कांग्रेस लमजुङद्वारा प्रदेशसभा निर्वाचनमा ११ जना सिफारिस

0
Shares

लमजुङ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले प्रदेश सभा ‘क’ र ‘ख’ का लागि उम्मेदवार सिफारिस गरेको छ ।

नेपाली कांग्रेसले प्रत्यक्षतर्फ प्रदेश ‘क’ का लागि ४ जना र प्रदेश ‘ख’ का लागि ७ जनाको नाम सिफारिस गरेको छ । प्रदेशसभा ‘क’ का लागि पूर्वसभापति शंकरकान्त जोशीसहित नेताहरु डिकेन्द्रराज कंडेल, रामकृष्ण कंडेल र सुवाश पौडेललाई सिफारीस गरेका छन् ।

त्यसैगरी प्रदेशसभा ‘ख’ का लागि पुर्वजिल्ला सभापति भेषबहादुर पौडेल, वर्तमान उपसभापति आनन्दराज घिमिरे, जिल्ला सभापतिका प्रत्यासी एवं जिल्ला सदस्य गमप्रसाद गुरुङ, महाधिवेशन प्रतिनिधि एवं तरुण दल लमजुङका अध्यक्ष ललित गुरुङ, नेविसंघका पूर्वकेन्द्रीय कोषाध्यक्ष शिवराज रिमाल, नेताहरु डा. लक्ष्मीकान्त पौडेल र नवराज न्यौपाने उम्मेदवार सिफारिस भएका छन् ।

प्रदेश सभा ‘क’ मा पूर्वसभापति शंकरकान्त जोशी र प्रदेश सभा ‘ख’ मा पूर्वसभापति भेषबहादुर पौडेलले टिकट पाउने प्रवल सम्भावना भएको कांग्रेस स्रोतले जनाएको छ । यी दुवै नेता कांग्रेसभित्र जनाधार भएका नेताका रूपमा चिनिन्छन् । संसदीय क्षेत्रमा यी दुवै नेताले पहिलोपटक डेब्यू गर्न लागेका हुन् ।

जोशी जिल्ला विकास समिति लमजुङका पूर्वसभापति हुन् भने पौडेल २०७४ को स्थानीय चुनावमा बेसीसहर नगरपालिकाको मेयरमा पराजित भएका हुन् ।

नेपाली कांग्रेस लमजुङले प्रतिनिधि सभातर्फ भने उम्मेदवार सिफारिस गरेको छैन् । तर, पनि प्रतिनिधि सभा सदस्यका लागि पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्ती, पार्टी सभापति डा. टकराज गुरुङ, पूर्वसभापति तुलसीनारायण श्रेष्ठलगायत आकांक्षी रहेका छन् ।

०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा कांग्रसले प्रतिनिधि र प्रदेश सभातर्फ तीनै सिट गुमाएको थियो ।