सडक गाईबाछाको उद्धारमा एम्बुलेन्स सेवा

0
Shares

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले सडकमा अलपत्र परेका असहाय गाईबाछाहरुको उद्धार गर्न असहाय गाईबाछा संरक्षण अभियानलाई उपहार स्वरुप एम्बुलेन्स प्रदान गरेको छ ।

एक बिशेष समारोहबीच आज कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले उक्त एम्बुलेन्सको उद्घाटन गर्दै त्यसको साँचो असहाय गाईबाछा संरक्षण अभियानलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा संस्थाका संयोजक उत्तम पुडासैनीले अहिले अभियानको आश्रय स्थलमा २०० भन्दा ज्यादा गाईबाछा रहेको जानकारी दिएका थिए ।

उपत्यकालाई असहाय गाईबाछा मुक्त क्षेत्रका रुपमा विकास गर्दै कृषकलाई जिम्मेवार बनाउन समेय यो अभियान सक्रिय रहेको उनले जनाए ।

असहाय गाईबाछा संरक्षण संगै त्यसको मलमुत्र र स्थानीय स्तरबाट उत्सर्जन भएका फोहोरबाट कम्पोष्ट मल बनाउने तथा बिश्वब्यापी उष्णतालाई कमगर्न एकदिन एक बिरुवा अभियानलाई समेत प्रवद्र्धन गर्दै आएको उनले बताए ।