‘स्वास्थ्य क्षेत्रमा संघीयताको अभ्यास’ : मन्त्री खापुङ (तस्बिरसहित)

0
Shares

काभ्रे । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जिल्लाको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा सम्वन्धी एक दिवसीय अन्र्तक्रिया सम्पन्न गरेको छ ।

‘समग्र जिल्लाको स्वास्थ्य अवस्था र आगामी दिनमा लिईने नीतिका सन्र्दभमा जिल्लाको एक मत बनाउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो’–जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले भन्नुभयो–‘१३ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख तथा जिल्ला स्थित नीजि, सामुदायिक अस्पतालका प्रतिनिधिहरु र स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सुझाव पछि नीति बनाउँछौ ।’

गोष्ठीमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले संघीयताको अभ्यास भईरहेको बताउनु भयो । ‘स्थानीय तहमा भएको स्वास्थ्य संस्थाहरुको संचालन, ब्यवस्थापन तथा त्यहाँबाट प्रदान हुने सेवालाई अझै प्रभावकारी बनाईनु पर्छ’–मन्त्री खापुङले भन्नुभयो–‘आधारभुत स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन स्थानीय तहले स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्नु पर्छ ।’

तीन तहकै सरकारको प्राथमिकतामा नपरेको स्वास्थ्य क्षेत्र कोभिड १९ को महामारी पछि प्राथमिकतामा पर्न थालेको छ । खोप लगाउने, महामारी नियन्त्रण गर्ने र अन्य क्षेत्रमा नेपालले नमुना कार्य गरेको बताउँदै मन्त्री खापुङले काभ्रे जिल्लाले शुरु गरेको स्वास्थ्य सम्वन्धी बहस आगामी दिनमा नीतिका रुपमा परिणत गर्न सुझाव दिनु भयो । गोष्ठीमा काभ्रेपलाञ्चोक जिल्लाको समग्र स्वास्थ्यको अवस्थाका बारेमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै नसर्ने रोगहरुको अवस्था र स्थानीय सरकारको भूमिका विषयक थप दुईवटा कार्यपत्र प्रस्तुत गरिएका थिए । प्रस्तुत गरिएका कार्यपत्रका बारेमा स्थानीय सरकारका प्रतिनिधि तथा स्वास्थ्य शाखाका प्रमुखहरुले धारणा राखेका थिए । केपी ओली नेतृत्वको सरकारले ७ सय ५३ वटै पालिकामा शिल्यान्यास गरेका अस्पतालहरु मध्ये काभ्रेको मण्डनमा सचालनमा आएको छ भने धुलिखेलमा सम्पन्न हुने चरणमा छन । अन्य पालिकामा पनि निर्माणको चरणमा छ ।

काभ्रेपलाञ्चोक जिल्ला पूर्ण खोप जिल्ला घोषणा भएको छ । खुल्ला दिशामुक्त जिल्ला घोषणा भईसकेको छ । कोभिडमा सबै भन्दा धेरै खोप लगाउने जिल्लाका रुपमा काभ्रेलाई चिनिन्छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पौड्याल, धुलिखेल अस्पतालका संस्थापक एवं काठमाडौ विश्वविद्यालयका पुर्व उपकुलपति डा.रामकण्ठ माकजु, बेथान्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा.ग्याल्पो दोर्जे, जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाई लगायतले जिल्लाको समग्र स्वास्थ्य अवस्था सुदृढ गर्न सक्दा मात्रै जिल्ला समृद्ध बनाउने सकिने बताएका थिए ।

कार्यक्रममा समन्वय प्रमुख गौतमले तीनै तहका सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भएको थियो । स्वास्थ्य सँगै समग्र शिक्षाका बारेमा जिल्ला स्तरीय अभिमुखिकरण गर्ने समन्वय प्रमुख गौतमले बताउनु भयो ।