समाजलाई कपाल दुखाइको विषय बनेको छ । पुलिस प्रशासन राम्रो भए पनि मानिसहरु यस्ता समस्या झेल्न बाध्य भएका छन् । त्यसकारण यस्तो अवस्थामा सरकार, कानुन, समाज सबैले आफ्नो दायित्व निभाउनु जरुरी छ । अनि मात्र यो ठाउँ बिस्तारै उँभो लाग्नेछ ।

बढ्दो जनसंख्याले गर्दा राजधानीमा अझ पनि पार्कहरुको कमी छ । आखिर सम्बन्धित निकायहरुको यसतर्फ किन ध्यान नगएको होला ? काठमाडौंको मुटुमा रहेको रत्नपार्कमा पनि रु. २५ लिइन्छ प्रवेशको लागि । जबकि यो लोकतान्त्रिक मुलुक हो । हामीलाई यति थाहा छ कि फोहोर गर्ने, अनैतिक काम गर्नेहरुलाई उठबस गराउने हो, स्पष्ट फाइन गराउने हो । मानिसहरुको स्वभाव र यहाँको वातावरणले गर्दा पार्कहरुमा प्रवेश गर्दा रु. १० लिने गर्दा पनि हुन्छ । बदलामा शौचालय, फास्टफुड, रेस्टुरेन्ट, चिल्ड्रेन आइटम हुनु र साथै कडाइको जरुरत छ ।

अहिलेको अवस्थामा राजधानीको खुलामञ्च, रानीपोखरीजस्तो ठाउँ बन्द गरेर राख्ने होइन, बल्की यसलाई खोलेर यो ठाउँको सदुपयोग गर्न जान्नुपर्दछ । जस्तै– रानीपोखरीमा सर्वसाधारणलाई प्रवेश गराएर शुल्क लिने हो । यति हो कि सुरक्षा र कडा नीतिलाई अपनाएर यहाँ सर्वसाधारणलाई आगमन गराउने हो भने यो सर्वसाधारणहरुलाई मनोरञ्जनको हिसाबले रमाइलो तथा सम्बन्धित निकायलाई आर्थिक आम्दानीको हिसाबले राम्रो पनि हुन्थ्यो होला । यसै गरी खुलामञ्च पनि बिहान एक समय व्यवस्थित तरिकाले सशुल्क तरकारी बजार गर्ने र शनिबारको दिन सशुल्क स्थलहरु राखी व्यवसाय गर्नेहरुका लागि खुला गरिदिने हो ।

ठण्डा दिमागले सोच्ने हो भने यो सबै पक्षका लागि राम्र्रो हो, आर्थिक हिसाबले पनि र सर्वसाधारणलाई रोजगारको हिसाबले पनि । खाली मानिसहरुको सोचमात्र ठूलो हुनुप¥यो । २÷३ महिना हेरी चित्त नबुझेको खण्डमा यसलाई बन्द पनि गर्न सकिन्छ । वास्तवमा भन्ने हो भने भृकुटीमण्डप पनि रमणीय स्थल हो । यो स्थानमा पहिलाको जस्तै सर्वसाधारणका लागि मेलामात्र गर्न खोलिदिनुपर्दछ, तर यहाँ अहिले कमाउ धन्दाको हिसाबले व्यापारिक केन्द्र भएको छ । आखिर यो मुलुकमा सरकारहरु नगद नारायणबाहेक केही देख्दैनन्, किन होला ?

अब भने यस्तो सानो सोच र मन सरकारहरुले राख्नुभएन । आफू मात्र होइन, समाजलाई पनि रमाइलो गराउने हो । एकहिसाबले भन्ने हो भने, अहिले राजधानीमा रमणीय स्थलहरु पनि धेरै छन् । स्वयम्भु, पशुपति, रानीबारी आदी ठाउँका कुरा गर्ने हो भने, यी ठाउँहरु ज्यादै ठूलो क्षेत्रफल भएका स्थान हुन् । तर यी ठाउँहरुलाई अझै मनोरम स्थान बनाउन सक्रिय भएको खोइ ? त्यसकारण समय अनुसार यी ठाउँहरुको पनि सदुपयोग गरेर सम्बन्धित निकायले सर्वसाधारणका लागि उपयुक्त बनाउनु जरुरी छ ।

एकपल्ट फेरि भन्नुपर्दा समयको माग र बढ्दो जनसंख्याका कारणले गर्दा नयाँ–नयाँ सार्वजनिक शौचालयहरु बनाउनु जरुरी छ । तर यहाँ त भएका पुराना सार्वजनिक शौचालयहरुको पनि बेहाल भएको छ । यो देशको विडम्बना, बरु बजेट ल्याप्स हुन्छ तर सर्वसाधारणका लागि यस्ता कुरामा ध्यान जाँदैन । यस्ता सानो सोच भएका निकाय, सरकार र सम्बन्धित व्यक्तिहरुलाई के भन्ने ?

अहिले राजधानीमा मानिसहरु बढेअनुसार आकाशे पुलहरु पनि निकै निर्माण भएका छन् । यसको लागि भने सम्बन्धित निकाय र सरकारहरुलाई हामीले धन्यवाद दिनुपर्दछ । तर पनि कोटेश्वरको चोक एउटा यस्तो ठाउँ हो, जहाँ सवारी जाममा पर्नेबित्तिकै आधा–एक घण्टा यात्रुहरुले त्यत्तिकै समय बरबाद गरेर बस्नुपर्ने बाध्यता छ । त्यसकारण यो ठाउँमा सरकार र काठमाडांै महानगरपालिकाको समन्वयमा सवारीसाधनहरु आवतजावत हुने एउटा ओभर ब्रिज बनाउन जरुरी छ । यिनीहरुले प्रयास गर्ने हो र हामीले आशा गर्ने हो ।

अहिले राजधानीका समस्या बग्रेल्ती छन् । जस्तै– कालो धुवाँ छोड्ने सवारीसाधन, जथाभावी बाटो काट्ने कार्य, फुटपाथमा पसल, जेब्रा क्रसमा मेटिनुु, सडकमा मगन्ते हुनु आदि समस्याको समाधान हुनु जरुरी छ । एकपक्षलाई मात्र दोष नदिई सबै पक्ष यसको लागि उत्तरदायी हुनुपर्दछ । राम्रो विदेशको मुलुकमा कतै सरकारी जग्गा, पार्क या अन्य कुरा बनेको हुन्छ । यहाँ पनि यस्तै हुनु जरुरी छ । यसबाहेक राजधानीमा केही यस्ता पुराना घरहरु छन्, जस्तै– तीनधारा संस्कृत छात्रावास, भद्रकाली, दमकल भवन आदिलाई व्यवस्थित गरेर नयाँ बनाउनु जरुरी छ ।

यहाँनिर प्रदेश सरकारहरुको कुरा गर्ने हो भने, यिनीहरुलाई गाडी सुविधा, तलब, भत्ताबाहेक केही सुझ्दैन । वास्तवमा भन्ने हो भने, अधुरा राजमार्ग, राहदानी वितरण, सर्पदंश गरिबी निवारण, स्थानको सदुपयोगका कुराहरुमा यिनीहरुले विचार पु¥याएका छैनन् । सबैतिर विचार पु¥याउने हो भने कृषि तथा सबै क्षेत्रमा विकास सम्भव थियो ।

अन्त्यमा के भन्न सकिन्छ भने, भगवान्ले मानिसलाई एउटा जीवन दिएका हुन्छन् । यस्तो अनमोल जीवनमा मानिसले सधैँ लालच, स्वार्थी, सानो सोच र इष्र्यालु मन लिएर बस्नुहुँदैन । बरु राम्रो मानिस भएर एक–अर्कालाई सहयोग गरी अघि बढ्नुपर्छ । जीवन हुँदै राम्रा काम गर्नुपर्छ, मरेपछि मनिसले चाहेर पनि राम्रो काम गर्न सक्दैन ।